Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्।

आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी हुन्।

छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न नसकेको उनको भनाइ छ। तर, केही आधारशिला तयार गरिएको उनले बताइन्।

जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरिएको उनको दाबी छ।

यस्तो छ सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार।
आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो। ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपांगता व्यहोर्नुपर्‍यो। ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्‍यो।

सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दछु। र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईँहरु एक्लो हुनुहुन्न।

तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु।

भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो। तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ।

अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु।हामी सबैलाई स्मरण होला- २०८२ भदौ २३ र २४ को युवाहरुको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति। ७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो।

सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्‍यौँ।

आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकता बमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो। र, फागुन २१ गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रुपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो।

यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरु, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो। म उहाँहरुको उच्च प्रशंसा गर्दछु।

नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।

चौकी जलाइएका, हतियार लुटिएका, लुगा, जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर संगठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।

राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ। यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ। आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरुको योगदान ससम्मान सम्झिन चाहन्छु।

निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ।

सबै राजनीतिक दल तथा उम्मेदवारहरुले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु। यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु।

यस्तै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादको पात्र हुनुहुन्छ। मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु।

मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।

सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ।

विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ।

निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ। आगामी चुनावहरुमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पुर्‍याउन सकिनेछ।

यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ- निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ। र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौँ।

यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको छ। यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु। यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु।

छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ।

जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्‍यौँ। परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरुमा मुद्दा अघि बढाएका छन्। ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ।

जेनजी आन्दोलनको जगमा बनेको यस सरकारले आन्दोलनकारीहरुसँग २०८२ मंसिर २४ गते ऐतिहासिक सम्झौता गरेको छ। उक्त सम्झौताबमोजिमका केही काम अधुरा रहेका कारण आगामी सरकारले प्राथमिकतासाथ अघि बढाउने विश्वास लिएकी छु।

आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाट लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ। र आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावहरुको सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ।

जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छूट, सहुलियत तथा सुविधाहरू प्रदान गरी आर्थिक गतिविधि सहजरूपमा सञ्चालन गर्न र उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ।

जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।

म आज यहाँ सरकारका कामको फेहरिस्त वा उपलब्धि सुनाउन उपस्थित भएकी होइन। हामीले के गर्न सक्यौँ र के सकेनौँ भन्ने मूल्यांकन गर्ने जिम्मा यहाँहरुलाई नै छाड्न चाहन्छु। यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ। कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौँ।यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले गर्‍यौँ भन्ने पनि दाबी छैन। तर यहाँहरुसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ। पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ।

यस अवधिमा केही राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईंहरूकै कारण सम्भव भएको हो। यस निम्ति तपाईंहरू सबैप्रति नतमस्तक छु। यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनुहोला। अन्त्यमा, मुलुकका सबै संस्था र सबै पक्षले आआफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प छैन। यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु।

अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु- जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ। धन्यवाद। नमस्कार।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending