काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई फेरि सतहमा ल्याएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार यस निर्वाचनमा २८ वर्षसम्मका १५७ जना जेनजी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । संख्या हेर्दा नयाँ पुस्ताको उल्लेख्य उपस्थिति देखिए पनि, उनीहरूको सहभागिताले राजनीति कति रूपान्तरण गर्छ भन्ने प्रश्न अझै खुला नै छ ।
प्रत्यक्षतर्फका १६५ सिटका लागि कूल ३ हजार ४८७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये जेनजी उमेर समूहको हिस्सा करिब ४.५ प्रतिशत मात्र हो । जेनजी उम्मेदवारमध्ये ९४ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न राजनीतिक दलबाट उठेका हुन् ।
यसपटकको निर्वाचनमा जेनजी अनुहारमध्ये सबैभन्दा चर्चित नाम निवर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता हुन् । सिरहा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदान रोजेका छन् । उनले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सुशासन, पारदर्शिता र जवाफदेहिताको राजनीति स्थापनाका लागि उम्मेदवार बनेको दाबी गरेका छन् । अन्तरिम सरकारमै जेनजी प्रतिनिधित्व गर्दै मन्त्री बनेका गुप्ता नयाँ पुस्ताको ‘संस्थागत अनुहार’का रूपमा हेरिएका छन् ।
जेनजी उठाउनेमा रास्वपा अगाडि
दलगत रूपमा हेर्दा रास्वपाले सबैभन्दा धेरै—९ जना—जेनजी उम्मेदवार उठाएको छ । त्यसपछि उज्यालो नेपाल पार्टी (उनेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सात–सात जना जेनजी उम्मेदवार अघि सारेका छन् । अन्य साना दलहरूले पनि सीमित संख्यामा नयाँ पुस्तालाई मैदानमा उतारेका छन् ।
तर संख्यात्मक उपस्थितिभन्दा ठूलो प्रश्न जेनजी उम्मेदवार कुन राजनीतिक संस्कार बोकेर आएका छन् भन्ने हो । धेरै उम्मेदवार पुरानै दल, पुरानै संरचना र नेतृत्वको छायाँभित्र रहेर अघि बढिरहेका छन् । यसले पुस्तागत परिवर्तनको अपेक्षा र व्यवहारबीचको दूरी देखाउँछ ।
जेनजीमै पनि महिला किन पछि?
सबैभन्दा गम्भीर पक्ष भने जेनजी उम्मेदवारमै महिलाको न्यून उपस्थिति हो । १५७ जना जेनजी उम्मेदवारमध्ये महिला केवल १५ जना छन् । यो अनुपात ९.५५ प्रतिशत मात्र हो । समग्र उम्मेदवारमा महिला ११.३२ प्रतिशत हुँदा जेनजीमा यो प्रतिशत झनै घट्नुले नयाँ पुस्ता पनि पुरानै लैंगिक संरचनाबाट मुक्त हुन नसकेको संकेत गर्छ ।
अध्यापक डा. मीना पौडेल यसलाई उमेरको भन्दा पनि चेतना र संरचनाको समस्या मान्छिन् ।
उनका अनुसार, “जेनजी नयाँ पुस्ता हो, तर उनीहरूको हुर्काइ, सामाजिकीकरण र राजनीतिक चेतना उही संरचनाभित्र बनेको छ । जबसम्म महिलाको स्वतन्त्र विचार र सार्वभौम अस्तित्व स्वीकारिँदैन, तबसम्म प्रतिनिधित्व कागजी मात्र हुन्छ ।”
संख्या होइन, सोच बदल्ने चुनौती
यस निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा पनि हो र चेतावनी पनि । आशा नयाँ पुस्ता मैदानमा आएको छ । नयाँ अनुहार आउँदा मात्र राजनीति नयाँ हुँदैन । सोच, संरचना र शक्ति सम्बन्ध नबदलिँदासम्म जेनजी पनि पुरानै राजनीतिका उत्तराधिकारी बन्ने जोखिममा छन् ।
यसपटकको निर्वाचनले जेनजीलाई केवल उम्मेदवारको सूचीमा सीमित राख्छ कि साँच्चै राजनीतिक संस्कार परिवर्तनको वाहक बनाउँछ । यसको उत्तर मतदाताले दिनेछन् ।
प्रतिकृया लेख्नुहोस्: