काठमाडौं । दशैं नजिकिँदै थियो। महिमाको घरमा बिहानै आमा बोरा–बोरा तोरी सिध्याएर ढोलामा राख्दै भन्नुहुन्थ्यो—“आज मिल लैजानुपर्छ।”
घर वरिपरि तोरिका ससाना दानासँगै आइरहेको तीव्र सुवासले बाल्यस्मृतिको ढोका फेरि खोलेर महिमालाई पुरानो गाउँतिर पुर्याउँथ्यो। मिलमा तोरि पेलिँदा बग्ने पहेँलो–सुनौलो धारा, घर फर्कँदा काखमा ल्याइने ताजा ‘छोक्रा’, अनि भातमा राखेर खाइने काँचो तोरीको झनक—यी सबै बालेयकालका लागि स्वास्थ्यको पहिलो कक्षा थिए। तर हाम्राे पुस्ताले सिकेको ज्ञान आजका बजारमा हराउँदै गएको छ।
किनकि केही वर्षयता एउटा हल्ला धेरै फैलियो— “तोरिको तेल खानै हुँदैन।” यसै एक वाक्यले परम्परागत आहार संस्कृतिलाई उल्टो मोडमा धकेल्यो, र नेपाली भान्साबाट तोरिको तेल विस्तारै गायब हुँदै गयो।
हल्ला कसरी फैलियो ?
२०५०/६० को दशकमा नेपालमा विदेशी ब्रान्डका तेलहरूको प्रवाह तीव्र भयो। साथै (कोलेस्ट्रोल रहित, मुटुमैत्री, परिष्कृत) cholesterol free, heart friendly, refined जस्ता शब्दले बजारमा नयाँ डर–नयाँ आकर्षण बनायो।
सूर्यमुखी तेल, सोयाबिन तेल, रिफाइन्ड तेल—यी सबैलाई स्वच्छ र आधुनिकको पहिरन लगाइयो। यिनै प्रचारबीच तोरि “मुटु बिगार्ने तेल” को रुपमा प्रस्तुत गरियो।
आश्चर्य के छ भने— तोरिको तेलमा कोलेस्ट्रोल शून्य हुन्छ। तर बजारमा फैलिएको डरले आमाहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको तेल छोड्न थाले।
यो केवल बजारको खेल थियो, कि हामीले आफैँ गुमायौँ आफ्नै स्वस्थकत्ता ?
हाम्रो घरको चिकित्सा–पुस्तक : तोरिको तेल
महिमाजस्तै धेरै नेपाली परिवारमा तोरिको तेल केवल भान्साको सामग्री थिएन—
यो घरायसी औषधि पनि थियो। कान दुख्यो भने तोरीकाे तेल तताएर लगाउने, चिसो लाग्यो भने छोराछोरीको ढाड र छाती मालिस गर्ने, कपाल झर्दा रुखो अनुहारमा हल्का लगाउने—यी सबै पुरानो पुस्ताको अनुभव थियो।
यी सबै कुरा १००% वैज्ञानिक हुनुपर्ने होइन— अनुभवका धेरै कुरा उपयोगी हुन्छन्। तर गलत हल्लाले तिनलाई संकुचित र बदनाम बनायो।
वैज्ञानिक दृष्टिमा तोरिको तेल के हो ?
स्वास्थ्य अनुसन्धानकर्ता भन्छन्—“तोरिको तेल हृदयका लागि हानिकारक भनेर प्रमाणित कुनै अध्ययन छैन। उल्टो, यसको फ्याटी एसिड(fatty acid )संरचना निकै राम्रो छ।”
तोरिको तेलमा—ओमेगा-३ (Omega–3), मोनोअनस्याचुरेटेड फ्याट (Monounsaturated fat), प्राकृतिक एन्टिअक्सिडेन्ट (Natural antioxidants) र एन्टिमाइक्रोबियल यौगिकहरू (Antimicrobial compounds) हुन्छन्,
जसले हृदय स्वास्थ्य, सूजन नियन्त्रण र प्रतिरोधक्षमतामा सकारात्मक असर देखाउँछन्। तोरिको तेलको smoking point 250°C हुन्छ, जो सूर्यफूल वा सोयाबिनभन्दा उच्च हो ।अर्थात् तरकारी पकाउँदा कम बिग्रन्छ, हानिकारक धुवाँ कम बनाउँछ। तर यो सबै वैज्ञानिक तथ्य बजारको चमकले ढाकिदियो।
हामीले परम्परा किन छोड्यौँ ?
किनकि बजारले प्रलोभन दियो—परिष्कृत = आधुनिक = सुरक्षित (refined = modern = safe )भन्ने सूत्र बनाएर।
रिफाइनिङको प्रक्रियामा— तेलबाट गन्ध, स्वाद र रंग हटाइन्छ। तर धेरै जसोमा—रासायनिक सॉल्भेन्ट, हेक्सेन, अत्यधिक ताप प्रयोग हुन्छ। यसले तेललाई देख्दा आकर्षक बनाउँछ तर पोषक तत्व घटाउँछ।
यता तोरिको कोल्ड–प्रेस्ड तेल— बिना रसायन, बिना उच्च ताप, प्रकृतिले दिएको स्वाद र पोषणसहित जसरी छ, त्यसरी रहन्छ। तर ‘प्याकेट–सुन्दरता’ ले परम्परालाई हरायो।
शहरको नयाँ ट्रेन्ड : तोरिलाई पुनः खोज्दै युवा पुस्ता
अहिले काठमाडौं, पोखरा तथा बुटवलमा ‘cold pressed oil mills’ फेरि बढिरहेका छन्।
युवाहरू बजारको हल्लाभन्दा “बुवा–आमाले प्रयोग गरेको तेल” तर्फ फर्किन थालेका छन्।
Health-conscious युवाले तोरि प्रयोग गर्न थालेका ३ कारण—कम ठूलो तेल, अधिक पोषण, क्यान्सर लगाउने तत्व छैन, आमा–बुबाको परम्परा र स्वाद पुनः पाउन चाहिने चाहना र पुरानो पुस्ताले जोगाएको ज्ञान नयाँ पुस्ताले स्वीकार्दै छ।
तरिकैमा छ स्वस्थता
यद्यपि अर्को सत्य के हाे भने तोरिको तेल धेरैले गलत तरिकाले प्रयोग गर्छन्। तेल पोल्न नदिई, धुवाँ नउम्थिने तापमा, शुद्ध, कोल्ड–प्रेस्ड तोरि मात्र,यही स्वास्थ्यकर प्रयोग हो। यदि बजारबाट सस्तो, मिसावट भएको, रिफाइन्ड तोरिकाे तेल किन्यौं भने फाइदा होइन, हानि हुन सक्छ।
हामीले गुमाएको र फेला पार्दै गरेको स्वाद
तोरिको तेल कहिल्यै हानिकारक थिएन र छैन । हाम्रो डर गलत अध्ययन, गलत प्रचार र विदेशी तेलको बजार–रणनीति थियो।
दशैँमा आमाको बोरा बोकेर मिलसम्म लाग्ने त्यो यात्रा आज फेरि फर्किँदै छ । यस पटक परम्पराको बोसो वैज्ञानिक तथ्यको साथ पुस्ता–पुस्ता जोगाएर राख्न। हामीले हराएको स्वाद र स्वास्थ्य फेरि फेला पार्नै सकिन्छ । यदि तेलको भाँडामा होइन, सोचमा परिवर्तन गर्न सक्यौँ भने।
प्रतिकृया लेख्नुहोस्: