Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदाका ती क्षण !

सुवास दर्नाल

सोलुखुम्बु । “पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।” ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाउए। सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए ।

गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदुधकुण्ड नगरपालिका–१ कै कामोडाँडा क्षेत्र पार गर्दै दुधकुण्डतर्फ लाग्दै थियो। बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नलसमेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो ।

स्थानीय होटल व्यवसायी मिलन कार्की भन्छन्, “साङ्केतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ।”

भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उनका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भयो । दुधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दुधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन्।

दुधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रबिन्दु बनेको छ । त्यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दुधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् । त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन्।

“पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्”, स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने।

कमजोर नेटवर्क

दुधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । त्यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ ।

स्थानीय मिङ्मार शेर्पा भन्छन् “कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन। नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।”

भौगोलिक कारणले सञ्चार सम्पर्क कम्जोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् ।

“दुधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दैछ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन ।” सुनसरीको धरानबाट दुधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने।

नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, “दुधकुण्ड धार्मिकमात्र होइन, अन्तरराष्ट्रियस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।”

धनकुटाका अमृत पौडेलले भन्छन्, “हामी दुधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जङ्गलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?”

दुधकुण्डः दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र

समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा अवस्थित दुधकुण्ड सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर) को फेदमा रहेको छ । जसलाई स्थानीयले ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई ‘दुधकुण्ड’ नाम दिइएको हो ।

प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दुधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो ।

नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो । यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दुधकुण्ड क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ ।

स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, “नुम्बुर हिमाल, दुधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।”

सोलुदुधकुण्ड नगरपालिकाले केही वर्षअघि दुधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुनसकेको छैन ।

नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छिन्, “नगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जानसकेको छैन ।”

उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दुधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनााई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन ।

दुधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्याउन सक्छ । तर असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक–पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ ।

तीन तहको सरकार, एउटै दृष्टिकोण आवश्यक

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, “दुधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति । यी तीनै तत्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ ।”

यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दुधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो ।

यदि समयमै सङ्केत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ । यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताए ।

दुधकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending