पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गहिरिँदै गएको छ। कतै वर्षौँदेखि बगिरहेको मूल सुकेको छ, कतै पानीको बहाव आधा घटेको छ भने कतिपय ठाउँमा खानेपानीकै अभावमा सिंगो गाउँ विस्थापित हुन थालेका छन्।
मुस्ताङको उपल्लो भेगमा रहेका ध्ये र सामजुङ गाउँ यसको गम्भीर उदाहरण बनेका छन्। पानीको मुहान सुकेपछि यी गाउँका बासिन्दाले आफ्नो पुर्ख्यौली थलो छाड्नुपर्यो। कुनै समय मानिसको चहलपहलले भरिने गाउँ अहिले पुराना घर र खण्डहरको दृश्यमा सीमित भएका छन्।
मुस्ताङको ध्ये गाउँमा २६ कुरिया घर थिए। तर गाउँमा रहेको खानेपानीको मूल सुक्दै गएपछि स्थानीयवासीले करिब १९ वर्षअघि गाउँ छाडे। उनीहरू ध्ये थाङचुङ क्षेत्रमा सरेका छन्। अहिले पुरानो गाउँमा चौँरी तथा पशुपालनका लागि एक–दुई परिवार मात्रै मौसमी रूपमा बस्ने गरेका छन्।
लो घेकर दामोदर कुण्ड गाउँपालिकाका वडाध्यक्ष पासाङ गुरुङका अनुसार पानीको मूल सुकेपछि गाउँमा बस्नै नसक्ने अवस्था आएको थियो।
“भइरहेको मूल खडेरीले सुक्यो। त्यहाँ अन्तबाट पानी ल्याउन सक्ने अवस्था बनेन,” उनी भन्छन्, “पानीकै अभावले २०६४ सालदेखि पुरानो गाउँबाट बेंसीमा झर्यौँ।”
मानिसले गाउँ छाडेपछि ध्येका पुराना घरहरू अहिले सुनसान छन्। पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारको थातथलो पानीकै कारण उजाडिएको छ।
उपल्लो मुस्ताङकै लोमन्थाङ गाउँपालिका–२ मा पर्ने सामजुङको कथा पनि उस्तै छ। करिब २० घरधुरी रहेको गाउँका बासिन्दाले सात वर्षअघि पानीकै अभावमा गाउँ छाडेर नामासुङमा बसाइँ सरे।
गाउँपालिका उपाध्यक्ष छुमी विष्टका अनुसार अहिले पनि एउटा सानो मूल बाँकी छ, तर त्यो गाउँका सबै परिवारका लागि पर्याप्त छैन।
“पानी नै नभएपछि बस्ने कुरा भएन। अहिले पनि सानो मूल त बाँकी छ, तर गाउँलेलाई पुगेन,” उनी भन्छिन्।
पानीको अभावले गाउँ मात्रै रित्तिएका छैनन्। पर्वत, बागलुङ, म्याग्दी र गोरखाका मध्यपहाडी क्षेत्रमा रहेका परम्परागत मुहानको बहावसमेत घटिरहेको छ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र विकास कार्यक्रमको सहकार्यमा गरिएको अध्ययनअनुसार गण्डकीका करिब ८४ दशमलव ५ प्रतिशत घरपरिवारले आफ्ना परम्परागत खानेपानीका मुहान सुक्दै गएको महसुस गरेका छन्। मध्यपहाडी क्षेत्रका करिब ७० प्रतिशत मूलको बहावमा उल्लेख्य गिरावट आएको अध्ययनले देखाएको छ।
बागलुङको गलकोटमा रहेका २२० मुहानमध्ये २० वटा सुकेका छन्। म्याग्दीको मालिकामा पनि मुहानको संख्या १८० बाट घटेर १५० मा झरेको अध्ययनमा उल्लेख छ।
सुक्खायाममा पहाडी जिल्लामा खानेपानी आपूर्ति ५० देखि ७० प्रतिशतसम्म घट्न थालेको अध्ययनले देखाएको छ।
यसको पछाडि जलवायु परिवर्तन प्रमुख कारणका रूपमा देखिएको छ। पछिल्ला वर्षमा पानी पर्ने दिनको संख्या घट्दै गएको छ। तर पानी पर्दा भने एकैपटक ठूलो वर्षा हुने क्रम बढेको छ।
सानो–सानो झरीले जमिनमा पानी सोसिने र भूमिगत जलभण्डार पुनर्भरण हुने प्रक्रिया हुन्छ। तर एकैपटक मुसलधारे वर्षा हुँदा पानी जमिनमा सोसिन नपाउँदै बाढी र पहिरोका रूपमा बगेर जाने गरेको अध्ययनकर्ताहरू बताउँछन्।
गण्डकीमा लगातार पानी नपर्ने सुक्खा दिनको संख्या औसतमा १० दिनले बढेको अध्ययनमा उल्लेख छ। लामो समयसम्म पानी नपर्दा जमिनको ओसिलोपन घट्ने र त्यसको प्रत्यक्ष असर पानीका मुहानमा पर्ने गरेको छ।
तापक्रम वृद्धिले पनि संकट थपेको छ। अधिकतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियससम्म बढ्दा माटो र वनस्पतिबाट पानी बाफका रूपमा उड्ने प्रक्रिया बढेको अध्ययनकर्ताहरू बताउँछन्। यसले भूमिगत पानीको मात्रा घटाउँदै मुहान सुक्ने अवस्था निम्त्याएको छ।
तर पानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्रै जिम्मेवार छैन। विकास निर्माणका नाममा गरिएको अव्यवस्थित मानवीय गतिविधिले पनि समस्या थप गम्भीर बनाएको अध्ययनले देखाएको छ।
विशेषगरी पहाडी क्षेत्रमा बिनाइन्जिनियरिङ डोजर चलाएर बनाइएका सडकले जमिनभित्र रहेका पानीका मुहान काटिदिएका छन्। सडक निर्माणका क्रममा पानीको प्राकृतिक बहाव अवरुद्ध हुँदा वर्षौँदेखि बगिरहेका मूल सुक्ने अवस्था आएको छ।
वन विनाश, डढेलो र भूक्षयले पनि जमिनको पानी सोस्ने क्षमता कमजोर बनाउँदै लगेका छन्। पानी जमिनभित्र पस्ने प्राकृतिक प्रक्रिया कमजोर हुँदा वर्षाको पानी भूमिगत जलभण्डारसम्म पुग्न पाउँदैन।
यसको असर अहिले गाउँको दैनिकीमा देखिन थालेको छ। पानी खोज्दै टाढा जानुपर्ने बाध्यता बढेको छ। कतिपय ठाउँमा खेतीपाती प्रभावित भएको छ भने पशुपालनसमेत संकटमा परेको छ। वन्यजन्तुलाई समेत पानीको अभाव हुन थालेपछि उनीहरू बस्ती पस्ने जोखिम बढेको छ।
पानीकै कारण गाउँ छाड्नुपर्ने अवस्था भने अझ गम्भीर संकेत हो। गाउँमा सडक पुगे पनि, विद्युत् पुगे पनि, विद्यालय वा अन्य पूर्वाधार बने पनि खानेपानीको स्थायी स्रोत नरहे गाउँमा मानिस बस्न नसक्ने ध्ये र सामजुङको अवस्थाले देखाएको छ।
अबको चुनौती केवल पानी उपलब्ध गराउनु होइन, पानीको स्रोत जोगाउनु हो।
अध्ययनले परम्परागत मुहान संरक्षणका लागि ‘स्प्रिङ–शेड’ नक्साङ्कन गर्न, कृत्रिम पुनर्भरण पोखरी निर्माण गर्न र पानीका स्रोतलाई केन्द्रमा राखेर विकास योजना बनाउन सुझाव दिएको छ।
ग्रामीण सडक निर्माण गर्दा मुहान तथा पानीका प्राकृतिक मार्गमा असर नपर्ने गरी वातावरणमैत्री प्रविधि प्रयोग गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।
प्रदेश सरकारले अध्ययन प्रतिवेदनलाई आफ्नो नीति, कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता जनाएको छ। स्थानीय तहले पनि विकास निर्माणका योजना बनाउँदा पानीका स्रोत संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ।
किनकि पहाडका गाउँमा पानी केवल तिर्खा मेटाउने स्रोत होइन। त्यही पानीसँग गाउँको अस्तित्व, खेती, पशुपालन, संस्कृति र पुस्तौँदेखिको बसोबास जोडिएको छ।
मुहान सुक्दै जाँदा अहिले पानीको संकट देखिएको हो। समयमै स्रोत संरक्षण गर्न नसके भोलि पानी खोज्दै गाउँ छाड्नेको संख्या ध्ये र सामजुङमा मात्र सीमित नहुन सक्छ।
प्रतिकृया लेख्नुहोस्: