काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भदौको जेन–जी विद्रोह लगत्तैदेखि उनी प्रदेश सभा र कांग्रेस संसदीय दलको सम्पर्कमा समेत थिएनन् । मंगलबार मात्र उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएर आफू अमेरिकामा रहेको जानकारी गराएका छन् ।
प्रदेश सांसद हुनुअघि प्रकाश काकी आरजु देउवाका सहयोगी थिए । तर, पछिल्लो समय उनीहरूको सम्बन्धमा केही चिसोपन बढेको जानकारहरू बताउँछन् । निकट कांग्रेस नेताहरूका अनुसार दुई कारणले देउवादम्पतीसँग उनको सम्बन्ध बिग्रिएको थियो । पहिलो, देउवादम्पतीले आफूलाई मुख्यमन्त्री बनाउन पूर्ण सहयोग नगरेको । दोस्रो, सम्पत्तिको विषय ।
‘आरजुले केही सम्पत्ति प्रकाशकी श्रीमतीको नाममा राखेकी थिइन् । प्रकाशले उक्त सम्पत्ति फिर्ता गर्न नमानेपछि देउवादम्पतीसँग पछिल्लो समय उनको सम्बन्ध चिसिएको थियो,’ ती नेताले भने, ‘आफ्नै काकाकाकीको समेत सहयोग नपाउँदा आफू मुख्यमन्त्री बन्नबाट रोकिएको पनि उहाँको बुझाइ थियो, त्यसमा पनि रुष्ट देखिनुहुन्थ्यो ।’ जेन–जी आन्दोलन हुनुभन्दा केही महिनाअघिदेखि नै देउवादम्पतीसँग प्रकाशको सम्बन्ध चिसिँदै गएको ती नेताको भनाइ छ ।
जेन–जी आन्दोलनका वेला प्रकाश काठमाडौंमै थिए । त्यसको दुई दिनपछि काठमाडौंबाट जहाजमा नेपालगन्ज आएका उनी त्यहाँबाट स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए । दिल्लीबाटै अमेरिका उडेको निकटस्थहरू बताउँछन् । उनका श्रीमती र दुई छोराछोरी एक वर्षदेखि अमेरिकामै थिए ।
०७९ को निर्वाचनमा प्रकाश कैलाली ५ (२) बाट निर्वाचित भएका थिए । यहाँका सिनियर नेताहरूलाई पन्छाएर टिकट हात पारेका उनी देउवादम्पतीको शक्तिकै आडमा करिब १४ महिना सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्रीसमेत बनेका थिए । तर, केन्द्रमा राजनीतिक समीकरण फेरबदल भएर एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार ढलेसँगै उनी पनि मन्त्रीबाट बाहिरिएका थिए ।
प्रदेश सभा सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका देउवाले सभामुख भण्डारीलाई पत्र पठाएर ‘जेन–जी आन्दोलनपछि आफू व्यक्तिगत कामले अमेरिका आएको र केही समयपछि स्वास्थ्यमा समस्या देखिएका कारण चिकित्सकको सल्लाहअनुसार उपचार र आराम गरिरहेको’ उल्लेख गरेका छन् ।
लामो समयदेखि प्रदेश सभाको सम्पर्कबाहिर रहेको र लगातार सातवटा प्रदेश सभा बैठकमा जानकारीविना अनुपस्थित रहेको भन्दै प्रदेश सभाले दुई महिनादेखि प्रकाशको तलब रोकिसकेको छ । सभामुख भण्डारीलाई पठाएको पत्रमा उनले ‘जेन–जी आन्दोलनपछि आफू व्यक्तिगत कामले अमेरिका आएको र केही समयपछि स्वास्थ्यमा समस्या देखिएका कारण चिकित्सकको सल्लाहअनुसार उपचार र आराम गरिरहेको’ उल्लेख गरेका छन् । उनले स्वास्थ्यका कारण मंगलबार (२४ चैत) बसेको प्रदेश सभा बैठक र यो अधिवेशनमा आफू उपस्थित हुन नसक्ने बताएका छन् । लगातार १० वटा बैठकमा जानकारीविना अनुपस्थित भए पद गुम्न सक्ने प्रदेश सभा नियमावलीमा व्यवस्था छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले देउवाले सभामुखलाई मंगलबार पठाएको पत्रको बोधार्थ संसदीय दलमा पनि पठाएको बताए । ‘उहाँ अमेरिका हुनुहुन्छ भन्ने हल्ला सुनिएको थियो, तर दललाई औपचारिक जानकारी थिएन । मंगलबार सभामुखलाई पठाएको पत्रको बोधार्थ संसदीय दललाई पनि पठाउनुभएको छ,’ धामीले भने, ‘आफू अमेरिका आएको, यहाँ बिरामी भएको र चिकित्सकको सल्लाहअनुसार केही समय विश्राम गरिरहेकाले स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार भएपछि प्रदेश सभा बैठकमा सहभागी हुने जानकारी पत्रमा गराउनुभएको छ ।’
०७९ को निर्वाचनपछि प्रकाशले कांग्रेसको तर्फबाट आफू मुख्यमन्त्री बन्न पहल थालेका थिए । तर, पार्टीले कमल शाहलाई अघि बढायो, उनी मन्त्री बने । ०८० साउनमा तत्कालीन एकीकृत समाजवादी नेतृत्वको प्रदेश सरकार ढलेपछि फेरि एमालेको सहयोगमा सरकारको नेतृत्व पायो, शाह दोस्रोपटक मुख्यमन्त्री बने । त्यति वेला पनि प्रकाशले मुख्यमन्त्री बन्न प्रयास गरेका थिए ।
कांग्रेसका एक प्रदेश सभा सदस्यका अनुसार देउवादम्पतीकै उपस्थितिमा अर्को वर्षको बजेट ल्याएपछि शाहले पद छोड्ने र प्रकाशलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । ‘बजेट पारित गरेपछि प्रकाशलाई मुख्यमन्त्री बनाउने सहमति थियो,’ ती सदस्यले भने, ‘तर, उनले शाह मुख्यमन्त्रीको बनेको आठ/नौ महिनामै आफू मुख्यमन्त्री बन्ने प्रयास थाले । यसमा देउवादम्पतीले साथ दिएनन् । त्यसैले, चिसोपन बढेजस्तो देखिन्थ्यो ।’ मुख्यमन्त्री फेरबदलको विषयमा मुख्यमन्त्री शाह र प्रकाशबिचको सम्बन्ध पनि लामो समयदेखि सौहार्द थिएन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: