ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेखोलाको कटानसँगै बग्न थालेको पहिरो निरन्तर फैलिँदै जाँदा अहिले घरआँगनसम्मै आइपुगेको छ।
पहिरोको शिरनजिकै रहेका परिवारहरू वर्षौंदेखि जोखिम मोलेर बस्न बाध्य छन्। हिउँद होस् वा वर्षा, जमिन चिरिँदै जाने र पहिरो खस्ने क्रम रोकिएको छैन। रात परेपछि कतिबेला घर नै बगाउने हो भन्ने त्रासमा स्थानीयको निद्रा हराएको छ।
राईबहादुर राईका लागि पहिरोको पीडा नयाँ होइन। डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेत बगाएपछि ज्यान जोगाएर उनी डाँडाखर्क पुगेका थिए। नयाँ ठाउँमा दुःखसुख गरेर घर बनाए। खेतीपाती गरेर फेरि जीवन सुरु गर्ने प्रयास गरे।
तर, अहिले त्यही घर पनि पहिरोको जोखिममा परेको छ।
“उतिबेला चुप्लुमा पहिरोले उठिबास लगायो, ज्यान जोगाउन यहाँ आएर घर बनाएँ, अहिले फेरि यहीँ घर बगाउने अवस्था आयो,” राईबहादुरको पीडा छ, “हिउँद होस् वा वर्षा, पहिरो झर्न छाड्दैन। न त कतै जाने ठाउँ छ, न त रातभर निदाउन नै सकिन्छ।”
डाँडाखर्कमा पहिरोले घर मात्रै जोखिममा पारेको छैन। पुस्तौँदेखि जोतेर, खनजोत गरेर उब्जाउँदै आएको खेतीयोग्य जमिनसमेत बगरमा परिणत हुँदै गएको छ। सयौँ रोपनी जमिन पहिरोले बगाइसकेको स्थानीय बताउँछन्।
जमिन गुमेपछि अब जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ। घर बचाउने कि बाँकी रहेको खेतबारी जोगाउने भन्ने दोधारमा रहेका स्थानीयका लागि पहिरो नियन्त्रण झन् अत्यावश्यक बनेको छ।
स्थानीय बीरकाजी राईका अनुसार अहिले पाँच घरपरिवार मात्रै उच्च जोखिममा देखिए पनि समयमै पहिरो नियन्त्रण नगरिए सिङ्गो बस्ती प्रभावित हुन सक्छ।
“पहिरोको शिरमै गाउँ छ, गाउँका अरू ४० घरपरिवार पनि उत्तिकै जोखिममा छन्,” उनी भन्छन्, “सुरुमै यसलाई रोकथाम गर्न घेराबार वा तटबन्ध बनाइदिएको भए यस्तो बिजोग हुने थिएन।”
स्थानीयले पहिरो नियन्त्रणका लागि स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्म गुहार मागिसकेका छन्। पटक–पटक ध्यानाकर्षण गराए पनि दीर्घकालीन समाधान खोज्ने गरी ठोस काम हुन नसकेको उनीहरूको गुनासो छ।
विडम्बना त के छ भने पहिरोले जमिन बगाइसके पनि पीडितले त्यसै जमिनको भूमिकर भने तिर्न छाडेका छैनन्। राज्यलाई तिरो बुझाइरहेका उनीहरूले बदलामा राज्यबाट सुरक्षित बसोबास र पहिरो नियन्त्रणको अपेक्षा गरेका छन्।
“पहिरोले जग्गाजमिन बगाएर लगिसक्यो, पहिरोमा भएको जमिनको भूमिकर भने राज्यलाई तिरिरहनुपरेको छ,” पहिरोपीडित गीतामाया राई भन्छिन्, “तर राज्यबाट पहिरो नियन्त्रणको काम हुन सकेन, पहिरोपीडितका लागि राहतको कार्यक्रम आउन सकेन।”
डाँडाखर्कको पहिरो ओखलढुङ्गाका लागि नौलो घटना होइन। जिल्लाका विभिन्न ठाउँमा वर्षौँदेखि ठूला पहिरोले बस्ती र खेतीयोग्य जमिनलाई प्रभावित पार्दै आएका छन्। वर्षा सुरु भएसँगै जोखिममा रहेका बस्तीका नागरिकको त्रास झन् बढ्ने गरेको छ।
डाँडाखर्कमा पनि अब तत्कालीन राहतभन्दा दीर्घकालीन समाधान आवश्यक देखिएको छ। पहिरोको प्राविधिक अध्ययन गरी नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्ने, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने र उनीहरूको जीविकोपार्जनको व्यवस्था मिलाउने काम ढिला गर्न नहुने स्थानीयको माग छ।
दुई दशकदेखि बगिरहेको पहिरोले एउटा कुरा प्रस्ट पारिसकेको छ—समस्या पुरानो हुँदैमा जोखिम कम हुँदैन। बरु समयमै समाधान नखोजिए पहिरोले घर मात्रै होइन, एउटा सिङ्गो बस्तीको भविष्य नै बगाउन सक्छ।
प्रतिकृया लेख्नुहोस्: