Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पुरानो सदरमुकाम भजनी: कृषि र पर्यटनमा प्रचुर सम्भावना

खबरडबली संवाददाता

कैलाली । कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन । हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् । 

विसं २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् । यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठुलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ परिवार विस्थापित हुने गरेका छन् । चारैतिरबाट नदीले घेरिएको भजनी बजारका लागि कान्द्रा, मोहना, काढा र पथरैया नदी बाढीको जोखिम निम्त्याउने माध्यम बनेका छन् ।

“बाढी र डुबानको समस्यालाई दिगो रूपमा समाधान गर्न सक्यो भने यस क्षेत्रको विकासले फड्को मार्न सक्थ्यो,” भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले भने, “हाम्रो स्रोतले भजनीलाई ओभानो राख्न सक्ने स्थिति छैन । केन्द्र र प्रदेश सरकारले हाम्रो पीडालाई बुझ्न र महसुस गर्न सकेको छैन ।” स्थानीय नदी तथा खोलाको सतह बर्सेनि बढ्दै गएसँगै सामान्य वर्षामा  भजनी क्षेत्र डुबानको चपेटामा पर्ने गरेको नगरपालिकाका प्रवक्ता विक्रम चौधरी बताउँछन् । 

“जमेको वर्षाको पानी थुनिने गरी हुलाकी राजमार्ग निर्माण हुँदा डुबानको समस्या निम्तियो”, चौधरीले भने, “अन्तर्राष्ट्रिय सीमादेखि १० किलोमिटरको दूरीमा रहेको भारतको घाँघर नदीमा बनेको बाँधका ढोका बन्द गरिँदा पनि कैलालीको दक्षिणपूर्वका भजनीसहितका क्षेत्रमा डुबान हुने गरेको छ ।”

डुबान र नदी कटानकै कारण कतिपय गाउँका बस्तीलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने देखिएको स्थानीयको भनाइ छ । कुनै समयमा भारत, बङ्गलादेश, श्रीलङ्कालगायत देशमा चामल निर्यात गर्नमा देशमै स्थान बनाएको भजनीको राइस मिल बन्द भएको लामो समय भइसकेको छ । नजिकको सीमा क्षेत्रमा सञ्चालनमा रहेका दुई भन्सार कार्यालयमध्ये कुसुमघाट भन्सार कार्यालय बन्द भइसकेको छ । 

“भजनीवासीका दुःख हटाउन नदी नियन्त्रणसम्बन्धी बृहत् गुरुयोजना बनाएर अघि बढ्नुपर्ने देखिएको छ”, प्रवक्ता चौधरीले भने, “यसका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।” त्यसबेलाको केन्द्र शासनसँग समन्वय गरेर चिसापानीदेखि दक्षिण भजनी लालभोझीसम्मको क्षेत्रलाई जिल्ला कायम गरी सरकारी कामकाजको सुरुआत गराउने स्वर्गीय सुब्बादिलीप सिंह मल्लको भूमिकालाई भजनीवासीले आज पनि बिर्सेका छैनन् । स्वर्गीय दिलीपसिंह मल्ल सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख स्व मोहनराज मल्लका बुवा थिए । 

त्यो बेला मल्लहरू त्यस क्षेत्रको ठुला जमिनदार थिए । सबै राजकाज मल्लहरूकै चल्थ्यो । त्यस ठाउँमा बसोबास गर्ने मल्ललाई भजनीको रैथाने पनि भनिन्छ । स्थानीय प्रदीप मल्लकाअनुसार यो क्षेत्रमा डगौराथारु र मल्लको बसोबास सँगसँगै भएको पाइन्छ । “म २०१६ मा भजनीमै जन्मिएको हुँ, मलाई थाहा छ त्यो बेला सरकारी अड्डा, थाना, खाद्य, सहकारी सबै कार्यालय भजनीमै थिए,” स्थानीय समाजसेवी हेमेन्द्र भारद्धाज भन्छन्, “आज पनि केही संरचनाको अवशेष बाँकी छन् ।”

उसो त बर्दियाभन्दा पश्चिम एकमात्र स्वास्थ्य केन्द्र भजनीमा नै थियो । त्यसबेलाको टेलिफोनको टावर आज पनि छ । कृषि सहकारीको खाद्य गोदाम छ । विसं २०१५ मा सो क्षेत्रमा भजनी निम्न माध्यमिक विद्यालय विद्यालय स्थापना भएको थियो । विसं २०३५ मा उक्त विद्यालयको नाम परिवर्तन गरी महुन्याल बनाइएको भारद्धाजले बताए । 

उसो त सुदूरपश्चिम पश्चिम तराईका कञ्चनपुर र कैलाली जिल्ला उतिबेला सुवर्ण शमशेरको बिर्ता भएको भन्ने पनि छ । त्यसबेला कैलाली जिल्लालाई चार भागमा विभाजन गरेर शासन प्रशासन चलाइने गरेको बताइन्छ । कैलालीको दक्षिणपूर्वी खक्रौलादेखि टीकापुर लम्कीहुँदै चुरेसम्मको क्षेत्रमा शाही, मध्य भागको भजनीदेखि दरख, साढेपानी हुँदै उत्तरतिर चुरेसम्म मलवारा क्षेत्रमा मल्ल, हसुलियादेखि चौमाला हुँदै चुरेसम्म महत्तो र धनगढीदेखि गोदावरी हुँदै चुरेसम्म बमलाई हेर्ने जिम्मा दिइएको इतिहास रहेको पत्रकार दुर्गाप्रसाद भण्डारी बताउँछन् । 

“मलवारा भजनी क्षेत्र मात्र होइन, यसको क्षेत्र भजनीदेखि चुरे क्षेत्रको पण्डौनसम्म हो, मल्लहरूको क्षेत्र भएकाले ‘मल्लबाडा’ हुँदै थारु भाषामा ‘मलवारा’ भएको हो, यसैलाई नेपालीमा पछि मलवार भनियो,” उनले भने । त्यसबेला कुनै राज्यबाट कसैमाथि सजाय दिइँदा कालापानी पठाउने गरिन्थ्यो । त्यसैको सिकार हेमेन्द्र भारद्धाजका बुवा परे । वि.सं २०१५ मा बिपी कोइराला प्रधानमन्त्री हुँदा उनिसँगको खटपटले काठमाडौं छोडेर भजनी पुगेको उनको भनाइ छ । वि‍.सं २०३८ बाट भजनी पहिलेकै स्थितिमा स्थिर रहन सकेन । त्यसपछि त्यहाँबाट हुँदै आएको अधिकांश कामकाज धनगढी सारियो । भजनीभन्दा धनगढी र टीकापुर क्षेत्रका विकासका सम्भावना प्राथमिकतामा पर्न थाले । 

हुलाकी राजमार्ग : सम्भावनाको आधार 

हुलाकी राजमार्गलाई भजनीवासीले सम्भावनाको मार्गको रूपमा हेरेका छन् । हुलाकी राजमार्गसँगै जोडिएको भजनी पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डबाट करिब २५ किलोमिटर दक्षिणमा पर्छ । आज हुलाकी राजमार्ग बर्खायाममा त्यस क्षेत्रका नागरिकको सुरक्षित रहने आधार बनेको छ । बाढी र डुबानको समयमा यसबाट जोगिन विस्थापित परिवार बस्तीभन्दा अग्लो यसै हुलाकी सडकमा आश्रय लिएर बस्ने गर्छन् । “सडक नहुँदासम्म वर्षातको समयमा सुरक्षित रहन निकै गाह्रो थियो”, स्थानीय शम्भु चौधरी भन्छन्, “आज बाढी आएपछि हुलाकी सडक आश्रय लिन हाम्रा लागि वरदान बनेको छ ।”

अर्कोतिर बाढी तथा डुबानका लागि हुलाकी राजमार्ग कारक पनि बनेको छ । बस्तीबाट निकै माथि उठाइएको हुलाकी सडकभन्दा होचो भूभागमा स्थानीयवासीको घर छन् । सडकबाट पानीको निकास नहुँदा डुबानको जोखिम बढ्ने गरेको स्थानीय खेमराज पाण्डे बताउँछन् । “हुलाकीले सडक सञ्जालमा भजनीलाई जोड्ने काम हुँदा यो क्षेत्रको विकासको आयाममा इट्टा हुलाकी सडकले थपेको छ,” उनि भन्छन्, “तर पनि सडकभन्दा गहिरो भागमा पहिलेदेखि नै बस्ती हुँदा सडककै कारण सहज रूपमा पानीको निकास हुन नपाएर डुबानको जोखिम विकराल हुने गर्दछ ।”

कृषि र पर्यटन विकासको सम्भावना

यस क्षेत्रमा खेतीयोग्य उर्वर भूमि ठुलो क्षेत्रफलमा छ । सत्र हजार छ सय २५ हेक्टरमा फैलिएको भजनीमा आठ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जग्गा छ । त्यहाँको  करिब ८० प्रतिशत जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको भजनी नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीका अनुसार आठ हजार दुई सय ८० हेक्टरमा खेती गरिँदै आएको छ भने छ हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चार हजार दुई सय ४० हेक्टरमा वर्षभरि सिँचाइ सुविधा छ । भजनी नगर क्षेत्रमा पाँच हजार नौ सय तीन हेक्टर क्षेत्र जङ्गलले ओगटेको छ । 

पर्यटन तथा पर्यावरणीय दृष्टिले यो क्षेत्रको महत्त्व ठुलो छ । यो क्षेत्रलाई ‘बर्का बनुवा’ (ठुलो वन) मार्गको रूपमा चिनिन्छ भने पाँच कोषीय वन यसै क्षेत्रमा छ । सीमापारि भारतको  दुधुवा राष्ट्रिय निकुञ्जदेखि चुरे क्षेत्रसहित बर्दिया राष्ट्रिय निकुञ्जसम्म जोड्ने मार्गको रूपमा यो क्षेत्रलाई हेरिने गरिएको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् । 

भजनी क्षेत्र दुर्लभ संरक्षित चराचुरुङ्गीको प्राकृतिक वासस्थानका रूपमा रहेको छ । यहाँ सारस, घुडिफोर, खर मजुर, राजधनेषजस्ता चराचुरुङ्गीहरू पाइन्छन् । बाहिरबाट बसाइँ सरेर आउने साइबेरियन चराहरू भजनी क्षेत्रमा आउने गरेका छन् । विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनलाई यसै क्षेत्रका नदीमा अवलोकन गर्न पाइन्छ । डल्फिनसँगै घडियाल, मगर गोही, पानीमा बस्ने ओद, पाटेबाघ, अजिङ्गरसहित जङ्गली हात्तीले बच्चा जन्माएको इतिहास पनि यो क्षेत्रसँग रहेको श्रेष्ठको भनाइ  छ । यहाँ थुप्रै सामुदायिक र निजीवन पनि छन् । आधा नेपालमा र आधा भारतको भूमिमा पर्ने बञ्जरिया नाम गरेको ताल भजनी क्षेत्रमै पर्छ । 

“पर्यटकीय सम्भावना र जैविक विविधताका दृष्टिकोणले यो क्षेत्र निकै सम्पन्न छ, यहाँ सबै कुरा छ”, श्रेष्ठ भन्छन्, “यहाँको विविधतालाई विशेषतामा परिणत गर्नसक्यो भने धेरै ठुलो सम्भावना छ ।” बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पुगेका विदेशी पर्यटक भजनी सर्किटसम्म आउने गरेको पाइन्छ । जीवजन्तु संरक्षणका लागि विगतमा गुलेली सङ्कलनको अभियान भजनी क्षेत्रबाटै सुरु गरिएको थियो । संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भोजराज श्रेष्ठलाई अभियानपछि गुलेली बाजेको उपनाम पनि दिइएको थियो । श्रेष्ठले पर्यटन क्षेत्रको प्रचारप्रसार र संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । 

लोपोन्मुख जातिको सूचीमा रहेको राजी जातिको बसोबास यसै क्षेत्रमा छ । नगरपालिका-९ को भुरुवा गाउँमा राजी जातिको बसोबास रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending