Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

प्रधानमन्त्री ओलीसँग किन रिसाए रवि लामिछाने ?

शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि रविले गिरिबन्धु टी-स्टेटको अनुसन्धान अघि बढाउने तयारी गरेपछि रुष्ट थिए ओली

खबरडबली संवाददाता

काठमाडौं । केपी ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि सरकारी टेलिभिजनमा "जनतासँग प्रधानमन्त्री" कार्यक्रम चलाएका रवि लामिछानेलाई ओलीकै नेतृत्वमा तेस्रो पटक बनेको सरकारका पालामा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुअघि र पक्राउ परिसकेपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले प्रधानमन्त्री ओलीको चर्को विरोध गरिरहेका छन्।

दुई वर्षअघि दल खोलेर राजनीतिमा प्रवेश गरेका लामिछाने ‘ओलीकै जोडबलमा’ उपप्रधान तथा गृहमन्त्री बनेको बताउनेहरू पनि छन् यद्यपि यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि भएको छैन। त्यसपछि पनि लामिछानेको पक्षमा ओलीले सार्वजनिक रूपमा पटकपटक राजनीतिक अडान लिएका छन्।

लामिछानेको राजनीतिक आरोहमा साथ दिइरहेका ओली किन लामिछानेलाई पक्राउ गर्नु पर्ने निर्णयसम्ममा पुगे? अनि आफूलाई कैयौँ अप्ठ्यारामा साथ दिइरहेका ओलीप्रति लामिछाने किन आक्रोश पोखिरहेका छन्? नेपालको राजनीतिमा चासो राख्ने कैयौँले अहिले यसको उत्तर खोजिरहेका छन्।

लामिछानेको ओलीप्रति रोष

केही समयअघि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले केपी ओलीले महँगो घडी लगाएको चर्चा गरेका थिए यद्यपि त्यस विषयमा केपी ‌ओलीका तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

आफूलाई पक्राउ गर्न पार्टी कार्यालयमा प्रहरी पुगेपछि लामिछानेले त्यही प्रसङ्गप्रति सङ्केत गर्दै फेसबुकमामा गरेको लामो पोस्टको सुरुआतमै लेखेका थिए, “तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी?”

ओलीसँगको लामिछानेको आक्रोश त्यतिमा मात्रै रोकिएको देखिँदैन। आइतवार पोखरास्थित जिल्ला अदालतमा उपस्थित भएर प्रहरी हिरासतमा फर्कने क्रममा पत्रकारहरूसँग उनले पुनः ओली र सरकारको चर्को आलोचना दोहोर्‍याए।

"ओली नेतृत्वको सरकार रहेसम्म भ्रष्टाचारीहरूलाई जोगाउने गतिविधि हुने" भन्ने आरोप लगाउँदै उनले भने, “केपी ओलीको सरकार रहेसम्म यो देश कहिल्यै बन्दैन।”

लामिछानेको पक्राउको विरोधमा पोखरामा दिनहुँजसो प्रदर्शन गरिरहेका रास्वपाका नेता र कार्यकर्ताहरूले पनि ओली र उनले नेतृत्व गरिरहेको सरकारको आलोचना गरिरहेका छन्।

ओली र लामिछाने सम्बन्धको सुरुआत

केपी ‌ओलीको पहिलो कार्यकालमा विसं २०७३ वैशाख ११ गते नेपाल टेलिभिजनमा रवि लामिछानेले "सिधा कुरा प्रधानमन्त्रीसँग" नामक कार्यक्रम सुरु गरे। हरेक शनिवार प्रधानमन्त्री ओली टेलिभिजनको स्टुडिओमा उपस्थित भएर लामिछानेको कार्यक्रममा सर्वसाधारणका जिज्ञासाको जबाफ दिन्थे।

“जतिखेर रविजी अमेरिकाबाट नेपाल फर्किनुभयो त्यो बेलादेखि उहाँहरूको सम्बन्ध देखिन्छ। त्यो बेला सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलाउने जिम्मा दिएर नै उहाँले स्थापित गर्नुभएको हो भन्ने स्पष्टै छ,” लामो समयदेखि ओली निकट रहेका सांसद सूर्य थापा भन्छन्। थापा नेतृत्वकै सहकारी छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा अहिले लामिछाने पक्राउ परेका हुन्।

ओलीपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लामिछानेलाई त्यस्तो कार्यक्रमको प्रस्तोताको रूपमा निरन्तरता दिएन।

विसं २०७९ सालको निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका लामिछानेको दलले पहिलो पटकको निर्वाचनमै २० र उपनिर्वाचनबाट थप एक सिट सहित २१ सिट जितेर चौथो ठूलो दल बन्यो।

लामिछानेलाई ओलीको साथ

केपी ओली तिनै नेता हुन् जसले विसं २०७९ साल मङ्सिरको निर्वाचनपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछानेलाई उपप्रधान सहित गृहमन्त्री बनाउन पहल गरेको एमाले र माओवादीका नेताहरू दाबी गर्छन्।

“उहाँलाई उपप्रधान र गृहमन्त्री बनाउने कुरामा उहाँ (ओली)ले नै साथ दिनुभयो र स्थापित गर्नुभयो। फेरी २०८० फागुन २१ को नयाँ समीकरणमा पनि उहाँलाई उपप्रधान र गृहमन्त्री बनाउने कुरामा केपी ओली नै उहाँको मुख्य अभिभावक जस्तो हुनुहुन्थ्यो,” एमाले नेता सूर्य थापा भन्छन्।

तत्कालीन समयमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पनि लामिछानेलाई महत्त्वपूर्ण मन्त्रालय र पद लिन ओलीले साथ दिएको स्विकार्छन्।

“उहाँ (केपी ओली)ले त्यो बेला लामिछानेजीलाई सहयोग गर्नु भएको आंशिक रूपमा साँचो नै हो। तर आफूलाई चाहिँदा सबै कुरा थाहा हुँदाहुँदै पनि जोगाउँदै हिँड्ने अरूलाई पर्दा फाल्दिने संस्कार केपी ओलीमा देखा पर्‍यो,” माओवादीका सचिव देवेन्द्र पौडेल भन्छन्।

पहिलो पटक सरकारमा सहभागी भएको केही महिनामै लामिछानेले अमेरिकी नागरिकता त्याग गरेर नेपाली नागरिकता पुनः प्राप्ति नगरेको विषयमा उनको मन्त्री र सांसद पद दुवै गुम्यो।

लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति गरेपछि उनलाई गृहमन्त्री बनाउन ओलीले प्रचण्डलाई "दबाव दिएको" माओवादी नेताहरू बताउँछन्।

“कहीँ न कहीँ आफ्नो पोल्टामा राखिरहन, आफ्नो अनुकूलतामा, नियन्त्रणमा राखिरहन सकिन्छ कि भन्ने मनसुबा अहिलेको प्रधानमन्त्रीमा त्यसबेला थियो,” लामिछानेलाई मन्त्रीमा पुनर्स्थापित गर्न ओलीले जोडबल लगाउनुको कारणबारे माओवादी नेता पौडेल भन्छन्।

उपनिर्वाचन जितेर संसद्‌मा पुगे पनि प्रचण्डले नमानेपछि लामिछाने सरकारमा फर्कन नसकेको माओवादी नेताहरू बताउँछन्। तर समीकरण फेरिएर पुनः एमाले र माओवादीको सरकार बनेपछि दोस्रो पटक गृहमन्त्री बनेका रवि लामिछाने विभिन्न सहकारीहरूको बचत रकम अपचलनमा संलग्न भएको आरोप लाग्यो।

संसदीय छानबिन समिति र लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले लामो समय संसद् अवरुद्ध गर्‍यो। त्यसबेला पनि सत्ता साझेदार दलका नेता ओलीले छानबिन समिति बनाउन नहुने अडान लिएका थिए। ओली मात्रै नभई सिङ्गो एमालेले लामो समयसम्म छानबिन समिति बनाउन नहुने अडान लिएको थियो।

आफूलाई भेट्न आएका विपक्षी गठबन्धनका नेताहरूसँग सोमवार पनि ‌ओलीले त्यसबेला आफूले लिएको अडान सम्झिएका थिए।

“त्यो बेला मैले छानबिन समिति नै नबनाऊँ भनेको हो। रविजी आफैँ तयार भएपछि हामी पछि हट्यौँ। अहिले छानबिन समितिको प्रतिवेदनका आधारमा उहाँ पक्राउ पर्नुभएको हो। यसमा सरकारले केही गरेको होइन भन्ने उहाँको कुरा थियो,” भेटमा सहभागी आम जनता पार्टीका नेता प्रभु साहले भने।

एमाले नेता सूर्य थापा पनि छानबिन समितिको माग भइरहँदा ओलीले लामिछानेलाई नै साथ दिएको बताउँछन्।

“व्यक्ति केन्द्रित छानबिन समिति आवश्यक छैन भनेर निरन्तर अडान लिने नेता केपी शर्मा ओली हुनहुन्थ्यो। लामिछाने र प्रचण्ड तयार भएपछि ओली एक्लै नअडिनुभएको हो,” थापा भन्छन्।

कहाँबाट आयो सम्बन्धमा दरार

एमाले नेता थापाले "ओलीले उनीप्रति देखाएका सदाशयता लामिछानेले बिर्सिएको" आरोप लगाउँछन्।

“अहिले उहाँले कृतघ्नताका सबै मानक र सीमाहरू पार गरेर प्रधानमन्त्रीमाथि प्रहार गरिरहनुभएको छ र सामाजिक मर्यादाका कुनै सीमा बाँकी राख्नुभएको छैन,” उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी एमाले-माओवादी गठबन्धन सरकार ढल्नुअघि नै ओली र लामिछानेको सम्बन्धमा चिसोपना आएको दाबी गर्छन्।

“खासगरि भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि रविजीको तयारी गिरिबन्धु टी स्टेटको अनुसन्धान अघि बढाउने थियो। यही कुरा थाहा पाएर ओलीजी र रविजीको सम्बन्ध बिग्रिएको हो,” उनले दाबी गरे।

ओलीले आफ्नो सत्ता जोगाउन आफूलाई पक्राउ गरेको रवि लामिछानेको बुझाइ रहेका कारण लामिछाने प्रधानमन्त्रीसँग रुष्ट देखिएको बुर्लाकोटीको आरोप छ।

“कांग्रेसले जसरी पनि रविजीलाई थुन्न चाहेको थियो। अहिलेको समीकरण बनेपछि नेपाली कांग्रेसका नेताहरूको आशय पनि त्यही देखिन्थ्यो। ओलीले सत्ता साझेदार दलको कुरा सुनेर बिना आधार पक्राउ गर्न आदेश दिएका कारण पनि रविजीले प्रधानमन्त्रीमाथि प्रश्न उठाउनुभएको हो,” पोखराममा रहेका बुर्लाकोटीले टेलिफोनमा भने।

माओवादीका नेता देवेन्द्र पौडेल भने "साना साना दलहरूको अस्तित्व कमजोर बनाएर दुई दलीय शासन व्यवस्था लागु गर्ने ओलीको रणनीतिका कारण उनले रविमाथि प्रशासनिक बल प्रयोग गरेको" दाबी गर्छन्।

“अरू विषय पनि होलान्। धेरै पटक उहाँहरूबीच छलफल, कुराकानी भएको त सार्वजनिक नै हो। त्यसकारण अरू पनि केही न केही विषय भएर पूर्वाग्रह साध्न खोजेको देखिन्छ,” पौडेलले भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending