खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध
पौष २७ गते, २०८० शुक्रवार 12th January, 2024 Fri१७:३७:१४ मा प्रकाशित
खबरडबली संवाददाता
खोटाङ । गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।
अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका छन् । ऐँसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कामु शाखा अधिकृत अवधि मङ्सिर १७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो ।
इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा गाउँपालिकाका सातैवटा वडाका नागरिक डेढ महिनादेखि समस्यामा परेको गाउँपालिकाका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए । इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कबाट नागरिकता सिफारिसलगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐँसेलुखर्क पुगेर यही पुस ४ र ५ गते सेवा प्रदान गरेका थिए ।
नासु भुर्तेलको कामु अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कामु अवधि सकिएको जानकारी दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको जनाइएको छ । “शाखा अधिकृतको व्यवस्था गर्न वा कामु अधिकृत नियुक्त गरिदिन पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेका थियौँ । तर हालसम्म पत्रको सुनुवाइ भएको छैन”, जिल्ला प्रशासन कार्यालका एक अधिकृतले भने, “गृह–मन्त्रालयले दीर्घकालीन समस्या समाधान गर्नुपर्छ । म्यादी शाखा अधिकृत अधिकृतको जिम्मेवारी दिइरहे पुनः समस्या दोहोरिरहन्छ ।”
यसैगरी, गृहले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई छ महिनाका लागि दिएको कामु अवधि सकिएपछि नागरिकता वितरणलगायत प्रशासनिक सेवा रोकिएको छ । यसअघि शाखा अधिकृत नहुँदा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो ।
गृहले बढीमा छ महिनाका लागि नासु राईलाई कामु मुकर्रर गरेर पत्र पठाएपछि गतसाउन २२ गतेदेखि नागरिकता वितरणलगायत सेवा सुरु गराइएको थियो । सो कामु अवधि यही पुस२० गते सकिएको जनाइएको छ ।
कार्यक्रमका सिलसिलामा खोटाङ बजार पुगेका प्रमुख जिल्ला अधिकारी सुनारले पुस २१ र २२ गते नागरिकता जारी गरेका थिए । खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही समस्यामा परेका छन् ।
इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु काम नगरी फर्कन बाध्य भएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । “पुस २४ गते इलाका प्रशासन कार्यालय खोटाङबजार पुगेको थिएँ । त्यो दिन २२ जना सेवाग्राही काम नगरी फर्कन बाध्य भएका थिए”, उनले भने, “यो म्यादी कार्यालयबाट कहिलेदेखि जनताले ढुक्कसँग सेवा लिन पाउने ? एकै दिन २२ सेवाग्राही काम नै नगरी फर्किनु परेको दुःखद खबर छ । कतिको, कति अप्ठ्यारो परिस्थिति पनि हुन्छ । ”
इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ । इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटेहाङ गाउँपालिका प्रमुख उदिम राईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
प्रतिकृया लेख्नुहोस्: