एजेन्सी । १७ औं लोकसभा गठनको लागि भारतभरबाट ५४२ सांसद चुनिएका छन् । चुनिएका सांसदबारे एउटा तथ्य बाहिर आएको छ । भारतीय मिडियाले ल्याएको तथ्य अनुसार चुनिएका अधिकांश सांसद करोडपति अनि आपराधिक पृष्ठभूमिका भएको पाइएको छ ।
भारतीय मिडिया भास्कर दैनिकले सार्वजनिक गरेको तथ्यांक अनुसार चुनिएका ५४२ सांसद मध्ये २३३ सांसदमाथि आपराधिक मुद्दा लागेको छ । आपराधिक मुद्दा लागेका मध्ये २२ प्रतिशत सांसदलाई गम्भिर खालको अपराधको मुद्दासमेत लागेको जनाएको छ । सांसदहरु मध्ये ४७५ जना करोडपति छन् ।
भाजपाका ११६ सांसदलाई आपराधिक मुद्दा
भाजपाबाट निर्वाचित ३०१ सांसदमध्ये ११६ सांसदलाई आपराधिक खालको मुद्दा लागेको छ । जसमध्ये ८७ जनालाई गम्भिर प्रकारको आपराधिक मुद्दासमेत लागेको छ । कांग्रेसबाट निर्वाचित ५१ सांसदमध्ये २९ सांसदलाई आपराधिक मुद्दा लागेको छ । जसमध्ये १९ जनालाई गम्भिर प्रकारको आपराधिक मुद्दा लागेको छ ।
जनतादलका ८१ प्रतिशत सांसदलाई आपराधिक मुद्दा छ । जसमध्ये ५० प्रतिशत सांसदलाई गम्भिर प्रकारको आपराधिक मुद्दा भएको भास्कर दैनिकले उल्लेख गरेको छ ।
निर्वाचनमा महिलाहरुको उपस्थिति कमै थियो । निर्वाचित भएका सांसद मध्ये १९ महिला सांसदमाथि महिलालाई नै अत्याचार गरेको भनि मुद्दा लागेको छ ।
लोकसभा चुनावबाट यसपटक धेरै आपराधिक मुद्दा लागेका व्यक्तिहरु चुनिएका छन् । चुनिएका सांसद मध्ये ५३९ लाई विश्लेषण गर्दा ४३ प्रतिशतलाई आपराधिक मुद्दा लागेको छ । जसमध्ये २९ प्रतिशतलाई गम्भिर प्रकारको आपराधिक मुद्दा लागेको छ । यसअघि २०१४ मा भएको निर्वाचनमा चुनिएका सांसदमध्ये ३४ प्रतिशतलाई आपराधिक मुद्दा लागेको थियो ।
अधिकांश सांसदहरु करोडपति
अधिकांश सांसदहरु करोडपति रहेको पाइएको छ । चुनिएका सांसदमध्ये ८८ प्रतिशत सांसद करोडपति छन् । भाजपाबाट चुनिएका सांसदमध्ये २६५ जना सांसद करोडपति छन् । शिवसेनाका सबै सांसद करोडपति छन् । लोकसभा निर्वाचन २०१९ मा शिवसेनाबाट १८ जना सांसद निर्वाचित भएका छन् ।
निर्वाचनबाट सबैभन्दा धनाड्यमा गनिएका करोडपतिहरु पनि निर्वाचित भएका छन् । मध्यप्रदेशको छिंदवाडा निर्वाचन क्षेत्रबाट निर्वाचित कांग्रेस सांसद नकुल नाथ सबैभन्दा धनाड्य सांसद हुन् । उनीसँग ६६० करोड बराबरको सम्पती रहेको जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: