काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ को जनआन्दोलन, माओवादी जनयुद्धपछिको चुनावदेखि राजतन्त्र विरोधी आन्दोलनसम्म—पूर्वी पहाडले हरेक राजनीतिक मोडमा नयाँ शक्तिलाई साथ दिएको इतिहास छ ।
यस पटक पनि ‘मत परिवर्तन’ भयो, तर त्यो देशभर उर्लिएको घण्टीको लहरमा मात्र सीमित रहेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशभर पहिलो शक्ति बन्दा पूर्वी पहाडका जिल्लाहरूमा भने श्रम संस्कृति पार्टी अप्रत्याशित रूपमा दोस्रो ठूलो शक्ति बन्यो ।
कोशीमा नयाँ शक्ति समीकरण
समानुपातिकतर्फको अन्तिम मत परिणामअनुसार कोशी प्रदेशमा रास्वपाले ४ लाख ५३ हजार १३८ मत प्राप्त गरेको छ । श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत ल्याउँदै कांग्रेस र एमालेलाई पछि पारेको छ ।
नेपाली कांग्रेस ले २ लाख ९० हजार ५६२, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २ लाख ८८ हजार १८६ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ९७ हजार ६७९ मत प्राप्त गरेका छन् ।
तराई क्षेत्रमा रास्वपाले वर्चस्व जमाउँदा पहाडी जिल्लामा भने श्रम संस्कृतिको प्रभाव उल्लेखनीय देखियो । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृतिले पराजित भएका क्षेत्रमा पनि उत्साहजनक मत ल्यायो । इलाम र पाँचथरमा निकटतम प्रतिस्पर्धी बनेको पार्टीले समानुपातिकतर्फ विजयी दलभन्दा बढी मत पाएको तथ्यले ‘लोकप्रिय मत’ आफ्नो पक्षमा रहेको संकेत दिएको छ ।
‘माटो’को लहर र हर्कको प्रभाव
श्रम संस्कृति पार्टीको चुनाव चिह्न ‘माटो’ पूर्वी पहाडमा प्रतीकात्मक अभियानका रूपमा स्थापित भयो । यसको केन्द्रमा छन् धरानका मेयर हर्क साम्पाङ ।
धरानमा उनले अघि बढाएको श्रमदान अभियान, पारदर्शिताको दाबी र ‘भुईँमान्छे’ शैलीको राजनीतिले युवापुस्तालाई आकर्षित गरेको विश्लेषण गरिएको छ । ‘माया धराने’ साबुन उद्योग र बेसार प्रशोधन जस्ता स्थानीय उत्पादनमुखी प्रयासले पनि उनलाई ‘बोल्ने मात्र होइन, गर्ने नेता’को छवि दिएको समर्थकहरू बताउँछन् ।
पहिचानवादी मनोविज्ञानको पुनरुत्थान?
कोशी नामाकरण विवादपछि उठेको ‘नो कोशी’ आन्दोलन, विगतका खम्बुवान–लिम्बुवान आन्दोलन र पहिचानवादी धारको असन्तुष्टि पूर्वी पहाडमा अझै जीवित छ । परम्परागत दलहरूले पहिचानलाई समेट्ने वाचा गरे पनि व्यवहारमा लागू नगरेको असन्तोषबीच श्रम संस्कृतिलाई वैकल्पिक प्रतिनिधित्वका रूपमा हेरिएको विश्लेषकहरूको भनाइ छ ।
हर्क साम्पाङले औपचारिक रूपमा पहिचानबारे स्पष्ट धारणा सार्वजनिक नगरे पनि पहिचानवादी जनमतको एक हिस्सा उनीप्रति सकारात्मक देखिएको छ ।
प्राविधिक कारण र अन्तर्घात
ठूला दलभित्रको असन्तुष्टि, अन्तर्घात र संगठनात्मक कमजोरिले पनि परिणाममा प्रभाव पारेको देखिन्छ । टिकट वितरणप्रति असन्तुष्टि र आन्तरिक विभाजनका कारण कांग्रेस र एमाले दुबै दलमा मत बिखण्डित भएको स्थानीय नेताहरू स्वीकार गर्छन् ।
कति टिक्ला ‘माटो’को प्रभाव?
पूर्वी पहाडको जनमत परिवर्तनशील छ । २०६४ मा माओवादीलाई साथ दिएको क्षेत्र त्यसपछिका चुनावमा क्रमशः टाढिँदै गयो । त्यसैले स्थापनाको चार महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति दीर्घकालीन रूपमा टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न खुलै छ ।
तर यति निश्चित देखिएको छ । पूर्वी पहाडले फेरि एकपटक ‘मत परिवर्तन’ गरेको छ, र यस पटक त्यो परिवर्तनले कोशीको राजनीतिक अंकगणित नै फेरिदिएको छ ।
प्रतिकृया लेख्नुहोस्: