Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

देउवा आज स्वदेश फर्कँदै, ओली सरकार ढल्न सक्ने संकेत

ओलीकाे कार्यशैलीप्रति सत्ता गठबन्धनका नेताहरुनै असन्तुष्ट

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । उपचारका लागि भन्दै थाइल्यान्ड गएका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवं सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी हुन त्यहीँ गएकी उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै छन् ।  वैशाख ७ गते परिवारका अन्य सदस्यसहित त्यसतर्फ गएका देउवा दम्पती अहिले दिउँसो १२ बजे स्वदेश फर्किन लागेका हुन् । 

संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै जिम्मेवार नेताले आफ्नै पार्टी सम्मिलित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार फेरबदलको चर्चा तीव्र बनाइरहेका बेला देउवा दम्पतीको स्वदेश आगमनलाई चासोका साथ हेरिएको छ ।

कतिपयले देउवा वर्तमान राजनीतिक कोर्स फेरबदलको गृहकार्यकै लागि थाइल्यान्ड गएकोसमेत अड्कल काटिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले भने देउवा उपचारकै लागि त्यसतर्फ गएको अभिव्यक्ति दिँदै आएका छन् । यद्यपि, पछिल्ला दिनमा उनको संशय भने बढ्दै गएको देखिन्छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ गठबन्धनबारे कांग्रेस सभापति देउवा स्वदेश फर्किएपछि कुरा हुने भनी दिएको अभिव्यक्तिले राजनीतिक माहौल झनै तातिएको छ । उनले देउवा थाइल्यान्ड जानेबेला टेलिफोनमा कुराकानी भएको र फर्किएपछि थप कुराकानी हुने बताएकाले मुलुकको राजनीति नयाँ कोर्षमा जानसक्ने अड्कलबाजी पछिल्ला दिनमा व्यापक भइरहेको छ ।

बिहीबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा सांसदहरूलाई ब्रिफिङ गर्दै देउवा उपचारका लागि बैंकक जानुअघि उनीसँग आफ्नो संवाद भएको खुलाएका थिए । बैठकमा सांसदहरूले कांग्रेससित गठबन्धन बनाउनेबारे राखेको जिज्ञासामा प्रचण्डले माओवादी तत्काल सरकारमा जाने पक्षमा नरहेको, तर बाहिर बसेर कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई सघाउन सक्ने बताएका थिए । 


यति मात्र नभई बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको बताएका थिए । उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, शिक्षकको आन्दोलन, कांग्रेसभित्रको असन्तुष्टिका कारण ओली सरकार संकटमा परेको ब्रिफिङ गरेका थिए । राष्ट्र संकटमा परेको बेला हेरेर बस्ने अवस्था नरहेको भन्दै आफुहरुसँग अवसर र चुनौती रहेकोले सरकार आफ्नै कारणले ढल्ने उनले बताएका थिए । 

त्यसो त केही दिनअघि देउवा र दाहालबिच भएको संवादमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । सो संवादमा प्रचण्डले  एमालेसँग गठबन्धन तोड्न तयार भए माओवादीले सघाउने बताएका थिए । इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा पनि अध्यक्ष प्रचण्डले देउवा नयाँ गठबन्धन बनाउन अघि सरे सरकारमा गएर वा नगएर सघाउने बताएका थिए । 

माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले गठबन्धनको प्रमुख दल कांग्रेसभित्र असन्तुष्टि बढिरहेकाले सरकार संकटमा देखिएको बताएका छन् । विभिन्न घटनाक्रमले सरकार संकटमा परेको र आफ्नै कारणले सरकारको धरातल कमजोर हुँदै गएको उनको भनाइ थियो ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले नयाँ सरकार र नयाँ गठबन्धन बनाउने विषयमा कांग्रेससँग छलफल भइरहेको खुलासा गरेका छन् । एमाले र ओली नेतृत्वको सरकारभन्दा सापेक्षित रूपमा कांग्रेस प्रगतिशील भएकाले उसैसँग नयाँ सरकार बनाउन संवाद भइरहेको उनको भनाइ छ । 

ओलीभन्दा, एमालेभन्दा कांग्रेस सापेक्षित हिसाबले प्रगतिशीलरहेको र  हिजो पनि संसद् दुई–दुईपटक विघटन गर्दा केपी ओलीको स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुश कदमका विरुद्ध कांग्रेससँग हाम्रो सहकार्य भएकै हो, खराबमध्ये कम खराबलाई रोज्नुपर्दा हामीले कांग्रेससँग सहकार्य गर्नुपर्छ, संवाद सुरु भएको कुरा सत्य रहेको सांसद दाहालले बताए ।

कांग्रेस देउवा थाइल्यान्डबाट फर्किनेबित्तिकै नयाँ सरकारका विषयमा र सरकारमा माओवादीको भूमिका विषयमा छलफल हुने उनको भनाइ छ । उहाँहरूभित्र चुलिएको अन्तर्विरोधले सरकार ढल्छ, सरकार ढलिसकेपछि माओवादीको उपस्थिति के हुन्छ भन्ने कुरामा शेरबहादुर देउवा आइसकेपछि बहस सुरु हुने उनाके भनाइ छ । यो मुलुकले यो बोझिलो सरकार धान्न सक्दैन र  यसले लोकतन्त्रको रक्षा पनि नगर्ने उनले बताए  । 

देउवा थाइल्यान्ड जानुअघिको अवस्था र अहिलेको अवस्था केही फरक पनि छ । जस्तो कि, कांग्रेस र एमालेबिच नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेसलाई दिने सहमति भए पनि सो सहमति कार्यान्वयनमा आउन सकेको छैन । देउवाले गभर्नरमा प्रस्ताव गरेका नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुणाकर भट्टराईलाई ओलीले गभर्नरमा नियुक्त गर्छन्ग–र्दैनन् भन्ने नै स्पष्ट हुन सकेको छैन । बरु उनको नियुक्ति पछिल्ला दिनमा थप गिजोलिएको अवस्था छ । 

अहिले गभर्नर नियुक्ति प्रक्रिया थालनी नहुँदै अदालतमा मुद्दा परेको छ । ‘सिफारिस समितिको बैठक एक महिनासम्म बस्न नसक्नु, कांग्रेसले इच्छ्याएका राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नहुनु, अदालतमा रिट दायर हुनुले शंका उत्पन्न भएको छ,’ कांग्रेसका एक नेताले भने ।

भट्टको राजीनामा स्वीकृत गर्ने क्षेत्राधिकार डेपुटी गभर्नर निलम ढुंगानालाई छ । गभर्नरको प्रतिस्पर्धामा आफैँ रहेकी ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । ढुंगानालाई ओलीले गभर्नर बनाउन खोजेको पनि बताइन्छ ।

यहीबिचमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा मुलुकबाहिर रहेका बेलामा ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका छन् । बर्खास्तगीमा परेका तामाङले भने सार्वजनिक रूपमै अब यो सरकार ढाल्न लागिपर्ने घोषणा गरेका छन् । शिक्षामन्त्रीको राजीनामा गराई सो ठाउँमा रघुजी पन्तलाई नियुक्ति गरिएको छ । उनी एमालेको भए पनि कांग्रेससँग यसबारेमा छलफल नै नभएको बताइएको छ । कांग्रेस नेताहरूले जारी शिक्षकहरूको आन्दोलन ओलीकै कारण लम्बिएको र अस्तव्यस्त भएको बताउँदै आएका छन् ।

यस्तै, सत्ता पक्षका नेताहरूको दाबीअनुसार विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक घिसिङ हटाउन सभापति देउवा सहमत हुनुमा गभर्नर पदसँग जोडिएको थियो । पार्टीका शीर्ष नेताहरू घिसिङलाई हटाउन नहुने पक्षमा हुँदाहुँदै देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

ओली र देउवाबिच भएको सहमतिअनुसार अबका दुई आईजीपी ओलीको चाहनामा र गभर्नर देउवाले सिफारिस गरेअनुसार बनाउने सहमति भएको थियो । तर, गभर्नरको नाम सिफारिस गर्न गठन भएको समितिका एक सदस्य एवं पूर्वगभर्नर विजयनाथ भट्टराईले नै राजीनामा दिएसँगै गभर्नर नियुक्ति प्रक्रिया नै संकटतिर धकेलिएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले राज्यका अंगहरूमा आफू अनुकूलका पात्रहरू नियुक्त गरेको बुझाइ कांग्रेसमा छ । त्रिभुवन विश्वविद्यालयमा ओलीले आफूनिकटका व्यक्तिलाई नियुक्त गर्न उपकुलपतिमा डा. केशरजंग बराललाई राजीनामा दिन बाध्य पारेको कांग्रेसको बुझाइ छ । साथै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तको नियुक्तिमा समेत ओलीले आफ्नै खल्तीको मान्छे नियुक्त गर्न खोजेको समेत चर्चा छ ।

यी र यस्तै विषयमा मतभेद बढ्दै जाँदा दुई दलीय उच्चस्तरीय संयन्त्रको बैठकमा समेत कांग्रेस नेताहरू अनुपस्थित भएका थिए । गत ३ वैशाखमा बसेको संयन्त्रको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएनन् ।

कांग्रेस कार्यवाहक सभापति खड्काले तीन दिनअघि सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । उनले सभापति देउवा स्वदेश फर्किएपछि अर्को तरिकाले अघि बढ्ने अभिव्यक्तिसमेत दिएका थिए । सरकारका कामकारबाही सच्याएर अघि बढ्नुपर्ने बताउँदै उनले सबै विषयमा पार्टीको केन्द्रीय समिति बैठकमा समेत छलफल हुने जनाएका थिए ।

यस्तै, कांग्रेस महामन्त्री थापाले वर्तमान सरकारबाट बाहिरिने चेतावनी नै दिएका छन् । सरकारको कार्यशैली ठिक नभएको भन्दै कडा रूपमा आलोचना गर्दै आएका थापाले सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा थप संकट उत्पन्न भएको छ । 

बिहीबार लोकतन्त्र संवाद केन्द्रले काठमाडौंको बुद्धनगरमा लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले, ‘शीर्ष नेतृत्व वैधानिक छ तर वैध छैन, वैध र वैधानिक हुने कुरा फरक हो, हाम्रा केही आधारभूत कुराहरू छन्, त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिनेछौँ, पर्‍यो भने सरकारबाट बाहिर जान्छौँ, यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ ।’

प्रधानमन्त्री ओलीलाई इंगित गर्दै थापाले नागरिकहरूमा बेचैनी र असन्तुष्टि बढेको र सो बेचैनीको कारण सरकारको ड्राइभिङ सिटमा देखिएको बताए । ‘असन्तुष्टि र बेचैनी के कारणले बढिरहेको छ भने जसको कारणले बेचैनी भएको छ, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन्, अब यो गाडी तिमीले चलाएर हुँदैन भनिरहेका छौँ, यसका लागि काम गरिरहेका छौँ,’ उनले भने ।

त्यसो त अहिले कांग्रेस नेताहरूले खुलेरै ओली नेतृत्वको सरकारको कार्यशैली ठिक नभएको हाकाहाकी भन्दै आएका छन् । पार्टी र नेताहरूबिच भएको सहमति कार्यान्वयन नभएको र कतिपय विषयमा ओलीकै कारण दूरी बढ्दै गइरहेको कांग्रेस नेताहरूको बुझाइ छ ।

उता, कांग्रेसले समर्थन फिर्ता लिने र सरकार ढल्नसक्ने संकेत पाएका प्रधानमन्त्री ओलीले एमालेले सधैँ सरकार बनाऔँ र सरकार बचाऔँ भनेर नहिँडेको दाबी गरेका छन् । बिहीबार एमालेद्वारा काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित युवा सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेले सरकार बनाऔँ, सरकार बचाऔँ भनेर हेरिरहेको हुँदैन, नेकपा एमालेले सधैँ चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौँ र ८४ को चुनाव भनिरहेका छौँ, ढुक्कले मिसन ८४ मा लाग्नुस् ।’

एमालेले सधैँ सरकार बचाऔँ भनेर नहेर्ने बताउँदै उनले सधैँ चुनाव हेर्नुपर्ने बताए । उनले एमालेका लागि सरकार चिन्ताको विषय नभएको समेत बताएका छन् ।

‘एमालेले सरकार हेरेको छैन, जहिल्यै पनि चुनाव हेरेको छ, अहिले एमालेको विरुद्धमा खनिएका छन्, यत्तिकै होइन हाम्रो राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले खनिएका छन्, हाम्रो जनपक्षीयताको कारणले र लोकतान्त्रिक आचरणको कारणले अनि देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन्, दिनैपिच्छे अनेक प्रकारका भ्रम फिँजाउन खोजेका छन्, हरेक दिन सरकार जान्छ, सरकार जान्छ भन्न थालेका छन्,’ उनले भने ।

एमाले र कांग्रेसको संयुक्त सरकार एउटा सङ्कल्पसहित बनेको सरकार भएको र यसले स्थिरता र स्थायित्व लिएको उनले बताए ।

कांग्रेस र एमालेबिचमा गत १७ असारमा भएको सातबुँदे सहमतिपश्चात् ३० असारमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । ओली र देउवाले संसद्को बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । यो कुरा प्रधानमन्त्री ओलीले पटक–पटक सम्झिँदै आएका छन् । तर, कांग्रेस नेताहरूले ओलीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै आएका छन् । प्रधानमन्त्री ओलीसहित बहुमत मन्त्रीहरू कार्यसम्पादन मूल्यांकनमा असफल भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending