Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

मधेशमा गुन्जिन छोड्यो होलीको ‘जोगिरा’

खबरडबली संवाददाता

धनुषा ।    ‘कौनतालपर ढोलक बाजे कौन ताल मृदंग ?
          कौनतालपर गोरिया नाचे कौन तालपर हम ?
          जोगिरा सररर...’

(कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा)

वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेमभाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ। होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ। मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होली पर्व खेल्नेहरूबिच सदभाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साह बताउँछिन्। उनले भनिन्, ‘होली पर्व र संगीतबिच गहिरो सम्बन्ध हुन्छ। संगीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन। भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो।’

मिथिला नगरपालिका– २ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतोले पुर्ख्यौली बाजा मृदंग बजाई फागु गीत (जोगिरा) गाउन नपाएकामा दुःखी मनले भने, ‘पहिले यस्ता जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भएकोबारे गीत गाएर जानकारी दिने परम्परा थियो, तर अहिले गीत गाउने बुढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदंग नै बज्छ, न त फागु गीत नै गाइन्छ।’

‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ, न जोगिराका स्वर नै सुनिन्छ,’ वर्षौँदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर कुचाइटोलका ७५ वर्षीय रामभरोसी यादवले भने। उनले भने, ‘मेरा समूहका धेरै साथीको मृत्यु भइसक्यो, बाँचेका हामीहरू पनि बुढा भएर थलिएका छौंँ, अझै गाउने रस छ, तर साथ दिने कोही छैनन्।’ वसन्तपञ्चमीसँगै फागु पर्वको सन्देश छर्ने जोगिरा अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।

हरिहरपुरका ६५ वर्षीय रामदुलार महतोले आफ्नै शैलीमा जोगिरा सुनाए,
किनका के हाथकनक पिचकारी,
किनका के हाथअबिर झोरी ?
रामजी के हाथ मेंकनक पिचकारी,
सियाजी के हाथअबिर झोरी ‘जोगिरा सररर...’

(कसको हातमा सुनजडित पिचकारी (लोला) छ र कसको हातमा अबिरको झोला ? रामजीको हातमा सुनजडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला)

यस्ता पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा अब मिथिलाञ्चलमा सुनिन छाडेका छन्। होलिया (फागु गीतगाउने गायक)का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरू बताउँछन्। सामाजिक छुवाछुत, ठूला–साना जात र भिन्न धर्म–संस्कृतिप्रति माया गर्दै सामाजिक सदभाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ। तर, यसको सौन्दर्यको महत्त्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्णले चिन्ता व्यक्त गरे।

मिथिलाञ्चलमा वसन्तपञ्चमीदेखि होलीगीत सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका– ९ कञ्चनवनमा परिक्रमा यात्रीले एका–आसमा रङ अबिर खेलेपछि होली पर्व मनाउन थालिने परम्परा छ। पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठुलो हुँ भन्ने घमण्ड गर्थे। उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए। हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँगै आगाेमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन। सोही परम्परालाई निरन्तरता दिँदै हिन्दु समाजमा फागुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने र भोलिपल्ट होली खेल्ने चलन रहिआएको भनाइ छ।

जनकपुरधाम– १२ का सतिशलाल कर्ण भन्छन्, ‘होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार तथा उन्मुक्ति थियो, तर अब उच्छृंखल गीतहरू आएकाले होलीमा माधुर्य र प्रेमभाव मिसिएको गीत बिरलै सुन्न पाइन्छ।’ दोहोरी गीतझैँ गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेशका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो, तर अहिले ती गीत भने लोप हुने अवस्थामा पुगेका छन्। नवयौवना मात्र नभई होलियाबिच नै ठट्टा गर्ने नाताबिच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक हुन्न।

क्षीरेश्वरनाथ– ७ हरिहरपुरका रामलाल महतोले भने, ‘होलीको पौराणिकता अब हराइसकेको छ। दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ। होलीको तर्क, दर्शन, मौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा संकीर्णता छाएको छ। पौराणिकतासँग जोडिएको होली गीत हराउँदै गइरहेको छ।’

पहिलेपहिले बुढापाकाले रात परेपछि गाउँको बिचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रूपमा होली गीत जोगिरा गाउने गरेको सखुवाबजारका ७० वर्षीय सत्यनाराण सिंह बताउँछन्। अब त्यो समय हराएर गएको छ। अधिकांश युवा कामका लागि खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिकाका पर्वताका अमरलाल कर्ण भन्छन्, ‘अबको होली प्रेम र सदभावको नभएर वैमनश्यता पूर्णतामा पुगेको छ। भाङको ठाउँमा रक्सी, प्रेम र सदभावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ।’

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्त्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ। फागु पर्व सबै जातजातिले प्रेम र सदभावका साथ मनाउँदै आइरहेका छन्। पहिलेका होली गीतमा धार्मिक तथा सदभावको सन्देश बढी पाइन्थ्यो। अब उच्छृंखल गीत बजारमा बढी पाउन थालिएको छ। यस्तो गीतमा अश्लील शब्द बढी भएको सखुवाबजारका रामकृपाल जयसवालको भनाइ छ।

मिथिलाको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रूपमा ग्रामीण होलीको महत्त्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ। पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप र राम–सीता, शिव–पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो। अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृंखलता, अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको आकर्षण समाप्त हुँदै गएको कापडीको भनाइ छ।

गाउँघरमा आजभोलि होलीका सांस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ। वसन्त ऋतुको आगमन सँगसँगै वसन्तोत्सव पर्वका रूपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ ध्यान दिनुपर्ने साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्। ‘होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून्। होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासी जस्तो’ उनी भन्छन्। तराई–मधेश क्षेत्रमा होली पर्वमा गाइने जोगिराको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप)ले गाउँगाउँबाट होलियाहरूलाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE