उदयपुर । उदयपुरस्थित यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म ४ करोड ९८ लाख १० हजार ९ सय २९ रुपैँया सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख गोपाल दाहालले साउनदेखि मंसिर मसान्तसम्म ३ करोड ९१ लाख ८२ हजार ८ सय २० रुपैँया राजश्व सङ्कलन गरेको बताए । पुसमा मात्र १ करोड ६ लाख २८ हजार १ सय १ रुपैँया सङ्कलन गर्न सफल भएको दाहालले जानकारी दिए । उनका अनुसार माघसम्म सरदर सङ्कलन हुँदै आएको राजश्व पुसमा उत्साहजनक रुपमा बढेका हो ।
प्रमुख दाहालका अनुसार कार्यालयले राजश्व सङ्कलनको माध्यम सवारी साधन दर्ता, नामसारी, नवीकरण, सवारी ठाउँ सरुवा, दर्ता खारेज, लगत कट्टा, रुट इजाजत वितरण, रद्ध तथा नवीकरण, सवारी जाँचपास, प्रतिलिपी जारी, सवारी अनुमतिपत्र (लाईसेन्स) जारी र नवीकरण नै हुन् ।
विभिन्न ५ शीर्षकमा राजश्व सङ्कलन गर्ने कार्यालयले चालुवर्षको यो अवधिमा सबभन्दा बढी सवारी साधन करवापत प्राप्त गरेको छ । यो शीर्षकमा कार्यालयले ६ महिनामा ३ करोड ८६ लाख २४ हजार २ सय ४२ रुपैँया प्राप्त गरेको दाहालले बताए । दोस्रो ठूलो राजश्व आकार लाईसेन्स वितरण, नवीकरण र ब्लुबुक सम्बन्धी दस्तुरबाट प्राप्त भएको छ । सो शीर्षकबाट कार्यालयलाई ६ महिना अवधिमा ९४ लाख ३५ हजार ३ सय ६५ रुपैँया प्राप्त भएको दाहालले बताए ।
तेस्रो ठूलो राजश्वको रकम १६ लाख ७८ हजार ८ सय ३३ रुपैँया यातायातक्षेत्रको आमदानी शीर्षकमा सङ्कलन भएको छ । अघिल्लो महिना यातायातक्षेत्रको आमदानीबाट १३ लाख ९६ हजार ६ सय ८३ प्राप्त गरेकोमा पुसमा २ लाख ८२ हजार १ सय ५० थपिएको छ । व्यवसाय दस्तुर शीर्षकमा ६१ लख ८ सय ५० रुपैँया जमा भएको छ ।
उदयपुरबाहेक खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालाई पनि सेवा प्रवाहको सुविधा दिने उदेश्यले स्थापित यस कार्यालयमा सवारीसम्बन्धी काम लिएर आउनेको सङ्ख्या निकै रहेको सूचना अधिकारी गोविन्द तिम्सीनाले बताए । उनका अनुसार लक्षित जिल्लाहरुबाहेकबाट पनि बाक्लै सङ्ख्यामा लाभग्राही आउने गरेका छन् ।
सूचना अधिकारी तिम्सीनाले हालसम्म कार्यालयमा बस, ट्रक, टिफर, ट्याक्टर, जीप, कार, भेन, पेट्रोल टेम्पो, अटो रिक्सा, मोटरसाईकल र स्कुटर दर्ता, नवीकरण, ठाउँ सारी र खारेज गर्ने काम हुँदै आएको छ । अनलाईन प्रविधिबाट काम हुने भएकाले सवारी दर्ता, नवीकरण, ठाउँ सारी, दर्ता खारेज, लाईसेन्स लिने र नवीकरण गर्ने लाभग्राही जुनसुकै जिल्लाबाट आए पनि सेवा दिदै आएको तिम्सीनाले बताएका छन् ।
यस कार्यालयमा यो आर्थिकवर्षको ६ महिना अवधिमा ट्रक ६ वटा, टिफर एउटा, बस ८, जीप ७, पिकअप ५, पेट्रोल टेम्पो ३४, इरिक्सा ९७ वटा दर्ता भएका छन् । त्यस्तै मोटरसाईकल ८ सय ३७, स्क’टर २ सय ३१, र विद्युतीय स्कुटर एउटा दर्ता भएको छ । हालसम्म विभिन्न थरीका सवारी दर्ता सङ्ख्या १० हजार ५ सय ६३ पुगेको तिम्सीनाले बताएका छन् ।
प्रतिकृया लेख्नुहोस्: