Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

गाडीभन्दा पहिल्यै गुड्थ्याे नेपालमा रेल

साढे छ दशकअघि नै चल्थ्यो भीमनगरदेखि धरानको घोपा र चतरासम्म ढुङ्गेरेल

भीमनगरदेखि धरानको घोपासम्म कुद्ने रेलको सर्दुखोलामा रहेकोे भग्नावशेष ।
खबरडबली संवाददाता

सुनसरी  । यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए ।

सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै ताजै छ तर युवापुस्ताले रेल चलेको देख्न पाएनन् ।

नेपालको पूर्वी क्षेत्रमा रेल गुड्न सक्ने सम्भाव्यतालाई ढुङ्गेरेलको इतिहासले पुष्टि गरेको छ । विसं २०१६ देखि २०४५ सम्म सञ्चालित ढुङ्गेरेल ढुङ्गा ओसार्ने प्रयोजनले सञ्चालन भएको थियो । 

विसं २०११ वैशाख १२ गते (२५ अप्रिल सन् १९५४) मा नेपाल र भारत सरकारबिच भएको कोशी सम्झौतापछि विसं २०१६ देखि कोशी ब्यारेज पुल निर्माण गर्न आवश्यक ढुङ्गा, गिट्टी ढुवानी गर्न रेल चलाइएको थियो । 

गाडीभन्दा पहिल्यै रेल गुड्यो

ढुङ्गा ओसार्नका लागि ल्याइएको रेलबाट कोशी किनार आसपासका बासिन्दा धरानदेखि भीमनगरसम्म आवतजावत गर्ने गरेको जानकारहरू बताउँछन् । चतरादेखि भीमनगरसम्म रेलमै चढेर आवतजावत गर्ने गरेको अनुभव ८५ वर्षीय चन्द्रबहादुर कार्कीसँग रहेकेा छ । उनले उत्साहीत हुँदै भने, “रेलमै चढ्नका लागि भोकतिर्खा नै माया मारेर कुदिन्थ्यो । बसभन्दा पहिला रेल चढियो ।”

४७ किलोमिटरको दुरीमा कोइला र पानीबाट रेल चल्थ्यो । १० भन्दा बढी डब्बामा ढुङ्गा ओसार्ने गरेको रेलमा एउटा ड्राइभर, रातो र हरियो झन्डा बोक्ने एकरएक जना कर्मचारी हुन्थे । धरानको फुस्रेका पहाडबाट घिर्लिङ (रोपवे) को सहायताले ल्याइएका ढुङ्गा रेलवे चोकबाट कामदारले रेलमा ढुङ्गा चढाउने  गर्थे । रेलबाट दैनिक ओसारिएका ढुङ्गा सम्झौता अनुसार ब्यारेज पुल बनाउन भीमनगर ल्याइन्थ्यो ।

प्रकाशपुर धरहरा टोलका ७० वर्षीय नेत्रबहादुर घिमिरेका अनुसार केही यात्रु रेल चढेर आनन्द लिनकै लागि ढुङ्गामाथि बसेर पनि भीमनगर जान्थे । भीमनगरबाट छुट्ने ढुङ्गेरेलको स्टेसन कुशाह, मधुवन, राजाबास, चक्रघट्टी, चतरा, बाङ्गे, घोपा क्याम्पमा रहेको थियो । भीमनगरबाट छुट्ने रेल खाली हुने भएकाले धरान जाने यात्रु बोकेर जान्थ्यो । फर्कंदा घोपा र चतराबाट डब्बाभरि ढुङ्गा बोकेर फर्किन्थ्यो ।

५० पटकसम्म रेलमाथि चढेको अनुभव बटुलेका चतराका युवराज भट्टराईले चेप्टा ढुङ्गामाथि भए पनि छुक छुक गर्दै चल्ने रेलमा आफ्ना साथीसँग भीमनगरसम्म पुग्ने गरेको स्मरण गरे । उनले भने, “रेलका डब्बाभरि टनाटन ढुङ्गा, ती ढुङ्गामाथि मान्छे बसेका हुन्थे । हामी मात्रै होइन, रेल चल्ने आसपासका बासिन्दा रेल चढ्न हुरुक्क हुन्थे । ढुङ्गामाथि बसेर रेलमा गरेको यात्रा अविस्मरणीय छ ।”

चोरियो डब्बा र लिक

२०४५ सालमा ढुङ्गेरेल बन्द भएपछि रेलका डब्बा र लिक चोरी भए । अहिले रेल कहाँबाट कुदेको थियो भन्नेसम्म अनुमान लगाउन सकिँदैन । रेल गुडेको केही ठाउँमा बस्ती बसेका छन् । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष देख्न पाइँदैन । ब्यारेजको काम सम्पन्न भएपछि ढुङ्गेरेलको संरक्षण नगरिएकाले यो रेल इतिहासमै सीमित रह्यो । 

गाडी नदेखी रेल चढेका स्थानीयवासीले रेलको कुरा गर्दा गाडी देखेर हुर्किएकाका लागि कहानी जस्तै हुन सक्छ । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष बाँकी छैन । स्थानीय भीष्म कार्कीले भने, “बाबुबाजेकै पालामा चलेको रेल बेला बेला हाम्रो पालामा पनि चल्ने कुरा उठिरहन्छ तर यो विषय कार्यान्वयन भएको छैन । हाम्रा छोरानातिका पालामा पनि यस ठाउँमा रेल कुदेको देख्ने चाहना छ ।”

पर्यटकीय सम्भावना 

पहिले रेल कुद्ने क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र हो । ढुङ्गेरेल जस्तै मिनीरेल सञ्चालन गर्न सके कोशीटप्पु वन्यजन्तु आरक्षण, वराहक्षेत्र र रामधुनी, धरान हुँदै भेडेटारसम्म आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने स्थानीयको भनाइ छ । 

होटेल व्यवसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले चतरा घरनजिकै रेलवे स्टेसन भएकाले फुर्सद हुनेबित्तिकै रेलमा चढेर ब्यारेजसम्म पुग्ने गरेको अनुभव सुनाए । उनले भने, “पुनः रेल चलाउन सके भारतीय पर्यटकको आगमनमा वृद्धि हुन्थ्यो । ओझेलमा परेका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको पर्यटन विकासमा सहयोग पुग्थ्यो ।”

वराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीले वराहक्षेत्रमा रेल चलाउन सके पर्यटन प्रवर्धनमा नयाँ युग थालनी हुने बताए । उनले भने, “पहिल्यै रेल चले पनि रेल चल्ने सम्पूर्ण आवश्यक संरचना पुनः तयार पार्नुपर्ने हुँदा स्थानीय तहले मात्रै चाहेर यो सम्भव छैन । प्रदेश, सङ्घीय सरकार वा निजी क्षेत्रले लगानी गर्नुपर्ने र राज्यले रेलसम्बन्धी नीति निर्माण गरेरै कार्यान्वयनमा जानु पर्छ ।” कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले योजना बनाएर रेल सञ्चालन गर्न सकिने बताए । कोशी प्रदेश योजना आयोगका प्रवक्ता त्रिलोचन न्यौपानेले रेलको चर्चा उठे पनि आवधिक पञ्चवर्षे योजनामा नसमेटिएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

विराटनगर महानगरद्वारा पिपीआर/स्वाइन फिभरविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...

वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे आठ अर्ब बढीको खाद्यवस्तु आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending