Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

मिथिला क्षेत्रमा राखीकाे चहलपहल बढ्यो

खबरडबली संवाददाता

महोत्तरी । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् । 

‘आबन हे सखी, आयल साउनक पूर्णिमा,
भैयाके अबैय याद हे,
भैया नई ऐलौं, निष्ठुर भेला,
निरस भगेल हमर पावन हे !’

(यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्झना आइरहेछ । तर दाजुभाइ भने आउने सोधखबर गर्दैनन्, पर्व मेरा लागि निरस हुने भयो) मिथिलामा अहिले सुनिने धेरैजसो गीत राखी केन्द्रित छन् । 

‘आयल साउनक सुदिन यौ भैया,
राखीमें जरुर अबै यौ,
राखीक पावेन अलै यौं भैया,
कोनाक गेली बिसैर यौ !’

(साउनको त्यो सुदिन पनि नजिकियो, दाजु राखीमा अवश्य आउनु होला है, राखी पर्व आइसक्यो, तपाईँले कसरी बिर्सन सक्नुभएको ?) । कुनै गीतमा पर्व नजिकिएसँगै दाजुभाइ सम्पर्कमा नआएका दिदीबहिनीको विरह छ भने कतिमा अब दाजुभाइ चाँडै भेट हुने अभिलाषा व्यक्त गरिएको छ । 

‘आयल राखीक त्यौहार,
भाइ हमर लाओत बहार,
बध्बै भाइके प्रेमक डोरा स,
होतै सुखक इजहार !’ 

(राखी पर्व आयो, अब मेरो भाइले खुसी दिनेछ, भाइलाई प्रेमको डोराले बाँध्ने छु, यसले सुखानुभूति मिल्नेछ) । साउन शुक्लपक्ष, जसलाई राखीपक्ष पनि भनिन्छ । मिथिलामा अहिले यस्तै गीत सुनिन्छन्, गुञ्जिन्छन् । जसमा दाजुभाइको सौर्य बखान गरिएको हुन्छ । 

प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षावन्धन (राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेलीबीच एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै अहिले राखीको तयारीबारे हुने गर्छ । मिथिलामा यसपालि पर्सि सोमबार राखी पर्व मनाउने तयारी छ । 

मधेसको मिथिला क्षेत्र सांस्कृतिक चाडपर्वको उर्वर थलो हो । मैथिल (मिथिलाका बासिन्दा) सांस्कृतिक चाडपर्व धेरैजसो विद्यापति र मिथिला पञ्चाङ्गको आधारमा मनाउँछन् । यी दुवै पञ्चाङ्गको सुरु महिना साउन हो । वर्षको पहिलो महिना साउन लागेदेखि नै विभिन्न चाडपर्व मनाउँदै आएका मैथिल अहिले साउनको अन्त्यतिर राखी पर्वको तयारीमा छन् । साउनमै शिवभक्तिको साउनेमेला, लगपाँच र मधुश्रावणीजस्ता पर्व मैथिलले मनाइसकेका छन् । अहिले झुला पर्व जारी छ । यो राखी पूर्णिमाकै दिन राति समापन गरिने परम्परा छ । 

सौरमासले साउन सकिए पनि चन्द्रमास गणनाले आउने सोमबारसम्म साउन नै रहन्छ । यहाँ जुडशीतल, विश्वकर्मापूजा र तिलासक्रायतलगायत केही पर्वबाहेक धेरैजसो चन्द्रमास तालिकामै मनाइने गरिन्छ । यसपालिको राखी पर्वको दिन साउन (चन्द्रमासअनुसार)को अन्तिम दिन परेको हुँदा साउने सोमबारीको समापन पनि त्यसै दिन गरिने छ । 

मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै राखीको चहलपहल बढ्न थाल्छ । चिया पसल, पान पसलदेखि ठुल्ठूला व्यापारिक प्रतिष्ठान र चोकचोकमा राखी गीत गुञ्जँदाछन् । सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने  यो पर्वको चहलपहल देखिँदो छ । पर्वको तयारीले अहिले मिथिला क्षेत्र राखीमय बनेको छ । अहिले पर्व आउन दुई दिनमात्र बाँकी छँदा मिथिलानी (मिथिलाका नारी) आफ्ना दाजुभाइसँग पर्वविशेषको भेटघाटको टुङ्गो गर्न मोबाइल र फोनको कुराकानीमा व्यस्त देखिन्छन् ।

“पावैन त आब आयबगेल, मद्रासमें रहल भाइके खबर कैली, ओ अईबेर आओत” (पर्व त अब आई नै हाल्यो, मद्रासमा रहेको भाइलाई खबर गरेँ, ऊ यसपालि आउँछ रे) महोत्तरीको भङ्गाहा–५ राजपुरकी हरिप्रिया महतो खुसी हुँदै भन्नुहुन्छ, “आब भाइके पहनाववाला राखी आ मरमिठाइ जुटेवाक तयारीमे लागल छी” (अब भाइलाई बाँधिने राखी र उसलाई ख्वाइने मरमिठाइको जोरजाममा लागेकी छु) ।

मिथिलामा विवाहित चेलीले आफ्नो अनुकूलताअनुसार घरमै दाजुभाइ बोलाएर वा माइत गएर राखी मनाउन सक्ने चलन छ । त्यसैगरी अविवाहित चेलीबेटी पनि दाजुभाइलाई राखीको निम्ता दिँदै इच्छित दक्षिणा पाउनपर्ने ठट्टा मिसाउँदै भेटिन्छन् । पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिदो छ । मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदी बहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका जानकार बताउँछन् । 

पर्वले दिदीबहिनीप्रतिको चाहना र प्रेम गाढा बनाउने बर्दिबास–२ का बासिन्दा महेशकुमार झा बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरहरूले पर्व विशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी यस्तै कथावस्तुका सिनेमा चलाउँदैछन् ।  चोकचोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतमा बटुवा पनि झुम्ने गरेका देखिदो छ । दिदीबहिनी अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई खुवाइने मिष्टान्न परिकारबारे योजना बुन्दैछन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सदको चाँजो र उनीहरूलाई दिइने दक्षिणाको जोरजाममा लागेका छन् । 

घरबाट काम विशेषले टाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले  दिदीबहिनीलाई फुरुङ्ग बनाएको छ । “भैया दिल्ली स पावैनलेल ऐवाक निश्चित भेल” (दाजु राखी पर्वका लागि दिल्लीबाट आउने कुरा निश्चित भयो) गौशाला–४ की पवित्री सदा भन्छिन्, “अईबेर खुसी स राखी पावैन मनायब” (यसपालि हाँसीखुसी पर्व मनाइन्छ) ।

पर्वमा राखीको कारोबार गर्ने व्यापारीहरू उत्तिकै व्यस्त देखिएका छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको ब्यापारी बताउँछन् । पर्व अब केही दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न खालका राखीको माग र आपूर्तिका कामले फुर्सद नभएको बर्दिबासचोकका शृङ्गार महलका व्यापारी श्यामकुमार महतो बताउँछन् । 

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने चलन बसेको मैथिल जनविश्वास छ । 

पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे र भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरू र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको बर्दिबास जनता बहुमुखी क्याम्सका प्राचार्य तेजबहादुर खड्का बताउँछन् । पर्वमा दिदीबहिनी नहुने पुरुष  र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको मैथिल बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन यहाँ अझै देखिन्छ । 

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधीदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनुछ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभइ इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकाहरूलाई राखी बाँधीदिन पर्वको तयारीमा लागेका छन् । 

पछिल्ला दिनहरूमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरूले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने गरेबाट यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको छ । यसले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव वृद्धिमा सहयोग पुग्ने महोत्तरीकै सम्सी–६ का इस्लाम धर्मावलम्बी सामाजिक कार्यकर्ता इम्तियाज अहमद बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending