Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता- भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माण गर्दै

खबरडबली संवाददाता

जाजरकोट। जाजरकोट भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा राजनीतिक दल सक्रिय भएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन्।

तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन सुरु गरिसकेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माणलगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई त्यहाँ खटाउन थालेका हुन्।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवास निर्माण गरेको छ। टोलीले नलगाड नगरपालिका-५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माण सुरु गरेको थियो।

टोलीले शुक्रबारसम्म श्रमदान गरेर एक सयवटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए।

टोलीमा पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता-कार्यकर्ता रहेका थिए।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो। कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्ण गरेको थियो।

नेता पौडेलका अनुसार टोलीले एक सयवटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि आवश्यक जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाइएको छ। आवास निर्माणको सरकारी मापदण्ड बने पनि सोअनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ।

नेकपा (एमाले)ले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएर परिचालित भएको बताएको छ। शुक्रबार एमालेको भातृ संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब एक सय जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ।

उक्त टोलीले शुक्रबार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३ थाप्लेका भग्नावशेष घरमा सफाइ अभियान चलाएको छ। एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ।

“शुक्रबार नै एक सय जना फिल्डमै खटिसक्नुभएको छ, बाँकी सबै गरेर ११ सय खटाउने लक्ष्य छ”, उनले भने, “खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन्। अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउनेलगायतका काम गर्नेछन्।” प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ता त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाहले बताए।

नेकपा (माओवादी केन्द्र)ले तीन हजार स्वयंसेवक परिचालन गरेर अस्थायी संरचना निर्माणमा जुटेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले बताए। जाजरकोटबाट मात्र पाँच सय स्वयंसेवक खटिएको उनले जानकारी दिए।

सबैभन्दा बढी प्रभावित ठाउँमा खटिएर काम गरिएको माओवादी केन्द्रका नेता राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए। शर्माले आफू कुशे गाउँपालिकाको विभिन्न ठाउँमा खटिएकोसमेत बताए।

भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माण गर्दै

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ता यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन्। अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा विद्यार्थी नेता, कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएका हुन्।

उनीहरूले भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने, पीडितका लागि अस्थायी टहरा निर्माण गर्नेदेखि भत्किएका सार्वजनिक संरचना पनि पन्छाउने काम गरिरहेका छन्।

अध्यक्ष सिंहले यतिबेला कर्णालीबाट विद्यार्थी टोली खटिसकेको र भोलिसम्म लुम्बिनीबाट पनि विद्यार्थी टोली प्रभावित क्षेत्रमा खटिने बताए। अबको एक महिना ‘जनताको संकटको सारथी’ भएर अखिल क्रान्तिकारी पुनःनिर्माणमा सक्रिय हुने उनको भनाइ छ। संगठनका केन्द्रीय पदाधिकारी पनि प्रभावित क्षेत्रमा खटिएका छन्।

“हामीले अहिले जनताको घरघरमा पुग्ने, सबैभन्दा बढी सहयोग के आवश्यक हो, उहाँहरूकै चाहनाअनुसार काम गरिरहेका छौं”, अध्यक्ष सिंहले भने, “उहाँहरूको माग भनेको अहिले भत्किएका प्रयोग गर्न नमिल्ने घर पन्छाएर क्लियर गरिदिनुपर्ने छ। हामीले त्यो काम गरिरहेका छौं। सबै जनता पालमुनि छन्, बिरामी, बालबालिकालाई निकै समस्या छ। पालले चिसो छेक्ने अवस्था नै छैन।”

अखिलले तीनवटा कामलाई वर्गीकरण गरी काम गरिरहेको उनले बताए। जाजरकोट पुगेको टोलीले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्ने भेरी नगरपालिका-१ को रिम्ना क्षेत्रमा काम गरिरहेको छ।

अखिल क्रान्तिकारीका नेता-कार्यकर्ता आफ्ना लागि टेन्टदेखि खाद्य आफैं बोकेर त्यहाँ खटिएका छन्। पानीबाहेक सबै आफैँले गर्ने गरी व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा खटिइएको सिंहको भनाइ छ।

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर ५० हजार रकम दिने भने पनि अहिलेसम्म नागरिकसमक्ष उक्त रकम पुग्न नसकेको पीडितको गुनासो छ। अध्यक्ष सिंहका अनुसार केन्द्रको कार्यविधिले स्थानीय सरकार निकै अलमलमा परिरहेका छन्।

सकेसम्म प्रक्रियालाई छोट्याई जनताको हातमा सहज तरिकाले रकम पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ। “५० हजार आउँछ भन्ने कुरा जनतालाई थाहा छ तर, हातमा परिरहेको छैन”, उनले भने, “कुनै आयस्रोत नभएका नागरिकलाई निकै गाह्रो स्थिति छ।”

यता नेकपा (एकीकृत समाजवादी)ले मङ्सिर ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाएको छ। समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार एक सय ५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ।

“ती भनेका संरचना निर्माणमा दक्ष भएका व्यक्ति हुन्”, थापाले भने, “युवासंघको नेतृत्वमा नै त्यहाँ टोली परिचालन गरिने छ। साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्नुहुनेछ।” टोलीले आफ्नै खर्चमा काम गरिरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending