काठमाडौँ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अब सँगै अगाडि बढ्न नसक्ने भनी दिएको अभिव्यक्ति साँचो रहेको बताएका छन् ।
सोमबार बिहान आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन् ।
विभिन्न सञ्चार माध्यमहरुमा आएजस्तो प्रधानमन्त्री ओलीले अब सँगै अगाडि बढ्न नसक्ने भनी दिएको अभिव्यक्ति साँचो रहेको श्रेष्ठले बताए । अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई पार्टीका कुनै पनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको उनले बताए ।
आइतबार अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनै पनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको बताए । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘हामीले ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने, समाजिक आर्थिक रुपान्तरण गर्ने, समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको अधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो । त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटि अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं । बैठक राखेर सबै पाटापक्षमा छलफल गरौं, खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं, पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौं भनेर हामीले भनेका हौं । त्यसपछाडि उहाँहरुको कुराकानी भएको स्थिति छैन ।।
उनले भने, ‘अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनुभएअनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । बैठक किन बस्न काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिनँ तपाईंहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस्, स्थायी कमिटीबाट निर्णय गर्नुस्, सचिवालयको निर्णय गर्नुस् तर बहुमतले गरेको निर्णय म मान्दिनँ । भनेपछि तपाईहरुले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दाभन्दै पनि तपाईंहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईंहरु तयार हुनुहोस् । अथवा सल्लाह गरेर अलगअलग होऔं । अब एकैठाउँ बस्न सकिन्न भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनुभएको थियो ।’
प्रतिकृया लेख्नुहोस्: