घोडाघोडी । “आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।” उहाँ रुञ्चे स्वरमा भनिरहेका थिए । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूरपश्चिम प्रदेशका पहिलो व्यक्ति कैलालीका लम्किचुहा नगरपालिका –९ प्रतापपुरका राज विकलाई आज आमा खुवाउने मेसो पनि मिलेन ।
“लाखौँ मानिसको ज्यानसमेत लिइसकेको भाइरसको सङ्क्रमण आफूमा फैलिएको थाहा पाउँदा शुरुमा आफ्ना लागि यो जीवन यति नै रहेछ भन्ने सोचेको थिएँ तर कोरोनाको सङ्क्रमण देखिएको भनेर अस्पताल भर्ना गरेको एक हप्ता भइसक्दा पनि कुनै लक्षण नदेखिँदा भने बाँच्ने आशा जागेर आइदियो”, विकले भने, “अस्पतालमा चिकित्सकहरूको सल्लाह र नर्सहरूको रेखदेख तथा उनीहरुले प्रदान गरेको हौसलाबाट मलाई म बाँच्छु भन्ने लाग्न थाल्यो ।”
क्वारेन्टाइनमै परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनको आत्मविश्वास अझै बढ्यो । “मलाई लाग्न थाल्यो, साँच्चै मलाई केही भएको छैन । सबै डाक्टर तथा नर्सले मलाई अझै आत्मविश्वास बढाउन प्रेरित गर्दाखेरि लाग्थ्यो उनीहरू मेरा भगवान् भएर आएका छन् । अहिले घरमा पनि म डाक्टरहरूको सल्लाहअनुसार अलग्गै बसिरहेको छु ।”
दोस्रो र तेस्रो पटक रिपोर्ट नेगेटिभ आउँदा उनले पहिलो पटक आमाबुबालाई सम्झे । “एक्लै थिएँ खुशी व्यक्त गर्न भक्कानिएर रोएँ अनि आमालाई फोन गर्दाखेरि आफू कतै सपनामा त छैन कि भन्ने पनि लाग्यो ।” उनलाई जब अस्पतालबाट घर पठाउने कुरा बताइयो त्यति बेलाको आफ्नो खुशीलाई आफूले शब्दमा व्यक्त गर्न नसक्ने उनले बताए । अस्पताल बसाइका क्रममा उहाँले जानेको र बुझेको एउटै कुरा थियो आत्मबल बलियो बनाउनुपर्छ । साथसाथै सरसफाइ तथा सामाजिक दूरी कायम गर्ने कुरा पनि कोरोनाबाट बच्ने महत्वपूर्ण उपाय हुन् ।
“अहिले घर आएको छु । अलग्गै बसिरहेको छु । चिकित्सकले एक हप्ता भन्नुभएको छ त्यस बेलासम्म अलग्गै बस्छु तर लापरवाही गर्दिन । चिकित्सकको समयसीमा सकिएको पहिलो दिन आमालाई अँगालो मारेर बेस्सरी रुने मन छ”, उनले भने। उनी सङ्क्रमित भएर अस्पताल हुँदा आफूभन्दा आफ्नी आमा धेरै पीडामा थिए । आमाकै आशीर्वादले आफूले कोरोनालाई जितेको उनको विश्वास छ ।
छोरा अब फर्केर आउला भन्ने आफूले नसोचेको राजुकी आमा भागादेवीले बताए । संसारलाई रुवाइरहेको सो रोग आफ्नो छोरालाई पनि लागेपछि छोरा गुमाउनुपर्ने भयो भन्ने पीडाले उनलाई सताइरहन्थ्यो । जब छोरा सञ्चो भएर घर आउने कुरा थाहा भयो उनका आँखाबाट खुशीका आँशु झरे । “छोरा आएपछि छोरालाई काखमा राखेर रुने मन थियो तर डाक्टरहरूले भनेअनुसार एक हप्ता अलग्गै बस्नुपर्नेछ छोराले, त्यसपछि एक पटक मन खोलेर छोरालाई अँगालेर रुनेछु ।”
भारतको मुम्बईबाट गत चैत ११ गते आएका विकलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई यही वैशाख ७ गते सेती प्रादेशिक अस्पतालबाट घर फर्काइएको थियो ।
प्रतिकृया लेख्नुहोस्: