काठमाडौं । सोमबार बिहान काठमाडौंका विभिन्न सञ्चारगृह, प्रमुख राजनीतिक नेताको निवास र व्यावसायिक केन्द्रहरू अगाडि शंकास्पद ढंगले गाडी छाडिएपछि राजधानी दिनभर त्रास र अन्योलमा डुब्यो। एकपछि अर्को स्थानमा प्रवेशद्वार नै अवरुद्ध हुने गरी गाडी पार्क गरेर चालक सम्पर्कविहीन भएपछि सुरक्षा निकायसमेत उच्च सतर्कतामा पुगे।
कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर, हिमालय टेलिभिजन, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवास तथा अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि बेवारिसे अवस्थामा गाडी फेला परेका थिए। सूचना पाएलगत्तै ट्राफिक प्रहरीले क्रेन प्रयोग गरेर ती गाडी हटाएको थियो।
घटनाले सामान्य पार्किङको विषयभन्दा धेरै गम्भीर प्रश्न उठाएको छ। एउटै दिन, एउटै शैलीमा, सञ्चार संस्था र सार्वजनिक चासोका स्थानलाई लक्षित गरेर गाडी छाडिनु संयोग मात्र हो कि योजनाबद्ध मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास ? यही प्रश्न अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ।
घटनापछि नेपाल पत्रकार महासंघले कडा प्रतिक्रिया जनाउँदै यसलाई प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारगृहको सुरक्षाको प्रत्याभूति, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
राजनीतिक वृत्तमा पनि घटनाले तरंग पैदा गरेको छ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य प्रवेशद्वार नै रोजेर गाडी पार्क गरिनु स्वाभाविक घटना मान्न नसकिने बताएकी छन्। उनले यस्तो घटनाको सत्यतथ्य पारदर्शी रूपमा सार्वजनिक गर्न माग गर्दै राज्यका निकायले विश्वसनीय अनुसन्धान गर्नुपर्ने धारणा राखेकी छन्।
नेकपा (एमाले)का सचिव महेश बस्नेतले घटनालाई प्रेसमाथिको प्रतिशोधको प्रयासको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रेस स्वतन्त्रतालाई दबाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्यविपरीत हुने उल्लेख गर्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सरल सहयात्री (पौडेल)ले भने घटनालाई "सांकेतिक आतंक" को संज्ञा दिएका छन्। उनले सञ्चारगृह र सार्वजनिक व्यक्तिलाई लक्षित गरी गाडी छाड्ने शैली कुनै सामान्य घटना नभई नागरिकलाई त्रसित बनाउने सन्देश भएको टिप्पणी गरेका छन्। उनले संसद र सरकार दुवैसँग यसबारे स्पष्ट जवाफ दिन माग गरेका छन्।
घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मौन बस्न सकेन। महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारमाथि कुनै पनि प्रकारको मनोवैज्ञानिक दबाब सिर्जना गर्ने गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न सरकारसँग माग गरिएको छ।
यद्यपि, घटनापछिका विभिन्न राजनीतिक आरोप–प्रत्यारोपबीच अनुसन्धान निकायले अहिलेसम्म कुनै समूह वा व्यक्तिको संलग्नता पुष्टि गरेको छैन। त्यसैले घटनाका पछाडि कसको योजना थियो भन्ने विषय अझै अनुसन्धानकै चरणमा रहेको प्रहरीले जनाएको छ।
कहाँ–कहाँ भेटिए शंकास्पद गाडी ?
अनलाइनखबर – बा १२ च ८५४५
हिमालय टेलिभिजन – बा २ च १२५५
कान्तिपुर पब्लिकेसन्स – बागमती प्रदेश ०१–०३४ च ८४८०
गगन थापाको निवास – बीएसी ९५७५
अनामनगर भाटभटेनी – ०३३ च ४२७५ (हुन्डाई क्रेटा)
राजधानीका विभिन्न संवेदनशील स्थानमा एउटै दिन शंकास्पद शैलीमा गाडी छाडिएको घटनाले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। अब यो घटनाको निष्पक्ष छानबिन गरेर तथ्य सार्वजनिक गर्नु राज्यका लागि केवल कानुनी दायित्व मात्र होइन, नागरिकको विश्वास जोगाउने ठूलो परीक्षा पनि बनेको छ।
प्रतिकृया लेख्नुहोस्: