काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख राजनीतिक नेताको निवास र व्यावसायिक केन्द्रलाई लक्षित गर्दै प्रवेशद्वारमै गाडी तेर्स्याएर चालक सम्पर्कविहीन भएपछि सुरक्षा निकायले ती सबै गाडी क्रेनमार्फत हटायो। तर, गाडी हटाइए पनि एउटा प्रश्न अझै बाँकी छ । यी गाडी कसका हुन् र किन एउटै शैलीमा विभिन्न स्थानमा छाडिए?
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। तर हालसम्म सार्वजनिक भएको विवरणले पाँचवटै गाडीको स्वामित्व र ती गाडीबीचको सम्बन्धबारे थप खोज आवश्यक देखिएको छ।
कान्तिपुरको गेटमा छाडिएको गाडी
सबैभन्दा धेरै चर्चा कान्तिपुर पब्लिकेसन्सको मूलगेटमा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडीले पायो। यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको अभिलेखअनुसार उक्त गाडी रौतहटका व्यवसायी रवि जयसवालको नाममा दर्ता छ। उनी रौतहटको गरुडा नगरपालिकाका एमालेबाट निर्वाचित मेयर कन्थमणिप्रसाद कलवारका छोरा हुन्।
जयसवाल केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि जोडिएका व्यक्ति हुन्। गाडीको स्वामित्व खुले पनि उक्त गाडी घटनास्थलमा कसले पुर्यायो र किन छाडियो भन्ने प्रश्नको उत्तर अझै प्रहरीले दिएको छैन।
अनलाइनखबरको गेट
अनलाइनखबरको कार्यालयअगाडि बा १२ च ८५४५ नम्बरको गाडी पार्क गरेर चालक हिँडेका थिए। यो गाडी कसको नाममा दर्ता छ भन्नेबारे अनुसन्धान जारी छ। प्रहरी र यातायात कार्यालयले औपचारिक रूपमा स्वामित्व सार्वजनिक गरेका छैनन्।
हिमालय टेलिभिजन
हिमालय टेलिभिजनको प्रवेशद्वारमा बा २ च १२५५ नम्बरको गाडी छाडिएको थियो। सञ्चारगृहको मुख्य प्रवेशमार्ग नै अवरुद्ध हुने गरी पार्क गरिएको यो गाडीको स्वामित्व पनि अझै सार्वजनिक भएको छैन।
गगन थापाको निवास
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासअगाडि बीएसी ९५७५ नम्बरको गाडी तेर्स्याएर राखिएको थियो। स्थानीयका अनुसार बिहानैदेखि गाडीले बाटो छेकेपछि घरभित्रका सवारीसमेत बाहिर निस्कन सकेका थिए। प्रहरीले क्रेन लगाएर गाडी हटाए पनि यसको स्वामित्व र उद्देश्य अझै खुलाइएको छैन।
भाटभटेनी सुपरमार्केट
अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि ०३३ च ४२७५ नम्बरको हुन्डाई क्रेटा पनि बेवारिसे अवस्थामा फेला परेको थियो। सार्वजनिक स्थान र भीडभाड हुने क्षेत्र रोजेर गाडी छाडिएको घटनाले थप आशंका जन्माएको छ। यसको स्वामित्वबारे पनि अनुसन्धान भइरहेको छ।
उठेका गम्भीर प्रश्न
एउटै दिन, एउटै शैली र लगभग एउटै समयमा पाँच स्थानमा गाडी छाडिनु सामान्य संयोग मात्र हो कि योजनाबद्ध गतिविधि ? यो अहिलेको मुख्य प्रश्न बनेको छ।
पाँचवटै गाडी कसका नाममा दर्ता छन् ? गाडीका मालिक र चालक एउटै समूहसँग सम्बन्धित छन् कि छैनन् ? घटनास्थलसम्म गाडी कसले पुर्यायो ? सीसीटीभी फुटेजमा के देखिन्छ ? गाडी छाड्ने उद्देश्य केवल पार्किङ थियो वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास ?
स्वामित्व कसकाे ? अनुसन्धानको केन्द्रमा
अहिलेसम्म आधिकारिक रूपमा कान्तिपुर अगाडि छाडिएको गाडीको स्वामित्व मात्र पुष्टि भएको छ। बाँकी चार गाडीको स्वामित्व र चालकबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन।
त्यसैले अब अनुसन्धानको केन्द्र गाडीको स्वामित्व, चालकको पहिचान, सीसीटीभी फुटेज र पाँचवटै घटनाबीचको सम्भावित सम्बन्ध बन्ने देखिएको छ। यी प्रश्नको जवाफ सार्वजनिक नहुँदासम्म ‘बेवारिसे गाडी’ प्रकरण रहस्यमै रहनेछ।
प्रतिकृया लेख्नुहोस्: