Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

खेतमा चिरा, भाषणमा हरियाली: सुक्खा मधेस र चुनावी मौनता

सांकेतिक तस्विर
खबरडबली संवाददाता

महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका माटोले सुक्खाको कथा सुनाइरहेका थिए। “पहिले त यसरी सुक्खा हुँदैनथ्यो,” दिनेश भन्छन्, “चार दिन बोरिङ नचलाउँदा खेतको हालत बिग्रिन्छ।”

करिब एक बिगाहा जमिनमा उखु, गहुँ, काउली, प्याज र लसुन लगाएका उनी बिहान दूध बेच्न बजार पुग्छन्, त्यहीँबाट खेततिर लाग्छन् र साँझ मात्र घर फर्कन्छन्। परिवारले खाना खेतमै पुर्‍याउँछ। तर यति मेहनतका बाबजुद उब्जनी घट्दो छ, खर्च बढ्दो छ, र भविष्य अनिश्चित।

बोरिङको भरमा बाँचेको खेती

“यहाँका खेत बोरिङकै भरमा चलेका छन्,” दिनेश भन्छन्, “पानी नभए हरियाली हुँदैन।”
औरही वरपरका किसानहरू गत वर्षको खडेरी सम्झेर अझै त्रसित छन्। यसपालि पनि वर्षा नपर्ने हो कि भन्ने चिन्ता छ। जमिनमुनिको पानी बिजुली पम्पले तानेर सिँचाइ गर्ने उपाय महँगो र अस्थायी बन्दै गएको छ।

स्थानीय किसान दिपेन्द्रकुमार यादवका अनुसार, पछिल्ला ८–१० वर्षमा खडेरी क्रमशः बढेको छ। “पहिले फागुन–चैतसम्म फाट्टफुट्ट पानी पर्थ्यो,” उनी भन्छन्, “अहिले वर्षायाम सकिएपछि हिउँदे झरी हराउँदै गएको छ।”

साउदी अरबको गर्मी झेलेका सुरेश यादवलाई गत वर्षको खडेरीले उस्तै तातोपन र निराशा सम्झायो। “एक दिन पानी हाल्यो, अर्को दिन सुक्छ,” उनी भन्छन्, “बोरिङले कति दिन धान्छ?”

दिगम्बर चौधरीका अनुसार, ५०–६० फिट खनेर भेटिएको पानी आर्सेनिकयुक्त हुन्छ। सुरक्षित पानीका लागि २०० फिटभन्दा बढी खन्नुपर्छ—जसको लागत ५० हजारदेखि एक लाख रुपैयाँसम्म पुग्छ।

सिँचाइ, मल र बीउ—तीनै संकट

३९ वर्षीय किसान सन्तोष मण्डलका अनुसार, मोटर काँधमा बोकेर खेतमा नपुगेसम्म खेती सम्भव छैन। “दिनभर पानी हाल्यो, बेलुका मोटर घर ल्यायो,” उनी भन्छन्। बिजुलीको लोड धान्न नसक्दा ट्रान्सफर्मर पटक–पटक पड्किन्छ। डिजेल पम्प चलाउँदा लागत झन् बढ्छ।

दिपेन्द्रकुमार यादव भन्छन्, “मल सहजै पाइँदैन, सिँचाइ महँगो छ, गुणस्तरीय बीउ अभाव छ किसान सबैभन्दा बढी पीडामा छन्।”

उनका अनुसार, हुनेखाने किसानले निजी बोरिङ खन्छन्, नसक्नेले सामूहिक ट्युबवेल चलाउँछन्। तर जमिनमुनीको पानी पनि वर्षेनी तल झर्दै गएको छ।

चुरे दोहन र बदलिँदो वर्षा चक्र

भूसंरक्षणविद् नागदेव यादवका अनुसार, वर्षाको स्वरूप नै बदलिएको छ—लामो खडेरी, छोटो समयको भीषण वर्षा। यसले चुरे बाट गिटी–बालुवा बगाएर तराईमा थुपार्छ। नदीको सतह अस्वाभाविक रूपमा माथि उठ्दा सानो बाढीले पनि खेत डुबाउँछ, तर हिउँदमा पानी भेटिँदैन।

स्थानीयका अनुसार, अव्यवस्थित उत्खनन र रोडा–ढुंगा निकासीले खोलानदीको प्राकृतिक बहाव बिगारेको छ। कुलो मासिएका छन्, पैनी पुरिएका छन्। परिणामतः खेती पूर्ण रूपमा बोरिङमा निर्भर भएको छ।

बहुआयामिक असर

खडेरीले सामाजिक र आर्थिक दुवै असर पारेको छ। एक किसानले घाटा बढेपछि खेत इटाभट्टालाई दिए । ७–८ फिट माटो खनिएपछि वरपरका खेतको सतह असन्तुलित भयो। वर्षामा डुबान, हिउँदमा सुक्खा दुवै समस्या चर्कियो।

दिनेश यादव भन्छन्, “कहिलेकाहीँ त खर्च पनि उठ्दैन। तर खेती छाड्यौँ भने समाजले ‘खेत सम्हाल्न सकेन’ भन्छ।” उनका छोराहरू विदेश गइसकेका छन्। तर उनीहरूका लागि खेत छाड्नु भनेको पहिचान गुमाउनु जस्तै हो।

चुनावी मौनता

निर्वाचन नजिकिँदै छ। उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन्। तर खानेपानी, सिँचाइ, खडेरी र चुरे संरक्षण जस्ता विषय चुनावी भाषणको केन्द्रमा देखिँदैनन्। चुरे संरक्षणमा काम गर्दै आएका नागेश्वर यादव चेतावनी दिन्छन् “यदि चुरे दोहन रोकिएन भने ८–१० वर्षमै तराई मरुभूमिकरणको जोखिममा पर्न सक्छ।”

तराई देशको अन्नभण्डार हो। यहाँको जलस्रोत सुक्दा खाद्य असुरक्षा बढ्ने र बसाइँसराइ तीव्र हुने खतरा छ। खेतमा चिरा परेको माटो र चिल्ला चुनावी भाषणबीचको दूरी घटाउने जिम्मेवारी अब नीति र कार्यान्वयनमा निर्भर छ। मधेसका किसानका लागि हरियाली केवल नारामा होइन, व्यवहारमा चाहिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ दलको साझा एजेन्डा सार्वजनिक: बालेन सरकारको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक

काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...

पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा १६ जना घाइते

काठमाडाैँ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गो...

सडक दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली । कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–७ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लम्की ...

अरनिको राजमार्गः आजदेखि दुईतर्फी आवागमन

काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर...

उपत्यकामा रात्रिकालीन बस सेवा सुरु

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ...

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending