Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

निर्वाचनले मुलुकलाई नयाँ युगमा लैजाने छ : प्रधानमन्त्री कार्की (सम्बोधनको पुर्णपाठसहित)

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएको छिन् ।

७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । उनले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गरिन्।

'निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु,' प्रधानमन्त्रीले भनिन्, 'संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबै एकजुट हुन आवश्यक छ ।'

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको 'जेन–जीु युवाहरूको आन्दोलनलाई राज्यले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै युवाको ऊर्जा र नैतिक क्रोधलाई दमन गरेर नभई सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्ने बताईन् । उनले भनिन्, 'हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान र तिरस्कार सहन तयार छैनन् ।'

सम्बोधनका क्रममा उनले जहानियाँ राणा शासन विरुद्ध ज्यान उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्। उनले बुद्धिजीवी, नागरिक समाज र युवा समुदायलाई समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि हातेमालो गर्न अपील गरेको छिन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू,

सम्माननीय उपराष्ट्रपतिज्यू,

सम्माननीय प्रधान न्यायाधीशज्यू,

राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,

माननीय मन्त्रीज्यूहरू,

राष्ट्रिय सभाका माननीय उपाध्यक्ष तथा सदस्यज्यूहरू,

उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू,

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू,

प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिज्यूहरू,

राष्ट्रसेवकहरू,

परिवर्तनको हुटहुटी बोकिरहेको युवा समुदाय,

सञ्चारकर्मी मित्रहरू,

स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।

अभिवादन ।

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको यस अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार, स्वतन्त्रता, सुशासन र समतामूलक विकाससहितको प्रजातन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान् दिन थियो । आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग पनि २००७ सालको राजनीतिक क्रान्ति नै हो । तसर्थ त्यस दिनको सम्झनामा आज उत्सव मनाउन हामी यहाँ उपस्थित भएका छौँ ।

प्रजातन्त्र दिवस मनाइरहँदा हामीले आत्मसमीक्षा गर्नैपर्छ कि— किन २००७ को उपलब्धि २०१७ मा खोसियो?

किन २०३६, २०४६, २०६२/६३ र फेरि २०८२ मा पनि जनता सडकमा उत्रिनुपर्‍यो ?

किन यसपटक कलिला जेनजी युवाहरूले पनि गोलीको पर्वाह नगरी आवाज उठाउनुपर्‍यो ?

उत्तर स्पष्ट छ— हामीले लोकतन्त्रको नारा भट्यायौँ, संविधानमा अक्षरका सुन्दर बान्की सजायौँ तर त्यसको लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गरेनौँ, गर्नै चाहेनौँ । 

सिद्धान्तमा लोकतन्त्र आयो तर व्यवहारमा विभेदलाई नै प्रश्रय दिइरह्यौँ । संविधानमा समानता लेख्यौँ तर संरचनामा असमानतालाई नै जोगाइरह्यौँ ।

एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत–साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य हुनै सकेन । 

यस्ता अपसंस्कृतिले राज्यप्रति विश्वास हराउँछ र विद्रोह जन्माउँछ । यहाँ त्यही भयो ।

बजेट वितरणमा भएको मनोमानीलाई सम्झिऊँ । समानुपातिक निर्वाचन प्रणालीबाट प्राथमिकतासाथ लाभ पाएकाहरुको सूची केलाऊँ । छात्रवृत्ति र रोजगारीमा गरिएको काखापाखा हेरौँ । अनि यहाँ विद्रोह नभएर के हुन्छ? 

जहाँ भुइँमान्छे उपेक्षित छ, सीमान्त नागरिक अपमानित छन् र सत्ताको स्वादमा बिलासी जीवन बिताइरहनेहरुको हैकम चलिरहन्छ, त्यहाँ लोकतन्त्रको आत्मा सुक्दै जान्छ । अझ भन्दा सीमान्तकृत, पहुँचहीन र वञ्चित समुदायमाथि अन्याय, विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन सक्दै सक्दैन । 

भदौ २३ र २४ मा जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन जनताका गुनासा सुन्न असफल संरचनामाथिको प्रश्न थियो । उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोजेको हो । सुशासन र समन्याय खोजेको हो । यसप्रति राज्य उदार मात्र होइन, विनयशील र कर्तव्यनिष्ठ पनि हुनुपर्दछ ।

सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्छ । यही संस्कार विकास गर्नु आजको आवश्यकता हो ।

प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनु हुँदैन । अब त खासमा यो एउटा जीवनशैली हो । यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ । 

दुई छाक टार्नकै लागि सन्तानको लाडप्यारको माया मारेर खाडीको गर्मीमा वर्षौँ बिताउने बाबुआमालाई प्रजातन्त्रको कुनै आदर्श कुराले छुन सक्दैन । बिरामी भएर अस्पतालको बिल तिर्न नसक्दा, पैसाकै कारण राम्रो शिक्षादीक्षा दिन नसक्दा त्यहाँ केको तन्त्र, केको वाद ? 

यी र यस्तै मसिना कुरासँग हामीले ल्याएको व्यवस्थाको औचित्य दाँजेर हेर्न ढिला भइसकेको छ । त्यसैले प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ ।

म स्पष्ट रूपमा भन्न चाहन्छु— युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन । त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।

लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र पनि होइन । लोकतन्त्रले नतिजा दिनुपर्छ । विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो ।

भदौ २३ र २४ का घटनापश्चात् बनेको यस सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको छ । सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा हाम्रा प्रयासहरु अभिमुख छन् । 

यद्यपि, असामान्य अवस्थालाई सामान्यीकरण गर्दै मुलुकमा शान्ति सुव्यवस्था बहाली गर्नु र छोटो समयमा निर्वाचनको समेत सबल वातावरण बनाउनुपर्ने यस सरकारको प्राथमिक कार्यादेश रहेको पनि यहाँहरुलाई विदितै छ ।

हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो । ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरु खाली हुनुको प्रमुख कारण पनि यही नै हो भन्ने निष्कर्षमा म पुगेकी छु । 

तर जवाफदेहिताको आवाज बुलन्द गर्ने युवाको पलायनबाट कसैले राहत महसुस नगरे हुन्छ । प्रत्येक शासकले ख्याल राखून्- हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान, विभेद र तिरस्कार सहन तयार छैनन् । भोलि आउने शासकहरुले युवालाई अपमान र तिरस्कार गरिरहे भने फेरि पनि विद्रोह हुनेछ ।

नेपालको निर्वाचन इतिहासमा विसं २०१५ साल फागुन ७ गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुरुवात भएको ऐतिहासिक तथ्य हामीमाझ छ । तसर्थ आज प्रजातन्त्र दिवस मात्र होइन, निर्वाचन दिवस पनि हो ।

संयोगवश यस वर्ष पनि यसै फागुन महिनाको २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौँ ।

तोकिएकै मितिमा र भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ । यस निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु ।

अन्त्यमा, यस दिवसले हामीलाई संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् । हाम्रो राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बनोस् ।

लोकतन्त्रका लागि जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 

बुद्धिजीवी, नागरिक समाज, जेन-जी युवा र सम्पूर्ण प्रजातन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दछु । 

विभिन्न आन्दोलनका ती वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी सबै एकजुट हुन अपिल पनि गर्दछु ।

धन्यवाद ।

२०८२ फागुन ७

काठमाडौँ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कास्की। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कैदीबन्दी र कर्मचारीहरुले मतदान गर्न पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचन...

देउखुरीको सुकुम्वासीको गुनासो - हामीलाई भोट बैंक मात्रै बनाइयो

देउखुरी। भूमिहीन तथा सुकुम्वासी किसानहरूले राजनीतिक दलहरूले आफूहरूलाई वर्षौंदेखि ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन्। गढवा गाउँ...

निर्वाचनका लागि ६४८ कर्मचारी परिचालन

जुम्ला। मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ । कुल ६ सय ५४ जना...

टुँडिखेलमा विशेष समारोहका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारो...

निर्वाचनले मुलुकलाई नयाँ युगमा लैजाने छ : प्रधानमन्त्री कार्की (सम्बोधनको पुर्णपाठसहित)

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ...

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ। नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ । जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्...

हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो : विश्वप्रकाश शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्: बालेन शाह

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् ।  बुधवार धनगढीमा आयोज...

ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...

कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE