जनकपुरधाम । मधेशका जिल्लाहरू पछिल्ला दिनमा एकपछि अर्को जघन्य हत्याका घटनाले तर्सिएका छन्। ४८ घन्टाभित्र सिरहा, महोत्तरी र बारामा भएका तीन फरक प्रकृतिका हत्याले स्थानीयमा असुरक्षाको गहिरो भावना पैदा गरेको छ। चुनावी माहोल तातिएको बेला भएका यी घटनाले प्रश्न उठाएको छ । मधेश किन यति हिंसात्मक बन्दैछ ? र, यसलाई रोक्न प्रहरी के गर्दैछ ?
१६ माघ दिउँसो सिरहा नगरपालिका–१ मा आफ्नै खेत जोतिरहेका ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात समूहले दुई राउन्ड गोली प्रहार गर्यो । एक गोली छातीमा, अर्को पिठ्युँमा लाग्यो र घटनास्थलमै मृत्यु भयाे । डेढ घण्टापछि मात्र प्रहरीलाई खबर पुग्यो। न प्रत्यक्षदर्शी बोले, न शंकास्पद व्यक्ति चिनियो । सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पाल डर, मौनता र प्रमाण अभावले अनुसन्धान कठिन बनेको स्वीकार्छन् ।
त्यसको केही घण्टाअघि, महोत्तरीको गौशालामा ७३ वर्षीया रासोदेवी यादव उखुबारीमा मृत फेला परिन् । निर्वस्त्र अवस्थामा भेटिएको शवले आशंका थपेको छ। तर पोस्टमार्टम रिपोर्ट नआएसम्म प्रहरी मुख खोल्न चाहँदैन । ‘ठोस प्रमाण भेटिएको छैन,’ महोत्तरीका डीएसपी शैलेन्द्र भट्ट भन्छन्।
माघ १४ कै मध्यराति बाराको परवानीपुरमा भने पारिवारिक द्वन्द्वको क्रूर रूप देखियो। जगरुक मण्डलको घरमा घुसेको समूहले अन्धाधुन्ध हतियार प्रहार गर्दा आमा–छोराको विभत्स हत्या भयो । प्रारम्भिक अनुसन्धानले विवाहेत्तर सम्बन्ध र पारिवारिक तनावलाई कारण देखाएको छ । बुहारी मनिता र उनका कथित प्रेमी धर्मेन्द्र महतो पक्राउ परेका छन्।
यी तीन घटना आपसमा असम्बद्ध देखिए पनि एउटा साझा धागो छ । हिंसाको सहजता, सामाजिक मौनता र अनुसन्धानको चुनौती।
तथ्यांकले के भन्छ?
मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक झन् भयावह छ। चालु आर्थिक वर्षको ६ महिनामै ५६ हत्या। मृतकमध्ये २६ पुरुष, १८ महिला, १२ बालबालिका। जिल्लागत रूपमा सप्तरी (१३) अगाडि, धनुषा र सिरहा (९/९), रौतहट (८), पर्सा (६), महोत्तरी र सर्लाही (४/४), बारा (३)।
अघिल्ला वर्षहरू हेर्दा प्रवृत्ति झन् स्पष्ट हुन्छ । याे भन्दा अघिल्ला वर्षहरुमा आर्थिक वर्ष २०७९/०८० मा १०९ जनाकाे हत्या भएकाे देखिन्छ । यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा १२७ जनाकाे हत्या र आर्थिक वर्ष २०८१/०८२मा ९९ हत्या भएकाे प्रहरीकाे तथ्याङ्क रहेकेा छ । संख्या घटबढ भए पनि स्तर उच्च नै छ।
किन बढ्दैछ हिंसा?
प्रहरी अधिकारीहरू अनौपचारिक रूपमा भन्छन्—पारिवारिक विवाद, आपसी रिसइबी, लागुऔषध, सामाजिक सञ्जालबाट उक्सिने द्वन्द्व, अवैध हतियारको पहुँच र समुदायको ‘नबोल्ने’ संस्कारले अपराधीलाई सहज बनाइरहेको छ। धेरै घटनामा प्रत्यक्षदर्शी हुँदाहुँदै पनि बयान आउँदैन। डर छ, अविश्वास छ, र कतै–कतै अपराधीसँग सामाजिक निकटता पनि।
के गर्दैछ प्रहरी?
मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापा यी घटना राजनीतिक नभएको बताउँछन्। तर चुनौती स्वीकार्छन् । प्रमाण संकलन, साक्षी संरक्षण र समुदायको सहयोगबिना अनुसन्धान सुस्त हुन्छ। हाल प्रहरी टोलीहरू संवेदनशील क्षेत्रमा गस्ती बढाइरहेका छन्, सादा पोशाकमा निगरानी, आपराधिक सञ्जालको प्रोफाइलिङ र शंकास्पद व्यक्तिको ट्र्याकिङ गरिरहेको दाबी छ। तर प्रश्न उही छ—घटना भएपछि सक्रियता कि घटना हुनुअघि रोकथाम?
चुनावी सन्दर्भ र भय
चुनाव नजिकिँदै गर्दा यस्ता घटना भय–त्राससँग जोडिएर हेरिन्छन्। प्रहरी भने राजनीतिक सम्बन्ध अस्वीकार गर्छ। तर सर्वसाधारणको मनमा असुरक्षाको भावना चुनावी सहभागितामै असर पार्न सक्ने देखिन्छ।
मधेशमा हत्या अब ‘एक्लो घटना’ जस्तो लाग्न छाडेको छ। यो सामाजिक, मनोवैज्ञानिक र सुरक्षात्मक संकटको संकेत हो। प्रहरी अनुसन्धानमा छ, तर समुदाय मौन छ। जबसम्म डरभन्दा विश्वास बलियो हुँदैन, अपराधीभन्दा कानुन शक्तिशाली देखिँदैन । यस्ता शृंखलाबद्ध हत्याले मधेशलाई तर्साइरहनेछ।
प्रतिकृया लेख्नुहोस्: