Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पछि हट्न होइन, फुट्न तयार भए देउवा

खबरडबली संवाददाता

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडानमा सभापति शेरबहादुर देउवा तयार नभएपछि आपसी संवाद भाँडिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् । 

संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन दुई दिनदेखि नै निरन्तर संवादमा थिए । विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान मंगलबार संस्थापन पक्ष तयार देखिएको थियो ।

नेतृत्व परिवर्तनका विषयमा समेत सहमति खोज्ने पहलका लागि विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका पछि धकेलिएको थियो । संस्थापन पक्षले मंगलबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति पनि बुधबार बिहान ८ बजेका लागि सारिएको थियो ।

मंगलबारको वार्तामा संस्थापन पक्षबाट सहभागी नेताहरू बालकृष्ण खाण र रमेश लेखकले विशेष महाधिवेशनको स्वामित्व स्वीकार गर्न र त्यसले पारित गरेका नीति तथा पार्टी सुधारका प्रस्ताव कार्यान्वयनमा समस्या नभएको बताएका थिए । ‘वैशाखमा १५ औं महाधिवेशन हुँदै छ । तीन महिनाकै बीचमा नेतृत्व बदल्ने कुरा नगरौं । यसले सभापतिको मान राख्दैन । उहाँ आफैंले म फेरि हुने होइन, छोड्ने हो भनिसक्नुभएको छ,’ वार्ताका क्रममा लेखकले भनेका थिए, ‘अरू विषयमा समझदारी गर्न सक्छौं ।’

विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व नै प्रमुख मुद्दा भएको उल्लेख गर्दै तीन वटा विकल्प अघि सारेका थिए– पहिलो, विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने ।

यी सबै विकल्पमा पनि संस्थापन तयार नभएपछि ‘हाइकमान्ड’ बनाउने विकल्प अघि सारिएको विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले बताए । उनका अनुसार सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४ औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्ने संसदीय बोर्ड पनि सहमतिका आधारमा गठन गरिनुपर्ने बताएका थिए । नेतृत्वको विषयमा आफैंले निर्णय दिन नसकेपछि सभापति देउवासँग परामर्श गर्न भन्दै खाण र लेखक वार्ताकै बीचमा साँझ ६ बजे बाहिरिएका थिए । त्यसपछि देउवासहित संस्थापनपक्षीय नेताहरूबीच परामर्श गरेर खाण र लेखक पुनः वार्तामा आएनन् । उनीहरू उतैबाट घरतर्फ लागेका थिए । लेखक ‘अब महामन्त्रीहरूको तहमा कुरा भएर मिल्यो भने मात्र हो, हाम्रो तहमा कुरा नमिल्ने भयो’ भन्दै देउवा निवासबाट बाहिरिएका थिए ।

विशेष महाधिवेशन पक्षधर नेताहरू भने राति ९ बजेसम्म चक्रपथस्थित कांग्रेसका एक कार्यकर्ताको घरमा कुरेर बसेका थिए । दिनभरिको वार्ता पनि त्यही घरमा भएको थियो ।

९ बजेसम्म पनि संस्थापन पक्षका नेता नआएपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले लेखकसँग टेलिफोनमा कुरा गरेका थिए । त्यस क्रममा उनले पछिल्लो नेतृत्वलाई हटाउने, चुनाव लड्न नपाउने र निर्वाचन आयोगमा कार्यवाहकको नाम र हस्ताक्षर पठाउने विषयमा सहमति हुन नसकिने जानकारी दिएका थिए ।

संस्थापन पक्षका एक नेताका अनुसार विशेष महाधिवेशन पक्षधरले आफूलाई अपमान गर्ने किसिमले प्रस्ताव ल्याएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । ‘वार्ताको सुरुमा सभापति देउवाले यिनीहरूले टिकट खोजेका हुन्, ४० प्रतिशत टिकट मिलाउने गरी सहमति गर्नुहोस् भनेर पठाउनुभएछ । हामीले टिकट हाम्रो प्राथमिक होइन, भागबन्डाको उच्चारण पनि नगर्नुस् भन्यौं,’ विशेष महाधिवेशन पक्षधर एक नेताले भने ।

बुधबार बिहानसम्म केही चमत्कार भयो भने पार्टी एकता अगाडि बढ्ने नत्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व छनोट हुने विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले बताए । ‘हामीले नेतृत्व नै परिवर्तन गरौं भन्दा उहाँहरू (संस्थापन) मान्नुभएन । विकल्पहरू पनि प्रस्तुत गर्‍यौं । त्यसपछि उहाँहरू सभापतिकहाँ जानुभयो, फर्कनुभएन,’ उनले भने ।

मंगलबारको वार्तामा विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य, शेखर कोइराला पक्षबाट मीनेन्द्र रिजाल र जीवन परियार सहभागी थिए । उनीहरूबीच वार्ता सफल नभएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय थापा र शर्माबीच छलफल हुने भनिएको थियो तर त्यो पनि हुन सकेन ।

सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर नेताहरू क–कसलाई पदाधिकारी बनाउने, केन्द्रीय सदस्यका लागि सम्बन्धित ‘क्लस्टर’ को जिम्मा दिनेलगायतका गृहकार्यमा जुटिसकेको छ । उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान ८ः१५ देखि ९ः१५ सम्म तोकिएको छ । सुरुमा भने मंगलबार अपराह्न २ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गरी राति ९ बजे मतदान सुरु गर्ने गरी तालिका ल्याइएको थियो ।

संस्थापन पक्षले भने मंगलबार ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । संवाद चलिरहेका कारण बैठक औपचारिकताका लागि एकछिन बसेर बुधबारका लागि सारिएको थियो । सहमति जुटे त्यसलाई स्वामित्व लिने र नभए विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाउने नेतालाई कारबाही गर्ने गरी बैठक बोलाइएको संस्थापन पक्षका एक नेताको भनाइ छ ।

नेतृत्वलाई निरन्तरता दिएर प्रतिनिधिसभा निर्वाचनमा जान नसकिने अडानमा विशेष महाधिवेशन पक्षधर नेता छन् । अर्कातर्फ संस्थापन पक्ष भने लोकतन्त्रको लडाइँमा लामो इतिहास बोकेको सभापतिलाई बीचमै हटाएर अपमान गर्न नहुने तर्क गरिरहेको छ । ‘सभापतिका हामी पनि शुभचिन्तक हौं, दुश्मन होइनौं । तीन महिनाअघि र पछिको बहिर्गमनमा के अन्तर हुन्छ भन्ने उहाँहरू (संस्थापन पक्ष) को कुरा छ । यसले व्यक्तिको जीवनमा खासै अन्तर नपर्ला । तर पार्टीको जीवनमा ठूलो अन्तर पर्छ । सिधै चुनावमा असर पर्छ । त्यसैले पार्टीको जीवनलाई बर्बाद गर्नु हुन्न भन्ने हाम्रो तर्क छ,’ नेता चालिसेले भने ।

सम्पूर्ण अधिकार कार्यवाहक सभापतिको नेतृत्वमा हुने वा हाइकमान्डलाई दिने र टिकट वितरणमा पनि कार्यवाहकले हस्ताक्षर गर्ने विषयमा सहमति जुटे कांग्रेसभित्रको एकता कायम हुने चालिसेको भनाइ छ । ‘सभापतिले आफू चुनाव नलड्ने घोषणा गरेर सबै दृष्टिकोणबाट आलंकारिक भएर बस्नुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले मंगलबार साँझ भने, ‘संस्थापन पक्ष त्यसमा सहमत भइरहेको छैन । सहमति भएन भने विशेष महाधिवेशनको कोर्स अघि बढ्छ ।’

महामन्त्री गगन थापाले विशेष महाधिवेशनको हलले स्वीकार गर्ने सहमति मात्रै स्वीकार्य हुने बताएका छन् । ‘वार्तामा जे सहमति भयो, त्यसलाई हलले अनुमोदन गर्नुपर्छ । मैले गरे पनि, अर्का महामन्त्रीले गरे पनि हलले मान्ने सहमति मात्रै स्वीकार्य हुन्छ,’ मंगलबारको बन्दसत्र सकिएपछि थापाले सञ्चारकर्मीसँग भने, ‘सहमति भएन भने भोलि दिउँसो नै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गरेर विशेष महाधिवेशन सकिन्छ । यो केटाकेटी खेलेको होइन । यसबाट विधान संशोधन गरौं, प्रतिवेदन पारित गरौं । कुनै समझदारी भयो भने यसलाई स्वामित्व लिनेमा हुन्छ । त्यस ठाउँमा पुग्छ कि पुग्दैन भन्ने महत्त्वपूर्ण कुरा हो ।’

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत २९ असोजमा हस्ताक्षरसहित दिएको निवेदनलाई पार्टी नेतृत्वले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।

विशेष महाधिवेशनको निवेदन पर्नुअघि अघिल्लो दिन केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले सक्रिय राजनीतिमा नफर्कने भन्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसलगत्तै उपचारका लागि सिंगापुर गएका देउवा फर्केपछि भने राजनीतिक भेटवार्ता, चुनावको टिकट वितरणदेखि पार्टीको आन्तरिक राजनीतिसम्ममा आफैं सक्रिय हुन थालेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: