कोलम्बो । एघार र १२ वर्ष उमेर समूहका बालबालिकाका लागि तयार पारिएको सरकारी अङ्ग्रेजी पाठ्यक्रममा समावेश गरिएको एक अनलाइन लिङ्कले विद्यार्थीहरूलाई समलिङ्गी च्याट वेबसाइटतर्फ निर्देशित गरेको खुलासा भएपछि श्रीलङ्काले आपराधिक अनुसन्धान सुरु गरेको छ । उक्त विषय सार्वजनिक भएपछि शुक्रबार शिक्षा मन्त्रालयले प्रहरीसमक्ष औपचारिक उजुरी दर्ता गर्दै घटनाको वास्तविक कारण पत्ता लगाउन आन्तरिक अनुसन्धानसमेत अघि बढाएको छ ।
शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवले यस घटनापछि आफूहरू गम्भीर रूपमा चिन्तित भएको बताए । “हामीलाई यो विषयमा तोडफोड भएको शङ्का छ”, उनले भने, “शिक्षा क्षेत्रमा सुधार कार्यान्वयनको चरणमा छौँ र यो प्रयास ती सुधारहरू अवरुद्ध गर्ने उद्देश्यले गरिएको हुनसक्छ ।”
ग्रेड सिक्सका विद्यार्थीहरूका लागि तयार गरिएको अङ्ग्रेजी पाठ्यक्रममा भाषा सीप सुधार गर्न ‘पेन–पाल’ खोज्न सकिने भन्दै ‘ब्याड ब्वाइज क्लब’ शीर्षकको अनलाइन च्याट वेबसाइट बड्डी डट नेटको उल्लेख गरिएको थियो । उक्त वेबसाइटले प्रयोगकर्ताहरूलाई ‘तपाईंको कामुक पक्ष देखाउन’ आमन्त्रण गर्ने सामग्री राखेको पाइएको छ, जसले साना बालबालिकाका लागि अत्यन्तै अनुपयुक्त सामग्रीतर्फ सङ्केत गरेको भन्दै आलोचना भएको छ ।
श्रीलङ्कामा समलिङ्गी गतिविधि कानूनी रूपमा अझै पनि अपराध मानिन्छ । यहाँ समलिङ्गी सम्बन्धका लागि अधिकतम १० वर्षसम्मको जेल सजायको व्यवस्था छ । यद्यपि हालका वर्षहरूमा यस्ता मुद्दामा अभियोजनको सङ्ख्या भने निकै कम रहेको बताइन्छ । यस संवेदनशील पृष्ठभूमिमा विद्यालय पाठ्यक्रममै यस्तो वेबसाइटको सन्दर्भ आउनुले सामाजिक र राजनीतिक तहमा व्यापक चासो र असन्तोष पैदा गरेको छ ।
घटना बाहिरिएपछि अधिकारीहरू तत्काल सक्रिय भएका छन् । दूरसञ्चार नियामक आयोगलाई स्थानीय इन्टरनेट सेवा प्रदायकहरूमार्फत उक्त वेबसाइटमा पहुँच रोक्न निर्देशन दिइएको छ । शिक्षा मन्त्रालयले यसलाई गम्भीर गल्तीका रूपमा लिँदै सुधारात्मक कदम चालेको जनाएको छ ।
सचिव कालुवेवका अनुसार १६५ पृष्ठ लामो उक्त अङ्ग्रेजी पाठ्यक्रम अङ्ग्रेजी विषयका प्राध्यापकहरू सहित तीनवटा छुट्टाछुट्टै टोलीले जाँच गरेका थिए । तर तीमध्ये कुनै पनि टोलीले उक्त त्रुटि समयमै पत्ता लगाउन नसकेको उनले स्वीकार गरे । उनका अनुसार विद्यालयमा नयाँ सत्र सोमबार सुरु हुनुअघि नै चार लाख प्रतिलिपिबाट उक्त च्याट साइटमा जाने सन्दर्भ हटाएर पाठ्यक्रम वितरण गरिएको थियो ।
पाठ्यक्रममा यसबाहेक पनि थुप्रै हिज्जे त्रुटिहरू रहेको पाइएको छ । पाठ्यक्रम तयार पार्ने लेखकहरूले सामग्री तयार गर्दा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्मको सहयोग लिएको स्वीकार गरेका छन्, जसले गुणस्तर नियन्त्रणमा कमजोरी देखाएको आलोचना बढाएको छ ।
श्रीलङ्कामा समलैङ्गिकतालाई अपराधमुक्त गर्ने विषयले विगतदेखि नै विवाद सिर्जना गर्दै आएको छ । यस्तो प्रयासलाई रूढिवादी बौद्ध तथा क्याथोलिक धर्मगुरुहरूले कडा विरोध गर्दै आएका छन् र हालको घटनाले त्यो बहसलाई पुनः सतहमा ल्याएको छ ।
यसैबीच, पाठ्यक्रम निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय शिक्षा संस्थानका प्रमुख मञ्जुला विथानापथिरानाले अनुसन्धान टुङ्गो नलागेसम्मको जिम्मेवारी वहन गर्न नसक्ने जनाउँदै पदबाट राजीनामा दिएएको छ । घटनाको पूर्ण सत्य तथ्य बाहिर ल्याउन अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् । रासस
प्रतिकृया लेख्नुहोस्: