काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्णायक मोड र पार्टीको आधारभूमि बनेको जिल्ला हो। चितवनले उनलाई सिंहदरबार पुर्याउने ढोका खोलिदियो मात्र होइन, रास्वपालाई नेपाली राजनीतिमा चौथो शक्तिका रूपमा स्थापित गर्ने जगसमेत तयार गरिदियो।
यद्यपि पछिल्लो समय रास्वपाको प्रभाव देशैभर फैलिँदै गएको देखिन्छ, पार्टीभित्रका नेताहरूका अनुसार त्यसको वास्तविक सुरुवात र आधार भने चितवन नै हो। यही कारण रवि लामिछानेले चितवनलाई विशेष प्राथमिकता दिँदै आएका छन्। पार्टीका अधिकांश महत्त्वपूर्ण कार्यक्रमको सुरुवात चितवनबाट गर्नु, रणनीतिक निर्णयमा चितवनलाई केन्द्रमा राख्नु र चुनावी सन्देश यहीँबाट दिनु त्यसकै संकेत मानिन्छ।
हिरासतबाट राजनीतिसम्म : चितवनसँग जोडिएको मोड
रविको चितवनसँगको सम्बन्ध राजनीतिकभन्दा पहिल्यै भावनात्मक रूपमा गाँसिएको बताइन्छ। टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत चर्चामा रहेका बेला २०७६ साउनमा उनी गम्भीर संकटमा परे। उनीसँगै काम गरेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि आत्महत्या दुरूत्साहनको आरोपमा रविलाई प्रहरीले पक्राउ गरी चितवन ल्यायो।
पुडासैनीले आत्महत्याअघि सार्वजनिक गरेको भिडियोमा रविमाथि मानसिक तनाव दिएको र पारिश्रमिक नदिएको जस्ता आरोप लगाइएपछि मुद्दा संवेदनशील बनेको थियो। तर, घटनाक्रमले अर्कै मोड लियो। रविको पक्राउपछि चितवनमा सर्वसाधारण सडकमा उत्रिए। हरेक दिनजसो प्रदर्शन हुन थाले, हिरासत परिसर वरिपरि रविको रिहाइको माग गर्दै नाराबाजी भयो।
१४ दिनपछि रवि हिरासतमुक्त हुँदा चितवनमा भएको भीड र समर्थनले उनको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको बताइन्छ। रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठ भन्छन्, “आफू अप्ठ्यारोमा पर्दा चितवनका जनताले देखाएको माया र सद्भावले उहाँलाई यहीँबाट राजनीतिक यात्रा सुरु गर्न प्रेरित गर्यो।”
चुनावी राजनीतिमा चितवनको निर्णायक भूमिका
केही समयपछि रवि पुनः टेलिभिजनमै फर्किए पनि प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उनले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे। त्यसको पाँच महिनापछि भएको चुनावमा रास्वपाले चितवन र काठमाडौँलाई मुख्य केन्द्र बनाएर उम्मेदवारी दियो।
चितवनका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपाले प्रत्यक्षतर्फ जित निकाल्यो। रवि स्वयं चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बने। उनले कांग्रेस र एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै इतिहास बनाए।
क्षेत्र नम्बर २ मा खसेको ८३ हजार ९ सय ५६ मतमध्ये रविले ४९ हजार २ सय ६४ मत पाए। कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत मात्र पाए। क्षेत्र नम्बर १ मा हरि ढकाल विजयी भए।
क्षेत्र नम्बर ३ मा भने राप्रपाका विक्रम पाण्डे निर्वाचित हुँदा रास्वपाकी उम्मेदवार जीता बराल तेस्रो स्थानमा सीमित भइन्।
तर समानुपातिकतर्फ चितवनका तीनै क्षेत्रबाट रास्वपा पहिलो दल बन्यो। तीन क्षेत्रबाट पाएको ९९ हजार ३७ मतले रास्वपालाई चितवनको सबैभन्दा बलियो दलका रूपमा उभ्यायो।
उपचुनावले झन् बलियो बनाएको आधार
नागरिकता प्रकरणका कारण रविको सांसद पद गुमेपछि चितवन–२ मा २०८० वैशाखमा उपचुनाव भयो। त्यहाँ पनि रविले ५४ हजारभन्दा बढी मत ल्याउँदै कांग्रेस र एमालेका उम्मेदवारलाई सहजै हराए। यो परिणामले चितवनमा रविको व्यक्तिगत लोकप्रियता र रास्वपाको संगठनात्मक पकड अझ बलियो बनाएको विश्लेषकहरू बताउँछन्।
आगामी चुनाव र चितवन केन्द्रित रणनीति
अब फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनलाई लिएर रास्वपाले चितवनलाई पुनः आधार इलाका बनाएको देखिन्छ। समानुपातिक उम्मेदवारको सूचीमा चितवनसँग जोडिएका अनुहार बढी देखिनु त्यसकै संकेत हो।
पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग एकता भएपछि निर्वाचन क्षेत्र साटफेरको चर्चा पनि चुलिएको छ। यही सन्दर्भमा उपसभापति स्वर्णिम वाग्ले र सांसद सोविता गौतमको ध्यान चितवनतर्फ केन्द्रित भएको बताइन्छ।
पार्टीका एक पदाधिकारीका अनुसार स्वर्णिम वाग्ले चितवन–१ र सोविता गौतम चितवन–३ बाट उम्मेदवार बन्ने कसरतमा छन्। यदि यो समीकरण मिल्यो भने चितवन–२ बाट रवि लामिछाने नै उम्मेदवार हुने सम्भावना प्रबल देखिन्छ।
बुधबार रवि लामिछानेले स्वयं चितवनबाटै चुनाव लड्ने घोषणा गर्दै भने, “चितवनले मलाई जुन माया र गुन लगाएको छ, हामी यसलाई परिवर्तनको निलो क्रान्तिको उद्गम स्थल र परीक्षण केन्द्रको रूपमा हेर्छौँ। चितवन छोड्ने कुरा सोच्नै सकिँदैन।”
चितवन, जसले एक समय हिरासतमा परेका टेलिभिजन प्रस्तोताका पक्षमा आवाज उठाएको थियो, आज त्यही जिल्ला नयाँ राजनीतिक शक्तिको केन्द्र बन्न पुगेको छ। यही सम्बन्धले रवि लामिछाने र रास्वपाको भविष्य राजनीतिलाई कुन दिशामा लैजान्छ, त्यो भने आगामी चुनावले तय गर्नेछ।
प्रतिकृया लेख्नुहोस्: