Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

खबरडबली संवाददाता

मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे ।

माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ ।

यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँदयाममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका नागरिकहरू बाध्य भएर बेँसी झर्ने प्रचलन रहँदै आएको थियो । यहाँका सबै शैक्षिक संस्था पनि जाडो छल्न र घुम्ती कक्षा सञ्चालन गर्न कात्तिक अगावै बेँसी झर्छन् । यसपालि पनि माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्था बेँसी झरिसकेका छन् । अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने, चिसोका कारण विद्यार्थीलाई रुघाखोकी र निमोनियाजस्ता समस्या देखिने र अभिभावकहरू पनि बेँसी झर्ने गर्दा विद्यालय पनि बेँसी झार्ने गरिएको छ ।

अत्यधिक चिसो र हिमपातको जोखिम टार्न माथिल्लो मुस्ताङका अधिकांश नागरिक घरमा ताल्चा मारेर बेँसी झर्दथे । गाउँमा केही ज्येष्ठ नागरिक र याकचौँरी तथा भेडाच्याङ्ग्रा रेखदेख गर्ने गोठालाबाहेक सबै मुस्ताङीहरू यो समय पूरै पोखरा, काठमाडौँलगायत स्थानमा झर्थे । केही नागरिकहरू ‘स्वेटर’को व्यापारका लागि भारतका विभिन्न सहरसम्म पुग्थे । यसैगरी कात्तिक अगावै बेँसी झरेका माथिल्लो मुस्ताङीहरू चैत–वैशाखमा मात्र साविक स्थानमा फर्किन्थे ।

तर अहिले माथिल्लो मुस्ताङको अवस्था निकै फेरिएको छ । सदिँयौदेखि बेँसी झर्ने परम्परा रहेको यहाँको ऐतिहासिक प्रचलनमा परिवर्तन आउन थालेको छ । यहाँको नेपाल–चीन उत्तरी कोरला नाका कोभिडअघि अल्पकालीन अन्तरदेशीय व्यापार मेलाका रूपमा बर्सेनि असार र भदौमा सीमित समयका लागि चल्थ्यो । कोभिडपछि २०८० साल कात्तिक २७ गते यहाँको कोरला नाका माथिल्लो मुस्ताङीका लागि बाह्रै महिना चीनले खुला गरिदियो । तर नाका आंशिक रूपमा खुला भए पनि माथिल्लो मुस्ताङीले राम्ररी व्यापार–व्यवसाय चलाउन अझै सकिरहेको अवस्था थिएन । तैपनि नाकामा केही नागरिकले त्रिपाल टाँटेर व्यापार चलाएका थिए ।

जब कोरला नाका गत ३० भदौमा पूर्ण रूपमा सञ्चालनमा आयो, तब माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारी ढोका खुल्न पुग्यो । बाढीपहिरोले तातोपानीनाका र रसुवागढीनाका अवरुद्ध भएपछि कोरला नाकामा नेपाल–चीन व्यापारको मार्ग पूर्ण रूपमा खुला भयो । यो नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै रु चार अर्बको राजस्व योगदान गरिसकेको छ ।

कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका धेरैजसो नागरिकले नाकाबाट व्यापार व्यवसायका साथै अस्थायी वैकल्पिक राजगारी पाएका लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिए । गत वर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिक यतिबेला जाडो छल्न बेँसी झरिसक्नेमा यस वर्ष आंशिक नागरिकमात्र बेँसी झरेको उनको भनाइ छ । कोरलानाकाको नेपाल–चीन दसगजा क्षेत्रमा माथिल्लो मुस्ताङी करिब तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी व्यापार व्यवसाय चलाएर बसेको वडाध्यक्ष गुरुङले बताए ।

कोरला नाकामा व्यापार गर्ने, कोरलास्थित चीनको हाटबजारमा व्यापार गर्न बस्ने, नेपाल–चीन आयातनिर्यातका मालवस्तु ‘लोडअनलोड’ गर्ने र चीनबाट पैठारी गरिएका विद्युतीय कार (ईभी) चिनियाँ भन्सारबाट नेपाली भन्सारसम्म ल्याउन स्थानीय युवाले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँका युवायुवतीले दैनिक रु पाँचदेखि १० हजारसम्म आम्दानी गर्ने गरेका उनले जानकारी दिए । नाकाको भित्र र बाहिर सबै गरी झन्डै पाँच सयभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको बताए ।

दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला नाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुईतिहाइ नागरिक साविककै स्थानमा रहेका छन् । मार्ग खुलेसँगै मुस्ताङीहरू यथास्थानमै बसेर रमाइरहेका छन् । गत वर्ष यस बेलासम्म ८० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्ने गरेकामा यस वर्षमा लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक बेँसी झरेका छन् ।

त्यसैगरी, कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम–कोरला सडकमार्गमा सञ्चालनमा रहेका होटल यथाअवस्थामा खुलेका छन्भने लोमान्थाङ बजारका पूरै होटल सञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । “केही घरमा ताल्चा मारेर बेँसी झरेका छन्, अधिकांश होटल र केही घरमा मानिस बसेका छन्, कोरला नाका बन्द भएमात्र यहाँका नागरिक झर्नेवाला छन्, नत्र यही बसेर व्यापार चलाएर बस्ने मनस्थितिमा छन्”, कार्यालय प्रमुख पौडेलले भने।

प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँदयामसँगै चिसो अत्यधिक बढेका कारण दैनिक जनजीवनमा समेत प्रतिकूल असर पारेको बताए। “बिहानबेलुका माइनस २० डिग्रीसम्म पुग्छ, कुलो, धारा र सेफ्टीट्याङ्की जम्छ भने दिउँसो घाम लाग्दा हिँडडुल गर्न सकिने भए पनि बिहान र बेलुका बाहिर निस्कन सक्ने अवस्था हुँदैन”, कार्यालय प्रमुख पौडेलले भने ।

यस्तै, नेपाल–चीन कोरला नाकामा मालवस्तु ढुवानीका लागि झन्डै तीन सय बढी कन्टेनर लोडअनलोडको पर्खाइमा बसेको भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिए । चिनियाँ भन्सार, कोरला नाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासका लागि लामबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

एनपीएलः लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...

देशभर १५० स्थानीय तह हाकिमविही हुँदा सेवाग्राही मारमा

काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending