म्याग्दी। अन्नपूर्ण हिमालको काखमा फ्रान्सेली कलाकारहरुले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा सांगीतिक प्रस्तुती गरेका छन् । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा फ्रान्सेली कलाकारहरुले आधार शिविरमा सांगीतिक प्रस्तुती गर्ने भएका हुन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ अर्थात् जेठ २० गतेका दिन पहिलोपटक मानव पाइला परेको थियो । त्यसैले अन्नपूर्णलाई जेठो हिमाल भनेर पनि भनिन्छ ।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा हर्जोगको सम्मानका लागि अन्नपूर्ण अधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको शिविर, नारच्याङ र घोडेपानी र पुनहिलमा जेठ १९ र २० गते दुई दिन सांगीतिक कार्यक्रम हुने जानकारी दिनुभयो । उहाँका अनुसार मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको अगुवाइमा रहेको अन्नपूर्ण सङ्गीत समूहले पदयात्रासहित आधार शिविरमा सांगीतिक प्रस्तुती दिने छ । उक्त सङ्गीत समूह नेपाल आइसकेको उनले बताए ।
पालिका अध्यक्ष पुनले भने, ‘‘अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा पहिलो आरोही मौरिस हर्जोगको सम्मानमा फ्रान्सेली कलाहरुले सांगीतिक प्रस्तुती गर्ने कार्यक्रमले हामीलाई निकै उत्साहित बनाएको छ । अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले अन्नपूर्णको विश्वव्यापी रुपमा प्रचारप्रसार गर्न टेवा पुर्याउने छ ।’’ सांगीतिक कार्यक्रममा काठमाडौँस्थित फ्रान्सेली राजदूतलगायत विशिष्ट पाहुनाहरुको पनि सहभागिता हुने छ ।
उहाँले मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जना सहभागी हुने बताए।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा जेठ १६ देखि २१ सम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन व्यवस्थापन समितिका सदस्य इन्द्रसिंह शेरचनले स्थानीयहरु महोत्सवको तयारीमा जुटेको बताए ।
पालिका अध्यक्ष पुनले पर्वतारोही हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरकारी स्तरबाट गरिएको पहिलो कार्यक्रमले सम्पूर्ण म्याग्दीवासीहरुलाई नै उत्साहित बनाएको बताए।
जुन ३ अर्थात् जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण, खुला सङ्ग्राहलयको उद्घाटन गर्नेछन् । आधार शिविरमा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री ओली नारच्याङको बेंसीमा हीरक महोत्सव मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हर्जोगले प्रयोग गरेको बाटोलाई गाउँपालिकाले उहाँको सम्मानमा मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार निर्माण गरेको छ । प्रधानमन्त्री ओलीले उक्त पदमार्गको उद्घाटन समेत गर्नेछन् ।
आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।
हीरक महोत्सवमा प्रधानमन्त्री ओली आउने भएपछि स्थानीय पर्यटन व्यवस्थापन समिति, स्थानीय पर्यटनकर्मी लगायत अन्नपूर्णवासीहरु तयारीमा जुटेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताए ।
प्रतिकृया लेख्नुहोस्: