Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अधिक बसाइँसराइँले नेपालमा ल्याएको तरंग

प्रकाश रेग्मी

वर्तमान समयमा नेपालमा दुई किसिमका भाष्य निर्माण भएका छन्। पहिलो हो - देशबाट सबै युवा विदेश गएर देश रित्तो हुने अवस्थामा पुग्नु। यसको कारण वर्तमान संविधान हो, त्यसैले यसको विकल्प खोज्नु पर्ने भन्दै एक समूह आन्दोलनको नाममा विभिन्न क्रियाकलापमा लागेका छन्। अर्को, देशका धरै नागरिकहरू विदेश पलायन भए, देशको मस्तिष्क पलायन भयो साथै पुँजी पनि पलायन भयो भनेर दोहोरो नागरिकताको प्रावधानसहितको संविधान तयार गरी कार्यान्वयनमा छ। यस्तो परिवेशमा नेपालमा वास्तविक बसाइँसराइँको अवस्था के रहेछ भनेर जान्न मन लागेकाले यो सानो खोजमुलक काम  गरेको र आफूले थाहा पाएको तथ्य पाठकसामू पनि राख्न चाहाना भएकाले यो लेख तयार भएको हो। यस खोजको लागि सूचना सामग्रीको रुपमा विभिन्न अनलाइन पोर्टल र जनगणना २०७८ को टेबल १९ अन्तर्गत ‘उमेर समूह र देश अनुसार विदेशमा बसाइँसराइँ गरेका जनसंख्या २०२१’ को प्रयोग गरिएको छ।

सरल भाषामा भन्नुपर्दा बसाइँसराइँ भनेको एक ठाउँबाट अर्को ठाउँमा मानिसहरूको आवागमन हो, या त देशभित्र (आन्तरिक बसाइँसराइँ) वा अन्तर्राष्ट्रिय सिमाना पार (अन्तर्राष्ट्रिय बसाइँसराइँ), जुन प्रायः आर्थिक, सामाजिक वा वातावरणीय कारकहरूद्वारा निर्देशित हुन्छ।

बसाइँसराइँ र विकासबीचको सम्बन्ध बहुआयामिक छ, बसाइँसराइँले सम्भावित रूपमा विकासको चालक र परिणाम दुवैको रूपमा काम गर्दछ, जसले आर्थिक, सामाजिक र सांस्कृतिक माध्यमहरूमार्फत् उत्पत्ति र गन्तव्य देशहरू दुवैलाई असर गर्छ।

बसाइँसराइँको सिद्धान्तले भने बसाइँसराइँलाई मानव पुँजी लगानीको कार्यको रूपमा हेर्छ, जहाँ व्यक्तिहरू लागतभन्दा लाभ बढी भएमा सर्छन्। केही परिस्थितिहरू जस्तै: आर्थिक कठिनाइ, वातावरण अनुकूलन वा उद्गम देशमा भएको द्वन्द्वले मानिसहरूलाई बसाइँ सर्न बाध्य पनि पार्न सक्छ। यसलाई बसाइँसराइँको सिद्धान्तमा धकेल्ने शक्तिको रुपमा परिभाषित गरिन्छ। जबकि, अर्को देशमा राम्रो जागिर वा जीवनयापनको अवसरले उनीहरूलाई आकर्षित गर्न सक्छ। यसलाई चाहिँ तान्ने शक्तिको रूपमा परिभाषित गरिन्छ। त्यसैले, समग्रमा आर्थिक रूपमा सक्रिय व्यक्तित्वहरू नै बसाइँसराइँमा बढी भाग लिने गर्छन्। बसाइँसराइँ एक आर्थिक रुपले सक्रिय मानिसहरूको स्थानान्तरण हो, जसको कारण उसको उद्गम स्थान र गन्तव्य स्थान दुबै ठाउँमा विशिष्ट प्रकारको प्रभाव परेको हुन्छ।

रेमिट्यान्स : प्रवासीहरूले प्रायः आफूले परित्याग गरेको घरमा वा आफ्नो परिवारका अन्य सदस्यहरू बसोबास गरिराखेको घरमा आफ्नो कमाइको केही हिस्सा पैसा पठाउने गर्दछन्। जुन पैसाले उक्त स्थानको अर्थ बजारलाई चलायमान बनाउँछ र आर्थिक विकासको लागि सहयोगी बन्छ।

श्रम बजारमा योगदान : आप्रवासीहरूले गन्तव्य देश वा गन्तव्य स्थानमा रहेको श्रम अभावको अवस्थालाई पूरा गर्दछ र बजारमा रहेको आर्थिक सुस्ततालाई कम गरी आर्थिक वृद्धि गर्न सहयोग गर्दछ।

प्रविधि हस्थान्तरण : आप्रवासीहरूले आफ्नो उद्गम स्थानको ज्ञान, सिप आफूसँगै लिएर गएका हुन्छन् र फर्कँदा पनि थप नयाँ ज्ञान, सिपसहित फर्कने हुनाले आफूसँगै भित्र्याएको नवीनतम् सिपले गृह देशमा पनि आर्थिक विकासलाई प्रोत्साहित गर्दछ।   

यिनका अलावा मौलिक संस्कृति र उद्गमस्थानको ब्रेन ड्रेनजस्ता कुराहरू पनि बसाइँसराइँको क्रियाकलापबाट हुने गर्दछन्।

नेपालमा जनगणना २०२१ को मूल तालिका जुन ८ देखि जुन २२, २०२१ सम्म हुने तालिका भए तापनि कोभिड-१९ महामारीको कारणले गर्दा त्यस तालिकालाई परिवर्तन गरी नोभेम्बर ११ देखि २५, २०२१ सम्म १५ दिनको अवधिको लागि नयाँ कार्ययोजना अनुसार गणना गरिएको थियो। त्यस अवधिमा नेपालमा चाडपर्व मनाउन आफ्नो घर फर्कने समय पनि हो। लेखमा प्रयोग गरिएका सबै तथ्याङ्कहरू त्यसै अवधिभित्रका हुन्।  

जनगणना २०६८ अनुसार नेपालमा जन्मिएर विदेशमा गई बसोबास गर्ने नेपालीको संख्या १९ लाख २१ हजार रहेको थियो र यसको अनुपात २०७८ मा आउँदा बढेर २१ लाख ९० हजार ५९२ पुगेको छ। यसलाई अनुपातमा हेर्दा २०६८ मा कुल जनसंख्याको ७.२५ प्रतिशत र २०७८ मा आउँदा ७.५१ प्रतिशत हुन आउछ। अर्थात्, हाल देशको कुल जनसंख्याको ७.५१ प्रतिशत मानिस आफ्नो देशबाहेकका देशहरूमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दछन्। 

२०७८ मा राष्ट्रिय तथ्याङ्क कार्यालयले विभिन्न  देशहरूलाई फरक-फरक क्षेत्रमा विभाजन गरी विदेशमा गई बसोबास गर्ने नेपालीहरूको विवरण राखेको छ। यसरी हेर्दा मध्यपूर्वी देशहरूमा सबैभन्दा बढी वा ८ लाख ५ हजार नेपालीहरू गएर बसेका छन् वा काम गरिरहेको देखिन्छ। त्यस्तैगरी, भारतमा ७ लाख ३१ हजारको हाराहारीमा रहेको देखिन्छ। भारतबाहेकका अन्य एसियाका देशहरूमा ३ लाख २६ हजार रहेको देखिन्छ। युरोप, क्यानडा, अष्ट्रेलिया र अमेरिका गरी जम्मा २ लाख ९५ हजारको हाराहारीमा रहेको देखिन्छ। विदेश गई बसोबास गर्ने महिला र पुरुषको अनुपातमा भने ठूलो भिन्नता देखिन्छ। कुल विदेशमा बसोबास गर्ने नेपालीहरूमध्ये जम्मा १८ प्रतिशत महिला र पुरुष ७२ प्रतिशत रहेको देखिन्छ। माथि भनिएजस्तो धकेल्ने शक्तिको कारण ७.५१ प्रतिशत विदेश गए भने देशमा विद्यमान तान्ने शक्तिको करण २.९७ प्रतिशत विदेशमा जन्म भई नेपाल आएर बसोबास गरेको पनि पाइन्छ।

यसरी युरोप, क्यानडा, अष्ट्रेलिया र अमेरिकामा गई बसोबास गर्नेबाहेकका प्रवासीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल आउने-जाने प्रक्रिया रोकिनेजस्तो देखिँदैन। यसरी बसाँ सर्नेको दर छिमेकी देश भारतको भन्दाबढी देखिए तापनि ठूलो कोकोहोलो गरिहाल्नु पर्ने देखिँदैन।

समय क्रमअनुसार नेपालीहरू विदेश जाने क्रम प्रजातन्त्रको पुन:बहालीपछि मात्रै भएको हो। २०४७ अघि नेपालीहरूलाई भारतबाहेक अन्य देशको लागि जान अनुमति थिएन। विशेषगरी नेपालीहरू कामको सिलसिलामा विदेश जाने गर्छन्। त्यसको अलावा पछिल्ला दिनहरूमा युवा वर्गमा अध्ययनको लागि विदेश जाने लहर ह्वात्तै बढेको छ। यसरी काम र अध्ययनको लागि विदेश जाने संख्याको देशभित्रको वितरण भने समान देखिँदैन।

नक्सामा देखाइएको बार ग्राफ प्रत्येक जिल्लाको कुल विदेशमा भएका जनसंख्याको अनुपात हो। नेपालको नक्सामा देखाइए अनुसार पश्चिम नेपालका तराईदेखि हिमालसम्मका जनताहरूको गन्तव्य भारत हो। उत्तरपूर्वी हिमाली जिल्लाका मानिसहरू भारतमा जाने क्रम कम र मध्यपूर्व तथा अन्य देशमा जाने क्रम बढी देखिन्छ। पूर्वका सबै जिल्लाहरूमा भारत जाने क्रम न्यून र अन्य देशमा जाने क्रम बढी छन्। मधेश प्रदेशका जिल्लाहरू भारतनजिक भएर पनि मध्यपूर्व जाने क्रम बढी देखिन्छ। काठमाडौं वरपरका जिल्लाहरू र उच्च हिमाली जिल्लाका मनाङ र मुस्ताङ जिल्लाबाट धरै टाढाका देशहरूमा बसाइँ सर्नेको अनुपात बढी देखिन्छ। 

कुल विदेशमा मात्रै भएकामध्ये सबैभन्दा धरै भारत गन्तव्य भएका जिल्लाहरू डडेल्धुरा (९० प्रतिशत), बाजुरा (९४ प्रतिशत), डोटी (९६ प्रतिशत), बझाङ (९७ प्रतिशत) र अछाम (९८ प्रतिशत) हुन्। त्यस्तै, मध्यपूर्व प्रमुख गन्तव्य भएका जिल्लाहरू झापा (५५ प्रतिशत), खोटाङ (५७ प्रतिशत), महोत्तरी (६१ प्रतिशत), धनुषा (७५ प्रतिशत) र सिरहा (७६ प्रतिशत) रहेका छन्। भारत र मध्यपूर्वबाहेक अन्य मुलुकमा बढी अनुपातमा बसाइँ सर्ने जिल्लाहरू भक्तपुर (६९ प्रतिशत), काठमाडौं (७२ प्रतिशत), ललितपुर (७४ प्रतिशत), मुस्ताङ (७९ प्रतिशत) र मनाङ (८३ प्रतिशत) रहेका छन्। 

जिल्लाको कुल जनसंख्याको अनुपातमा सबैभन्दा बढी स्थानान्तरण हुने जिल्ला अछाम हो। यहाँको कुल जनसंख्या २,२८,८५२ मध्ये ४४,१६७ अर्थात् १९ प्रतिशत मानिस बसाइँसराइँमा भाग लिएका छन्। त्यस्तै, बझाङ बाट १८ प्रतिशत, अर्घाखाँचीबाट १७ प्रतिशत, गुल्मीबाट १७ प्रतिशत र डोटीबाट १४ प्रतिशत मानिसहरू बसाइँसराइँमा भाग लिएका छन्।

आन्तरिक बसाइँसराइँको हिसाबले पनि नेपालमा हिमाली भेग र पहाडी भेगबाट तराई र गाउँबाट सहर सर्ने क्रम प्रशस्तै छ। जनगणना २०७८ को घरहरूको तथ्याङ्कहरू हेर्दा हाल ५ लाख भन्दा बढी घरहरू बसोबास गर्न लायक भएर पनि खाली रहेको देखिन्छन्। अथवा ती बस्तीहरू मृत बस्तीमा रुपान्तरित हुँदैछन्। यस्तै, क्रममा यस प्रेणतालाई आफ्नो जीवनको एक अनुभव अत्यन्त छोटकरीमा यस लेखमार्फत् साझा गर्न मन लाग्यो।

सहरी योजना अध्ययनको क्रममा दाङ जिल्लाको पुरानो बस्ती कोइलाबासको एक सानो अध्ययन गरेको थिएँ। यो सहरले पश्चिम नेपालको एक ट्रान्जिट हबको रूपमा काम गर्दथ्यो र भारतबाट आवश्यक सामानहरू दाङ र देउखुरी उपत्यकामा ढुवानी गरिन्थ्यो। अध्ययनको क्रममा थाहा भयो कि नेपालको पूर्व-पश्चिम राजमार्गको बुटवल-कोहलपुर खण्ड निर्माणपछि (सन् १९७२-१९७६) सहरले विस्तारै सहरी कार्यहरू गर्न छोडेको रहेछ। 

विभिन्न सूचकहरूको आधारमा गरिएको अध्ययनले उक्त बस्ती मृत सहरको सूचीमा पर्‍यो। तर, हाल गढवामा बनेको राप्ती नदीको पुलको कारणले उक्त सहरले पुनर्जीवन पाउने क्रममा रहेको छ। त्यस्तै क्रममा हाल आफू बसेको देशको प्रशस्त मृत सहर घुमेको छु। र ती मृत सहरहरूलाई एक ऐतिहासिक र सांस्कृतिक संग्रहालयका रुपमा विकास गरी पर्यटक केन्द्रहरूको रुपमा विकास गरिएका छन्। मेरो आशय केही स-साना नवीन विधिको प्रयोगबाट खेर गएका स्रोतहरूको पुन: सुधारिएको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने हो।   

(भरतपुर चितवन, हालः अमेरिका)

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप २०८३ : समूह ‘सी’ मा नेपालको यात्रा र मुख्य चुनौतीहरू

काठमाडौं । आउँदो फेब्रुअरी ८ बाट सुरु हुने टी–२० विश्वकपको पर्खाइमा विश्वभरि क्रिकेटप्रेमीहरूको ध्यान केन्द्रित छ। त्यसभन्दा बढी उत्साहित फ्यानहरू नेप...

हुम्ला ताजाकोटमा औषधि खरिदमा अनियमितता: गाउँपालिकाका चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकामा औषधि खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

झापामा ‘सादा पोसाकका प्रहरी’ होइनन्, बालेन्द्रकी पत्नीसँग हिँडेका व्यक्ति आफन्त र पार्टी सदस्य मात्र

काठमाडौँ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहकी पत्नी सविना काफ्लेसँग घरदैलो गर्दै हिँड्दा सामाजिक सञ्जालमा ‘सादा ...

संघीय हस्तक्षेपविरुद्ध मधेस सरकारको रिट सर्वोच्चमा अन्तिम चरणमा

काठमाडौँ । मधेस प्रदेश र संघीय सरकारबीचको अधिकार क्षेत्र विवाद सर्वोच्च अदालतमा अन्तिम चरणमा पुगेको छ। सर्वोच्चले सर्लाहीको सागरनाथ वन परियोजना र वन ऐ...

प्रणयकाे रास्वपालाई प्रश्नः २५ हजार रुपैयाँको प्राइमरी इलेक्सन कहाँ गयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. प्रणय शमशेर राणाले पार्टीले उम्मेदवार आकांक्षीहरूबाट उठाएको रकमको स्पष्ट हिसाब मागेका छन्।...

इटाली पठाइदिने प्रलोभन, काठमाडौंमा बन्धक : ५ बंगलादेशीको उद्धार, अन्तरदेशीय गिरोहका ७ पक्राउ

काठमाडौं । इटालीमा रोजगारी लगाइदिने आश्वासन दिएर बंगलादेशबाट काठमाडौं ल्याइएका पाँच नागरिकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। यस प्रकरण...

जथाभावी पार्किङमा राखिएका १५ बस कारबाहीमा

काठमाडाैं । जथाभावी पार्किङमा राखिएका १५ वटा बसलाई प्रहरीले कारबाही गरेको छ । बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरी राखिएका १५ वटा ल...

कैलाली–४ : ‘लेखराजलाई लखेट्ने’ मोर्चामा नयाँ अनुहारहरूको घेरा

कैलाली । कैलाली–४ को चुनावी इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ—यहाँ मतदाता स्थिर छैनन्, निर्णय स्थिर छैन, र परिणाम त झन् कहिल्यै पूर्वानुमानमा अडिँदैन।...

मधेशमा किन बढ्दै छ शृंखलाबद्ध हत्या ? के गर्दै छ प्रहरी ?

जनकपुरधाम । मधेशका जिल्लाहरू पछिल्ला दिनमा एकपछि अर्को जघन्य हत्याका घटनाले तर्सिएका छन्। ४८ घन्टाभित्र सिरहा, महोत्तरी र बारामा भएका तीन फरक प्रकृतिक...

चुनावी भ्रामकता रोक्न आयोग–टिकटक समझदारी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्रीलाई नियन्त्रण गर्न निर्वाचन आयोगले टिकटकसँग औपचारिक समझदारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE