Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

हिउँदमा हिमपात र वर्षा नहुँदा वातावरणमा असर

खबरडबली संवाददाता

म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् । हिउँदमा हिमपात नभएपछि सेता हिमालहरू फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्नलगायत तरकारी बाली ओइलाउन थालेको कृषकले बताएका छन् । 

माघ नसकिँदै गर्मी बढेको र विगतका वर्षको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका– २ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए । जल तथा मौसम विज्ञान विभागले १५ मंसिरदेखि १६ फागुनसम्मको हावापानी आकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतमदेखि अधिकतम तापक्रम बढ्ने पूर्वानुमान यसअघि नै गरेको थियो । हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो । तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरूले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहिरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताइन् । 'अहिलेको अवस्थामा वर्षा र हिमपात भइहाल्ने लक्षण देखिँदैन । सुक्खा खडेरीको लक्षण देखिएको छ । यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन', प्रवक्ता पोखरेलले भनिन् ।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट देखिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । हिमालमा हिउँको मात्रा घट्दै गएको छ । हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँरेखा) तल–माथि हुने गरेकाले पर्यावरणीय सङ्कट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड)का वैज्ञानिकहरूले बताएका छन् ।

नेपालमा मुख्यालय रहेको इसिमोडले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समयावधि पनि घट्ने जनाएको थियो । हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकाले केही वर्षअघिसम्म चाँदीजस्तै टल्कने सेता हिमाल पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेको इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मद बताउँछन् । 'पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको सङ्केत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायका लागि खतराको घण्टी हो,' वैज्ञानिक मोहम्मदले भने ।

इसिमोडका वैज्ञानिकले पानी अभाव, बाढी, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् । हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ छ । 

म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भए पनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीका पर्यटन व्यवसायी चक्रबहादुर तिलिजा पुनले जानकारी दिए ।

पुनका अनुसार, हिउँदयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रुखा र सुक्खा देखिन थालेका छन् भने हिमालहरू काला पत्थरमा परिणत भएका छन् । 'पहिले धौलागिरि हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडोयाममा समेत हिमालहरू नाङ्गिएको देखिन्छ,' तिलिजाले भने ।

पहिले चाँदीझैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिन थालेको डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटा बताउँछन् । असोज र कात्तिकमा अत्यधिक वर्षा हुनु, मङ्सिर, पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने सापकोटाको भनाइ छ ।

सुक्खा खडेरी बढ्ने सङ्केत

विभागको पूर्वानुमान महाशाखाले हिउँदको बाँकी रहेको तीन साताको समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले तत्कालै हिउँदे वर्षा र हिमपात हुने लक्षण नदेखिएकाले सुक्खा खडेरी बढ्न सक्ने बताए । उनका अनुसार जलवायु परिवर्तन र तापक्रम वृद्धिका अब्जर्भेसन आइरहेकाले मौसमी प्रणालीमा पनि परिवर्तन देखिएको हो । 

जलवायुविज्ञ डा. धर्मराज उप्रेती पनि हिउँदको बाँकी अवधिमा पानी पर्ने सम्भावना न्यून देखिएको बताउँछन् । 'गत वर्ष पनि ८० प्रतिशत कम वर्षा भएको थियो । यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था भइरहेको छ,' उप्रेतीले भने, 'कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो । २८ फेब्रुअरीपछि हिउँदे अवधि सकिएर प्रि–मनसुन सुरु हुन्छ, अब बाँकी तीन हप्ता हिउँदमा पानी पर्ने सम्भावना न्यून छ ।' 

उप्रेतीका अनुसार भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बङ्गालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले पश्चिमी वायु कमजोर देखिएको छ । पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुन नसक्ने उनको भनाइ छ । 'यसपटक पश्चिमी वायु सक्रिय हुन सकेन । त्यसै कारणले यसपालि कर्णाली र सुदूरपश्चिमका केही भूभागबाहेक अन्यत्र वर्षा र हिमपात हुन सकेन,' उप्रेतीले भने । उनका अनुसार अहिलेसम्म ९.२ प्रतिशत मात्रै वर्षा भएको छ । 'हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्ने हो तर ५.५ मिलिमिटर मात्रै परेको छ, त्यो पनि पश्चिमी भागमा मात्रै,' उप्रेतीले भने ।

पारिस्थितिकीय प्रणालीमा असर

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण समग्र पारिस्थितिकीय प्रणालीमा असर पर्दै जान थालेको जानकारहरूले बताएका छन् । कृषि वैज्ञानिकहरूका अनुसार हिउँदमा पानी नपर्दा कृषि–खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पर्दै गएको छ । पानीका स्रोतहरू सुक्दै गएका छन् । सिँचाइको प्रबन्ध नभएका ठाउँहरूमा खडेरीले खाद्यान्न उत्पादन घटेको छ ।

'हिमाली क्षेत्रका जमिनमा माटोको अम्लिएपना बढ्दै जाँदा रैथाने बालीहरू लोप हुँदै गएका छन् । जङ्गली फलफूलको पाक्ने समय परिवर्तन भएको छ । कैयौँ वनस्पति र जङ्गली पशुपक्षीहरू देखिन छोडेका छन् । खोला तथा नदीहरूमा पानीमा मात्रा कम हुँदै गएको छ,' हिमाली क्षेत्रको वातावरणीय अध्ययनमा सक्रिय प्रत्युष वाग्लेले भने, 'हिमाली क्षेत्रको पर्यावरणमा गम्भीर चुनाैती उत्पन्न भएको छ ।'

उनका अनुसार वनमा जङ्गली जनावरले पानी नपाउनेलगायत समस्या बढेका छन् । जङ्गली जनावरहरू जङ्गल छोडेर गाउँ बस्तीतिर पस्न थालेका छन् । सुक्खा बढेका कारण वनमा आगलागी घटना भइरहेका छन् । शहरहरूमा प्रदूषण खतराको तहसम्म पुगेको छ ।

पानी नपर्दा हिमालमा हिउँसँगै तल्लो भेगमा पानीलाई असर गरिरहेको वाग्लेको भनाइ छ । 'हिउँ नपर्दा हिमाल नाङ्गा देखिएको, काला पत्थर देखिएको, ठाउँ–ठाउँमा उजाड भएको छ, यसको सिधै प्रभाव तल आएर पानीमा देखिन्छ । पानीका मुहान, स्रोत सुक्न थालेका छन् जसले गर्दा पिउने पानीको समेत सङ्कट आउन सक्छ‚' वाग्लेले भने ।

यस वर्ष (सन् २०२४) मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको इसिमोडले जनाएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यस वर्ष २०१८ को तुलनामा ०.५ प्रतिशतले मात्रै बढेको इसिमोडको तथ्याङ्कमा उल्लेख छ ।

गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्त्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै, पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले लगातार परिरहने त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गल नै सुक्ने अवस्था आइरहेको छ ।

जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत गम्भीर असरहरू देखिन थालेको चिकित्सक तथा वातावरणविज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोगहरू देखिएका छन् । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्त्वपूर्ण जडीबुटी यार्सागुम्बालगायतका वनस्पति पनि लोप हुने खतरा रहेको विभिन्न अध्ययनहरूले पनि पुष्टि गरेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending