काठमाडौं । अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)को घातक आक्रमणको एक वर्ष पूरा भएको छ । एक बर्ष पहिले आजकै दिन हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरी व्यापक नरसंहार गरेको थियो । आक्रमणमा एक हजार २०५ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई इजरायलको दक्षिणी क्षेत्रबाट बन्धक बनाएर आक्रमणकारी लडाकू समूहहरूले लगेका थिए ।
हजारौँ युवाहरू साङ्गीतिक माहोलमा रमिरहेका बेला हमास तथा अन्य सशस्त्र प्यालेष्टिनी लडाकू समूहले दक्षिण इजरायलमा नोभा सङ्गीत महोत्सवको स्थल किब्बुट्ज रीमलगायतका स्थानमा रक्तपात मच्चाएको थियो । आक्रमण र आफ्ना प्रियजनको दुःखद् सम्झना गर्दै सोमबार सयौँ इजरायली नरसंहार स्थलमा भेला भई श्रद्धाञ्जलि व्यक्त गरेका विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरूले सोही स्थानमा उक्त दिन हमासले बन्धक बनाई लगेका र फिर्ता हुन बाँकी बन्धकको रिहाइका लागि माग गर्दै गरिएको प्रदर्शन गरेका छन् । आक्रमणस्थलमा नै उनीहरूले आफ्ना प्रियजनको विगत र वर्तमान् अवस्थाको सम्झना गरे । नोभा सङ्गीत महोत्सव स्थलमा भावनाको ओइरो लागेको छ ।
प्यालेस्टिनी लडाकूहरूले गाजा पट्टीमा गरेको आकस्मिक आक्रमणको वर्षदिनको सम्झनामा इजरायल र विश्वभरका शहरहरूमा श्रद्धाञ्जलि सभाका साथै बन्धकको रिहाइको लागि आवाज बुलन्द पारिएको छ । राष्ट्रपति आइज्याक हर्जोगले नोभा सङ्गीत महोत्सवको स्थल किब्बुट्ज रीममा बिहान ६ः२९ बजे मौन धारण गरी दिनको सुरुवात गरेको थियो । उक्तस्थलमा हमासका लडाकूहरूले गरेको सबैभन्दा घातक आक्रमणमा कम्तीमा ३७० जनाको मृत्यु भएको थियो ।
हर्जोगले भीडलाई भेट्दा मृतकका परिवारहरू स्मारकमा उपस्थित भएका थिए र धेरै जना रोइरहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण भएका श्रब्यदृष्य सामग्रीमा देख्न सकिन्थ्यो । गाजा पट्टीमा एक वर्षको युद्धपछि प्यालेस्टिनी जनताको समर्थनमा आवाज उठाउन र हमासको आक्रमणमा मारिएकाहरूलाई श्रद्धाञ्जलि दिन आइतबार विश्वभरका शहरहरूमा कार्यक्रमहरू भएका छन् । “अक्टोबर ७ मा भएको यो भयानक नरसंहारको एक वर्षपछि यो कार्यक्रममा आउनु निकै मर्मस्पर्शी छ,” नोभा आक्रमणका पीडितहरूको सम्झनामा आइतबार तेल अभिभमा आयोजित एक समारोहमा आयोजक सोली लानियाडालाई उद्धृत गरी एएफपीले लेखेको छ ।
इजरायलले गाजामा युद्ध गरिरहेको र लेबनानको उत्तरमा हमासको सहयोगी हिजबुल्लाहविरुद्ध नयाँ युद्ध गरिरहेको बेला इजरायल र हमास कुनैको पक्षधरता भन्दा पनि दिगो शान्तिको लागि आवाज उठाउनु आजको आवश्यकता हो । तर गाजा र लेवनान केन्द्रित युद्ध जारी रहँदा दिगो शान्तिको अवाजलाई पक्षधरताले छाँयामा पारेको छ । गत हप्ता इरानले इजरायलविरूद्ध गरेको क्षेप्यास्त्र आक्रमणलाई लिएर उसले तेहरानविरुद्ध पनि प्रतिशोधको तयारी गरिरहेको छ । यसले अझ व्यापक द्वन्द्वको आशङ्का बढाएको छ ।
इजरायली सेनाले सोमबार गाजाबाट कम्तीमा चार वटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ र यसले गाजा पट्टीभरि हमासको प्रक्षेपण चौकी र भूमिगत आतङ्कवादी संरचनामा आक्रमण गरेको जनाएको छ । हमासको सशस्त्र शाखाले एक विज्ञप्ति जारी गर्दै आफ्ना लडाकूहरूले गाजासँगको सीमा नजिक रफाह, केरेम शालोम र किब्बुट्ज होलिट सीमामा ‘शत्रुको जमघट’लाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ । उत्तरी इजरायलमा सोमबार बिहान व्यापक साइरन बजेको र छिमेकी लेबनानबाट दैनिक रकेट प्रहार हुने गरेको सेनाले जनाएको छ ।
बन्धकको भविष्यप्रति आफन्तको चिन्ता
अक्टोबर ७ मा हमासले नियन्त्रण गरी लगेका बन्धकमध्ये ९७ जना अझै पनि तटीय क्षेत्रमा बन्धककै रूपमा जीवित रहेको विभिन्न स्रोतहरूको हवाला दिँदै उनीहरूका आफन्तहरूले बताउने गरेका छन् । यद्यपि, इजरायली सेनाले बन्धकमध्ये ३७ जनाको मृत्यु भइसकेको जनाएको छ । बन्धक बनाइएका व्यक्ति र समर्थकका परिवारले सोमबार बिहानै पनि तेल अभिभमा उनीहरूको रिहाइका लागि दवाव दिने नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकी जुलुस निकाले र उनीहरूलाई फिर्ता बोलाउन माग गरे ।
गत नोभेम्बरको अन्त्यमा एक साता लामो युद्धविरामका क्रममा २४० जना प्यालेस्टिनी कैदीको बदलामा १०५ जना बन्धकलाई रिहा गरिएको थियो । गाजाको सीमाबाट दुई किलोमिटरभन्दा कम दूरीमा रहेको पश्चिमी इजरायलको शहर स्डेरोटमा राष्ट्रपति हर्जोगले सोमबार हमासविरुद्धको युद्धमा मारिएकाहरूको सम्झनामा एक समारोहको नेतृत्व गरेको छ भने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार जित हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै हमासको आक्रमणपछिको वर्षमा सेनाले वास्तविकतालाई पूर्णरुपमा परिवर्तन गरेको दाबी गरेको थियो ।
उत्तरी गाजामा इजरायली सेनाले एक वर्षको हवाई आक्रमण र लडाईंका बावजुद हमासले पुनर्निर्माण गरिरहेको सङ्केतपछि जबलिया क्षेत्रलाई इजरायली सेनाले घेरेको नेतन्याहुले बताएको छ । उक्त क्षेत्रमा उद्धारकर्ताहरूले आइतबार इजरायली हवाई आक्रमणमा परी नौ बालबालिकासहित १७ जनाको मृत्यु भएको बताएका छन् । सेप्टेम्बरको अन्त्यमा इजरायलले इरान समर्थित हिजबुल्लाह आन्दोलनविरुद्ध सैन्य कारबाही तीव्र पार्दै आफ्नो ध्यान उत्तरतर्फ मोडेको थियो । हिजबुल्लाहले हमासको समर्थनमा लेबनानबाट सीमामा नियमित रूपमा रकेट पठाउँदै आएको थियो ।
लेबनानमा इजरायली हवाई आक्रमणमा परी एक हजार ११० भन्दा बढीको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । इजरायलले उत्तरी इजरायलमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं इजरायलीलाई स्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ ।
आश्वस्त पार्दै नेतृत्व, सर्वसाधारणमा निराश
“एक वर्षअघि हामीले ठूलो क्षति बेहोर्नुपर्यो । विगत १२ महिनामा हामीले उक्त अवस्थालाई पूर्णरुपमा परिवर्तन गरेका छौं,” नेतन्याहूले लेबनानको सीमा भ्रमणका क्रममा भने । उनले सेनाको एक टुकडीलाई प्रोत्साहन गर्दै भने, “हामीले सँगै युद्ध लड्छौँ र सँगै जित्छौँ ।”
समाचार संस्था सिन्ह्वाका अनुसार हमासले आइतबार अक्टोबर ७ मा भएको आक्रमणलाई ‘गौरवशाली’ भन्दै प्यालेस्टिनीहरूले ‘आफ्नो प्रतिरोधबाट नयाँ इतिहास रचिरहेको’ बताएको छ । सन् २००७ देखि गाजा पट्टीमा शासन गर्दै आएको उक्त लडाकू समूहले अक्टोबर ७ को बिहानै इजरायली सीमावर्ती समुदायतर्फ हजारौँ रकेट प्रहार गरी आक्रमण गरेको थियो ।
सोही समयमा हमासका लडाकुहरूले सीमा पार गरी किब्बुत्जिम समुदाय, सेनाको अखडा र नोभा सङ्गीत महोत्सवलगायत लगभग ५० वटा विभिन्न स्थानमा आक्रमण गरेका थिए । लडाकूहरूले सामूहिक रूपमा महोत्सबमा भेला भएका मानिसहरूको भीडलाई अन्धाधुन्ध गोली तथा बम प्रहार गरेका थिए । उनीहरू पछि किसान समुदायहरूमा घर–घरमा पसेका र घरभित्रै गोली हानेर मारेका थिए ।
आक्रमणको केही घण्टापछि इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेको थियो जसले यस क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ । इजरायली कारबाहीले २४ लाख गाजाका बासिन्दामध्ये लगभग सबैलाई कम्तीमा एक पटक विस्थापित गरेको छ । गाजामा इजरायली आक्रमण सुरु भएयता कम्तीमा ४१ हजार ८७० जनाको ज्यान गइसकेको छ । जसमध्ये अधिकांश सर्वसाधारण रहेको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यो आँकडालाई भरपर्दो मानेको छ ।
एएफपीले मध्य गाजापट्टीको देइर अल–बलाहस्थित एक शिविरमा बस्दै आएकी ५१ वर्षीया विस्थापित मोना अबु नाहललाई उद्धृत गरी लेखेको छ, “यदि मलाई युद्ध एक वर्षसम्म चल्नेछ भने थाहा भएको भए म उत्तरी गाजाबाट कहिल्यै सर्ने थिइनँ । यहाँ पनि जोखिम उत्तिकै छ ।”
“हामीसँग अब यी सबै सहन सक्ने ऊर्जा छैन । यो अपमान, भोक र विस्थापन सहनुको साटो म मेरो भत्किएको घरमाथि पाल टाँगेर बस्थेँ,” उनले भने । “अक्टोबर ७ मा संसार नै बन्द भएको जस्तो लाग्छ,’ अर्का विस्थापित २६ वर्षीय इस्रा अबु मतारको भनाइ एएफपीले उद्धृत गरेको छ ।
“बम बारी र गोलाबारीको आवाजको त्रासका साथै आफ्ना छोराछोरीलाई भोकाएको, डराएको, दुःस्वप्न देखेको र दिनरात चिच्याइरहेको देखेर म निराश बनेको छु ।” गाजा र लेबनानमा जारी द्वन्द्वसँगै इरानसँग युद्धको खतरा पनि बढेको छ। इजरायलले गत साता (सेप्टेम्बर २७) बेरूतमा हिज्बुल्लाहका नेता हसन नसरल्लाह र इरानी जनरल अब्बास निलफरहानको मृत्युको बदलामा इजरायलमाथि २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो ।
इजरायलका रक्षामन्त्री योआभ ग्यालेन्टले इरानलाई गाजा वा बेरुतजस्तो देखिन सक्ने चेतावनी दिएको छ भने तेहरानले इजरायलको कुनै पनि सम्भावित प्रतिशोधको प्रतिकार गर्ने योजना तयार पारेको बताएको छ । इरान आणविक हतियार भएको इस्लामिक राष्ट्र हो । इरानसँग द्वन्द्व बढ्नु इजरायल वा अन्य कुनै युद्धमा सम्मिलित राष्ट्रका लागि मात्र जोखिम नभई यस क्षेत्रकै सुरक्षा चुनौती हो ।
प्रतिकृया लेख्नुहोस्: