Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

उपनिर्वाचनः इलाम २ मा रणनीति बनाउँदै दलहरु, आकांक्षीहरुको दौडधुप

खबरडबली संवाददाता

इलाम । संघ, प्रदेश र स्थानीय तहका रिक्त स्थानहरुमा उपनिर्वाचनको मिति तय गर्न निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । राजनीतिक दल र सरकारसँग परामर्शपछि सम्भवतः बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन गराउने आयोगको तयारी छ ।  

उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ । ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन् । निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवारको खोजीमा दलहरु ‘आन्तरिक सर्भे’मा पनि जुटेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले मतदाताको मनोभावना बुझ्न केन्द्रीय तहबाटै नेताहरु परिचालन गरेर सर्भे गरिरहेको छ ।

उम्मेदवारमा आकांक्षा राख्नेहरुको अवस्था र मतदाताको मनोविज्ञान बुझ्न केन्द्रीय नेताहरु सक्रिय छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही साताअघि इलामै पुगेर सर्वेक्षणका आधारमा लोकप्रिय उम्मेदवार चयन गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराइछाड्ने प्रतिक्रिया दिएका थिए ।
एमाले पनि मतदाताको सहानुभूति र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी भने उपयुक्त उम्मेदवारको खोजीमा छ । उम्मेदवारको टिकट नपाएर असन्तुष्ट बनेका ठूला दलका नेता फकाएर आफ्नो उम्मेदवार बनाउने रास्वपाले रणनीति बनाएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकै नेता उम्मेदवार बन्ने लगभग निश्चित छ ।

यद्यपी, उपनिर्वाचनको मिति घोषणा नहुँदै दलहरुले इलाम २ का गाउँहरुमा गतिविधि बढाएका छन् । भेला, सभा र कार्यकर्ता भेटघाटका कार्यक्रमहरु भइरहेका छन् । उपनिर्वाचनको मिति तोकेपछि चुनावी अभियान गर्ने समय छोटो हुने भएपछि नेताहरुले सक्रियता बढाएका हुन् ।
उम्मेदवारका आकांक्षीहरु टिकट फुत्काउन काठमाडौं–इलाम बराबरी दौडधुप गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो ।

कांग्रेसको तयारी
२०५६ सालदेखि नेम्वाङ विजयी हुँदै आएको इलाम २ यसपटक कांग्रेसले जसरी पनि आफ्नो पोल्टामा पार्ने रणनीति लिएको छ । एमालेसँग झिनो मतान्तरले पराजय ब्यहोर्दै आएको कांग्रेस यस पटक विवेकपूर्वक उम्मेदवार चयन गर्ने र एकतावद्ध अभियानमार्फत आफ्नो उम्मेदवारलाई विजयी गराउने रणनीतिमा देखिन्छ । कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा र नगेन्द्र कुमाल उम्मेदवार बन्ने दौडमा देखिन्छन् । कांग्रेस इलामका पूर्वसभापति हिमालय कर्मचार्यले भने आफू उम्मेदवार नबन्ने तर पार्टीको उम्मेदवारलाई सहयोग गर्ने बताउँदै आएका छन् । 

२०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित पार्टी सभापति समेत रहेका खड्का पुनः उम्मेदवार बन्ने दौडमा छन् । तर उनलाई यसपटक पार्टीबाट टिकट लिन त्यति सहज देखिएको छैन । निर्वाचनमा पराजयपछि आफ्नै दलका अग्रज नेताहरुलाई ‘भौतिक आक्रमण गर्ने र अनुशासनको कारवाही गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण उनी आलोचित छन् ।

पार्टी सभापति भएर अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको, जिल्ला कार्य समितिको पूर्ण बैठक एक बर्षदेखि राख्न नसकेको र ‘असहयोग गरेको’भन्दै आफ्नै नेता कार्यकर्तालाई सार्वजनिक कार्यक्रमहरुमा उत्तेजित भएर गाली गर्ने गरेका कारण खड्का साझा उम्मेदवार बन्ने संभावना न्यून देखिएको कांग्रेस नेताहरुको भनाई छ । पछिल्लो समय स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मंगलबारे बहुमुखी क्याम्पस र महेन्द्ररत्न बहुमुखी क्याम्पसमा गठबन्धन उम्मेदवारलाई धोका दिएको भन्दै माओवादी केन्द्र निकटका विद्यार्थीहरु खड्कासँग रुष्ट छन् । तर पार्टी सभापति भएकाले उनी बलिया उम्मेदवार हुन् । उनले चुनावी दौडधुप बढाएका छन् ।

नेपाली कांग्रेसको संगठन निर्माणमार्फत लोकप्रियता कमाएका, पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहँदै आएका आचार्य यस पटक जसरी पनि टिकट लिएर विजयी भइछाड्ने अभियानमा छन् ।

इलामका दुईवटा निर्वाचन क्षेत्र, चारवटा प्रदेशसभा, पालिका र वडा तहका पार्टी इकाइ एवम संरचनाहरुको बहुमत नेतृत्वमा आफ्नो ‘विचार समूह’का नेताहरुलाई स्थापित गराएको बताउँदै आएका आचार्यले जुनसुकै दलमा आस्थावान मतदाताको मत आफूले पाउने दाबी गरिरहेका छन् ।  ‘लो प्रोफाइल’मा बसेर संगठन निर्माणमा तीन दशकदेखि सक्रिय रहेको बताउँदै आएका आचार्य यस पटक आफूले टिकट पाउने र विजयी भएरै छाड्ने बताउँछन् ।

कांग्रेसबाटै पूर्वराज्यमन्त्री केशव थापा पनि चुनावी अभियानमा देखिन्छन् । कुनैबेला पार्टी दुई चिरा हुँदा शेरबहादुर देउवाको क्याम्पमा बसेर इलाममा संगठन निर्माणमा सक्रिय रहेका थापा लामो समयपछि फेरि संसदीय राजनीतिमार्फत सक्रिय हुने मनस्थितिमा छन् । तर केही बर्ष राजनीतिमा त्यति सक्रिय नदेखिएका थापा नयाँ पुस्तासँग घुलमिल नभएका कारण चुनाव जित्न निकै मेहेनत गर्नुपर्ने कार्यकर्ताहरु बताउने गर्छन् । आदिवासी जनजाती महासंघको पूर्वअध्यक्ष रहेका र  समानुपातिकतर्फबाट सांसद भइसकेका नगेन्द्र कुमाल पनि टिकट फुत्काउने दौडाहामा छन् ।

कांग्रेसका जोसुकै उम्मेदवार भएपनि एकताबद्ध चुनावी अभियान संचालन नगरेसम्म इलाम २ आफ्नो पोल्टामा पार्न कठिन देखिएको छ । पार्टीको जिल्ला अधिवेशनमा खड्कालाई सभापतिमा सहयोग गरेका थापा र खड्काबीचको सम्बन्ध पछिल्लो समय विग्रिएकाले देउवा समूहमा विचलन देखिएको छ ।
जसको प्रत्यक्ष असर देउवा समूह र पार्टीभित्र पर्ने देखिन्छ । तर डा।शेखर कोइराला र महामन्त्री गगन थापाको समूहबाट निर्विकल्प उम्मेदवार मानिएका आचार्यले सबैलाई मिलाएर चुनाव जित्ने दाबी गरिरहेका छन् ।
उम्मेदवारहरुको जेजस्तो दाबी र आकांक्षा रहेपनि उम्मेदवार चयन गर्दा पार्टीले गुटगत वा पहुँचका आधारमा गर्नुनहुने कांग्रेसका पुराना नेता राजेन्द्र शर्माको धारणा छ ।

‘केन्द्रीय नेताहरुमा पहुँच पुर्याएका आधारमा, पटक पटक परीक्षण भइसकेका र मतदाताको मनोभावाना नबुझेका नेतालाई टिकट दिए पार्टीले ठूलो क्षति व्यहोर्नेछ,’ उनले भने,‘कांग्रेसले उम्मेदवार चयन गर्दा पार्टीका क्रियाशील सदस्यहरुको मतदानमार्फत चयन गर्दा राम्रो हुन्छ ।’ इलाम २ मा नयाँ दल र जातीय मतको प्रभाव कम रहेको उल्लेख गर्दै उनले कांग्रेस–एमालेले धेरै विवेक पुर्याएर मात्र उम्मदवार चयन गर्नुपर्ने बताउँछन् ।

एमालेको रणनीति

एमालेका बलिया र पुराना हस्ती सुवास नेम्बाङको निधनसँगै इलाम एमालेमा एक किसिमको रिक्तता छ । पार्टीमा लामो समय विताएका सक्रिय नेताहरु जिल्लामा रहेपनि चुनाव जित्ने उम्मेदवारको खडेरीजस्तै देखिएको छ ।
तर पनि आफ्नो विरासत जोगाउन एमालेले ठूलो कसरत गरिरहेको छ । कांग्रेसबाट कुन व्यक्ति उम्मेदवार बन्छ त्यसका आधारमा आफ्नो उम्मेदवार तय गर्ने रणनीतिमा एमालेको तयारी छ । एमालेबाट एमाले उपाध्यक्ष उदय राई, नेता जयप्रकाश राई, डा।देवी क्षेत्री दुलाल, प्रदेश सदस्य गणेश बराल, क्षेत्रीय इन्चार्ज बुद्धि खनाल र युवा नेता रवीन्द्र सुवेदी उम्मेदवार बन्ने दौडमा छन् । पछिल्लो समय नेम्वाङका छोरा सुहाङले पनि सक्रियता बढाएका छन् ।

जनजाती अनुहार प्रस्तुत गर्ने वा सहानुभूति क्यास गर्ने रणनीति बनाएको खण्डमा एमालेले राईद्वय र सुहाङलाई अघि बढाउने संभावना छ । नेम्वाङको स्वकीय सचिबका रुपमा करिब दुई दशक विताएका बुद्धि खनाल क्षेत्रीय इन्चार्ज समेत रहेकाले आफू जित्ने उम्मेदवार रहेको दाबी गर्दै आएका छन् ।
नेम्बाङको सचिवालयमा रहेर गाउँका मतदातासँग प्रत्यक्ष जोडिएकाले आफू बलियो उम्मेदवार रहेको खनालले बताउने गरेका छन् । त्यस्तै युवाहरुको मनोभावना तान्न रवीन्द्रले आफूलाई बलियो ठानेका छन् । बरालले भने प्रतिस्पर्धी दलका उम्मेदवारको अनुहारका आधारमा आफू उम्मेदवार बन्ने दाउमा छन् । देवी क्षेत्रीले आफू साझा उम्मेदवार रहेको दाबी गरिरहेका छन् । 

प्रगतिशिल लेखक एवम विश्लेषक डा।देवी क्षेत्री दुलाल इलाम २ मा उम्मेदवार चयन गर्दा यस पटक मिहीन ढंगले मतदाताको मनोभावना बुझ्नुपर्ने र विवेक पुर्याउन सुझाव दिन्छन् ।
‘पहिचान वा जातीय मुद्दाका सवालमा कोही अतालिनु पर्दैन् । तर नयाँ अनुहार वा सहानुभूति साथै लहडमा उम्मेदवार चयन गर्दा एमालेले ऐतिहासिक क्षति ब्यहोर्नसक्छ,’ डा।दुलालले भने,‘पुराना, सक्रिय र क्षमतावाना नेताहरुको योगदानलाई अपमानित गरेर पार्टीले उम्मेदवार चयन गर्नुहुँदैन् । इलाममा यतिबेला सहानुभूति र उत्तराधिकारी खोज्ने परिस्थिति छैन ।’ संगठन निर्माणमा सक्रिय, क्षमतावान र अवसर नपाएका लोकप्रिय उम्मेदवार चयन गर्न उनको सुझाव छ । 

रास्वपाको परीक्षण

पूर्वी पहाडका जिल्लामा आफ्नो संगठन विस्तार गर्ने उदेश्य लिएको राष्ट्रिय स्वतन्त्र पार्टी यस पटक इलाम २ मा आफूलाई परीक्षण गर्ने दाउमा छ । उम्मेदवार खडेरीको सामना गरिरहेको रास्वपाले शुरुमा चर्चित बैंकर्स अनिल केशरी शाहलाई उम्मेदवार बनाउने चर्चा चलाएको थियो तर त्यो चर्चा हाल सेलाएको छ ।

महेन्द्र थापा, धर्म गौतम, एलिजा गौतमको पनि नाम चर्चामा छ । तर रास्वपाले ठूला दल निकट मतदाताको मत चोर्न सक्ने प्रशस्त सम्भावना छ । स्वतन्त्र उम्मेदवार बन्ने दाउमा पत्रकार मिलन लिम्बु पनि दौडाहामा देखिन्छन् । 

मुद्दा र मतदाता

इलाम क्षेत्र नम्बर २ विकासका दृष्टिकोणले केही पछाडि परेकाले विकासमा मुद्दालाई मतदाताले प्रमुख ठानेका छन् । त्यो बाहेक उम्मेदवारको व्यक्तित्वले उक्त क्षेत्रमा विशेष अर्थ राख्दै आएको छ । २०५६ सालयता विजयी हुँदै आएका दिवंगत नेम्वाङको ठाउँमा एमालेको अर्को उम्मेदवार हुनेवित्तिकै मतमा ठूलो अन्तर देखिने निश्चित छ ।

किरात धर्मगुरुको आर्शीवाद र जातीय मतलाई आफ्नो पक्षमा पार्दै आएको एमालेलाई यस पटक चुनाव जित्न त्यति सहज देखिएको छैन । हाल सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसले साझा र लोकप्रिय उम्मेदवार तयार गरेको खण्डमा कांग्रेसले केही सहज अनुभूति गर्नेछ ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ ।
इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो । २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ ।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो । कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र  राप्रपाले  १ सय ३० मत पाएका थिए ।

त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।
यस हिसाबले हालको सत्तारुढ गठबन्धनको मत बढी देखिन्छ भने स्वतन्त्रमा खसेको मत बाँडिन सक्ने देखिन्छ । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतको पनि मत छ । 

प्रतिनिधि सभा निर्वाचन भएपनि उक्त क्षेत्रमा विकासका मुद्दाले पनि विशेष अर्थ राख्दै आएको छ । बहुपतिक्षीत आयोजनाहरु रवी–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल, किरात धर्मगुरुको क्षेत्रमा माग गरेअनुसारको विकास नगरेको आरोप एमालेले खेप्दै आएको छ ।
कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, राप्रपा जस्ता पार्टीहरु राज्यको जिम्मेवार ठाउँमा नपुगेकाले त्यो आरोपबाट जोगिएका छन् । पछिल्लो समय कोशी प्रदेशको नामकरणको विषय वा पहिचानको मुद्दा र दुर्गा प्रसाईंको अभियानले ठूला दलहरुलाई असर पारेको छ । त्यसमाथि एमाले त्यसको निसानामा छ ।
प्रदेश नम्बर १ लाई कोशी नामाकरण गर्ने सरकारको नेतृत्व एमालेले गरेको र प्रसाईंको उत्तेजित अभिव्यक्तिको निशानामा एमाले परिरहेकाले त्यसको असर मतदाताको मनोभावनामा पर्ने त्रास छ ।

कांग्रेस नेता शर्माकै बिचारलाई आधार मान्ने हो भने इलामबाट विजयी भएर राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुगेका नेताहरुले विकास निर्माणका काममा प्रभावकारी भूमिक निर्वाह गर्न नसकेकाकाले उपनिर्वाचनमा त्यसको असर पर्ने देखिन्छ । विकासका मुद्दामा ठूला दलप्रति मतदाताको गुनासो छ । साना दलहरुले राज्यको उपल्लो तहमा पहुँच पुर्याउन नसक्ने भएकाले विकासमा असर पर्ने मतदाताको बुझाइछ ।

विद्रोह र विग्रहको संकेत

इलाम २ मा कांग्रेस–एमालेकै दबदबा छ । जिल्लामा बसेर दशकौंदेखि संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहेका नेताहरुलाई उपेक्षा गरेको खण्डमा दुवै दलमा विद्रोह र विग्रहको संकेत समेत देखिएको छ । पार्टीमा अवसर नपाएको खण्डमा नेता व्यवस्थापन गर्ने सिलसिलामा राज्यका महत्वपूर्ण निकाय वा राजनीतिक नियुक्तिमा समेत हेपिएका इलामका नेताहरुमा उपनिर्वाचनपछि ठूलो विग्रह आउने देखिन्छ ।

कांग्रेसबाट चुनावी दौडाहमा रहेका थापा तीनवटा निर्वाचन क्षेत्र कायम रहँदा इलाम ३ बाट चार पटक चुनाव लडेर दुई पटक विजयी भएका थिए । उनले राज्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन् भने कुमालले समानुपातिकतर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् ।
त्यस्तै जिल्ला सभापति खड्काले नेविसंघको केन्द्रीय तहमा अवसर पाएपनि सदन प्रवेश गर्ने अवसर पाएका छैनन् । उनी प्रदेश सभा २ ९क० बाट टिकट पाएर पराजित भएका थिए । आचार्यले जिल्लाको संगठन निर्माणमा तीन दशक विताएपनि पार्टीको केन्द्रीय र राज्यका निकायमा कुनैपनि अवसर नपाएको बताउँदै आएका छन् । उनी ०७० सालमा नेम्वाङसँग आमने सामने भएका थिए । त्यसबेला आचार्य नेम्वाङसँग पराजित भएका थिए । 

एमालेमा पनि नेम्वाङको उत्तराधिकारीका रुपमा छोरा सुहाङलाई अघि बढाएको खण्डमा पार्टीभित्र ठूलो विद्रोह आउनसक्ने अनुमान समेत कतिपयको छ । नेपाल न्युज बैंकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending