Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा

खबरडबली संवाददाता

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् ।

विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन र नवीकरण गर्न बनाउन नपाउँदा समस्यामा परेका हुन् । राहदानीको समस्याले गर्दा विशेषतः पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू बढी मारमा परेका छन् ।

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन । राहदानी लगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीहरूले दूतावास आउन ढिलाइ भए पनि तत्काल राहतका लागि घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।

राहदानीको म्याद सकिनै लागे पनि नयाँ राहदानी बनाउन नपाउँदा आफू समस्यामा परेको फ्रान्स हुँदै २० महिनाअघि पोर्चुगल आएका पोखराका रवि थापाले बताए । “मेरो राहदानीको म्याद सकिन अब डेढ महिनामात्रै बाँकी छ, मेरा धेरै साथीहरूको पनि राहदानीको म्याद सकिन लागेको छ । हामी यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको पर्खाइमा छौँ । तर राहदानी बनाउन नसक्दा समस्यामा परेका छौँ”, थापाले भने । राहदानी बनाउनका लागि जोखिम मोलेरै भए पनि स्पेनको मेड्रिडस्थित रहेको नेपाली दूतावास जाने तयारी गरेको उनले बताए । 

स्याङ्जाका युवराज रोकाको समस्या पनि उस्तै छ । क्रोसिया हुँदै डेढ वर्षअघि पोर्चुगल आएका रोकाको राहदानीको म्याद सकिन दुई महिनामात्रै बाँकी छ । हाल मदेइरामा कार्यरत रहेका उनि राहदानीको म्याद सकिन थालेपछि चिन्तित छन् । राहदानी बनाउन ढिलाइ भए यहाँको कागजी प्रक्रियामा समस्या हुने रोकाले बताए । “सरकारले छिट्टै टोली पठाइदिए त हामीजस्ता समस्यामा परेकालाई ठूलै राहत हुने थियो”, रोकाले भने । 

थापा र रोकाको जस्तै समस्या दाङका जनप्रसाद पुनको पनि छ । पुन पनि राहदानीको म्याद सकिन लागेपछि तनावमा परेका छन् । “धेरै अघिदेखि टोली आउने भन्ने सुनेको हो, मजस्ता धेरै साथी राहदानी बनाउनका लागि टोलीको पर्खाइमा छौँ”, पुनले भने, “टोली नआउने हो भने त हामी समस्यामा पर्छौ, टोली नआउने नै भए त स्पेन, फ्रान्ससम्म धाएर भए पनि राहदानी त बनाउनैपर्छ, तर ती मुलुकसम्म धाउन पनि वैधानिक कागजात नहुँदा जोखिम मोल्नुपर्ने बाध्यता छ”, पुनले अगाडि थपे । 

विगत लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण धेरै सास्ती खेप्नुपरेको सुनाए । दुई छोराछोरी र आफ्नो गरी तीन जनाकै राहदानी बनाउनुपर्ने भए पनि नेपाली दूतावास रहेको छिमेकी मुलुक धाउनैपर्ने बाध्यता भएको उनले बताए । छोराको रेसिडेन्सी कार्डको म्याद सकिएर तीन पटकसम्म समय लिएर नवीकरण गर्न आप्रवासी मामिला हेर्ने सरकारी कार्यालय धाए पनि राहदानीको म्याद नै नभएको भन्दै कार्डसमेत नवीकरण गर्न नसकेको पीडा श्रेष्ठले सुनाए । 

“टोलीको आशमा बस्दा  बाबुको कार्डसमेत नवीकरण गर्न सकिनँ, त्यसैले नयाँ राहदानी बनाउनका लागि अहिले स्पेन आएको छु । यहाँ आएर राहदानीसम्बन्धी सबै काम सकाएँ, दुःख पाए पनि अब राहदानी बन्ने ढुक्क भयो”, श्रेष्ठले भने । 

लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्याङ्कानुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको संख्या दुई हजार छ सयभन्दा बढी छ । जसअनुसार दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ । विशेषगरी पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन कार्यालय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीले राहदानी बनाउन नपाउँदा बढी समस्यामा परेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूूत मकरबहादुर हमालले भने । 

“हामीले तत्कालको समस्या समाधानका लागि फ्रान्सस्थित दूतावासबाट घुम्ती टोली ल्याउन पहल गरिरहेका छौँ, टोली आउने/नआउनेबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन । तर तत्काल टोली नआउने हो भने त यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको तयारीमा रहेका धेरै नेपालीलाई सस्या हुने अवस्था छ”, महावाणिज्यदूत हमालले भने । 

राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन भन्दै धैरै नेपाली दैनिकजसो महावाणिज्य दूतावासको कार्यालय धाउने गरेको र कार्यालय परिसरमा भीडभाड नै लाग्ने गरेको उनले सुनाए । 

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राहदानीसम्बन्धी समस्या समाधानका लागि घुम्ती टोली ल्याउन पहल भइरहेको बताए । “घुम्ती टोलीका लागि फ्रान्सस्थित नेपाली दूतावास र मन्त्रालयमा पटक–पटक अनुरोध गरेका छौँ, तत्कालको राहतका लागि दुई साताका लागि भए पनि टोली ल्याउने हाम्रो पहल जारी छ”, खड्काले भने । 

विभिन्न मुलुक हुँदै पोर्चुगल आउने नेपालीको सङ्ख्या बढेसँगै राहदानीलगायतका कागजातसम्बन्धी समस्या पनि बढ्दै गएको छ । पोर्चुगलमा नेपाली दूतावास खुलिनसकेका कारण राहदानी बनाउन छिमेकी मुलुक स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कस्थित रहेको नेपाली दूतावाससम्म पुगेर राहदानी बनाउन सकिने व्यवस्था छ । तर राहदानीविहीन नेपालीहरू राहदानी बनाउन स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कमा रहेका नेपाली दूतावाससम्म धाउनका लागि वैधानिक कागजात छैन । 

पोर्चुगलमा रहेका नेपालीको समस्याका विषयमा आफू जानकार रहेको र राहदानी बनाउने सन्दर्भमा जतिसक्दो छिटो टोली आउने तयारीमा रहेको फ्रान्सको पेरिसस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सीता बस्नेतले बताइन् । “दूतावासबाट पोर्चुगल जाने यसअघि नै हाम्रो कार्यतालिकामा थियो, तर कर्मचारी अभावका कारण त्यो सम्भव भएन”, बस्नेतले भनिन् ।

राहदानीसम्बन्धी देखापरेको समस्याका सन्दर्भमा परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई यसअघि नै पत्राचार गरी जानकारी गराइसकेको उनले बताइन् । “हामीले पोर्चुगललाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, आवश्यक प्रक्रियाका लागि मन्त्रालयको निर्देशनको पर्खाइमा छौँ”, बस्नेतले भनिन् । विभागबाट निर्देशन आएलगत्तै टोलीे लिस्बन आउने उनको भनाइ छ । 

पछिल्लो समय रोजगारीका सिलसिलामा पोर्चुगल आउने नेपालीको सङ्ख्या बढ्दै गएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ५० देखि ६० हजार हाराहारीमा रहेको अनुमान छ । यसअघि गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । उक्त घुम्ती सेवाबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending