काठमाडौं । एक क्वीटल सुन प्रकरणमा पक्राउ परेका दुई जना विदेशी नागरिकले नेपालमा लामो समयदेखि आपराधिक गतिविधि गरिरहेको तथ्य फेला परेको छ । नेपालको अपराधको सञ्जालमा जोडिएर उनीहरूले धन्दा चलाएको नेपाल प्रहरीको अभिलेखमा भेटिएको हो ।
सुन प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका नागरिक झण्डै दुई दशकदेखि नेपालमा अवैध गतिविधिमा संलग्न रहेको पाइएको हो । चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ १७ वर्षअघि नै नेपालमा अवैध गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेको तथ्य भेटिएको हो । त्यतिबेला छिरिङले नेपालमा राजनीतिक पहुँच भने बनाइसकेका थिएनन् । साथै, नेपाली मूलकी महिलासँग उनको विवाह पनि भइसकेको थिएन ।
प्रहरी स्रोतका अनुसार छिरिङ १७ वर्षअघि २४ मंसिर २०६३ मा काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए । स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधिलगायत अन्य अवैध गतिविधिमा संंलग्न रहेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो । उक्त मुद्दाबाट छुटकारा पाएपछि राजनीतिक पहुँच बनाउन उनी सक्रिय भएका थिए ।
२०६३ सालमा नेपालमा राजनीतिक संक्रमणकालको समय भएकाले पनि छिरिङले अवैध गतिविधि बढाउने र राजनीतिक पहुँच बढाउने काम पनि गरेको पाइएको छ । संक्रमणकालको त्यही फाइदा उठाएर उनले नक्कली कागजात बनाएर नेपाली नागरिकता बनाएको रहस्य खुलेको छ । त्यतिबेला नेपाल राजनीतिक संक्रमणको समयमा भएका कारण उनीमाथि सजाय भएको विषयमा विस्तृत विवरण पाइएको छैन । त्यसैगरी, छिरिङ दोस्रो पटक ४ वर्षअघि पक्राउ परेका थिए ।
२०७६ मा पक्राउ पर्दा छिरिङमाथि अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चिनियाँ नागरिकलाई ठगी गरेको आरोप थियो । त्यसबेला उनीसहित १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूलाई पक्राउ गर्न नेपालस्थित चिनियाँ दूतावासले सूचना दिएको थियो । छिरिङ पक्राउ पर्नुभन्दा २ वर्षअघि २०७४ मा नेपाली नागरिकता र राहदानी किर्ते कागजात पेस गरेर लिएको खुलेको छ ।
२०७६ मा पक्राउ पर्दा उनीमाथि उक्त मुद्दामा कारबाही भने नभएको प्रहरी स्रोतको भनाइ छ । २ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई बाहिरिएको सुन सिनामंगलबाट बरामद भएको प्रकरणमा छिरिङ जोडिएको आशंकामा तेस्रो पटक पक्राउ परेका छन् । उनलाई ठमेलको होटल भियनाबाट पक्राउ गरिएको हो । अनुसन्धानमा रहेका छिरिङसँग पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दिपेश पुन, माओवादी नेता वर्षमान पुन र पत्नी ओनसरी घर्ती लगायतसँग राजनीतिक सम्बन्ध देखिएको छ ।
त्यसैगरी, सुन प्रकरणमै पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ पनि नेपालको अपराध कर्ममा पहिला पनि संलग्न रहेको पाइएको छ । गृह स्रोतका अनुसार थुप्तेन छिरिङ नेपालको अध्यागमन विभागले ५ वर्षका लागि देश निकाला गरेका व्यक्तिसम्म रहेको खुलेको छ । चिनियाँ मूलका भारतीय नागरिक छिरिङ १९ पुस २०६७ मा गैंडाको खाग तस्करीको आरोपमा पक्राउ परेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जले चलाएको मुद्दामा थुप्तेनलाई १० वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो ।
१६ चैत २०७१ मा केन्द्रीय कारागारमा ल्याइएको थियो । थुप्तेनको अस्वाभाविक गतिविधिका कारण १९ असोज २०७२ मा नख्खु कारागार सरुवा गरिएको थियो । उक्त घटनामा सर्वोच्चमा पुनरावेदन गरेका थुप्तेनलाई सर्वोच्चले ७ वर्षमा कैद झारिदिएपछि उनी १८ वैशाख २०७४ मा रिहा भएका थिए । उक्त घटनापछि अध्यागमन विभागले उनलाई पाँच वर्षको प्रतिबन्ध लगाएर देश निकाला गरेको हो । तर, पछिल्ला दिनमा सुन तस्करीमा थुप्तेनको संलग्नता खुलेको हो ।
प्रतिकृया लेख्नुहोस्: