Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

फुटबल खेलाडीदेखि मुख्यमन्त्रीसम्मको यात्रामा नवनियुक्त मुख्यमन्त्री थापा

खबरडबली संवाददाता

काठमडौं । पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा कहिल्यै नहारेका कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाका लागि संसदीय राजनीतिको मैदान भने कहिल्यै फलदायी भएन ।

२०७९ मंसिरको प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेपछिको समय भने उनका लागि उपलब्धिपूर्ण सावित हुँदै गएको छ। समानुपातिकबाट प्रदेशसभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै झापाली नेता थापा प्रदेशको पाँचौ मुख्यमन्त्री बन्न सफल भएका छन्।

कोशीमा काँग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुन् । यसअघिका चारै जना मुख्यमन्त्री वाम ध्रुवका थिए । उनी अघिका चार जना मुख्यमन्त्रीहरु शेरधन राई, भीम आचार्य र हिक्मत कार्की एमालेका बनेका थिए भने  राजेन्द्र राई नेकपा एकीकृत समाजवादीका हुन् ।

सत्ता गठबन्धनका दलहरु नेपाली काँग्रेस २९, नेकपा माओवादी केन्द्र १२ सभामुख सभामुख बाबुराम गौतम सहित, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ को समर्थनमा काँग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई अबको ३० दिनभित्र प्रदेशसभामा बुहमत सिद्ध गर्नुपर्ने चुनौती छ। जसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन उनका लागि जरुरी हुनेछ। यो काम उनका लागि सबैभन्दा सकसपूर्ण हुने सम्भावना छ।

गठबन्धन दलहरुसँग प्रदेशसभामा जम्मा ४७ मत छ । यो ९३ सदस्यीय प्रदेशसभाको बहुमत संख्या हो । यद्यपि यो संख्यामा सभामुख बाबुराम गाैतमको पनि गणना माओवादी केन्द्रले गरेको छ । दाबी पेश गर्नेबेलामा दलका नेताहरुले हस्ताक्षर गरे पुग्ने भए पनि विश्वासको मत लिने बेलामा भने सभामुखको भूमिका के हुने भन्ने अन्योल रहेकाे छ।

भर्खरै सत्ताबाट बहिगर्मित एमालेले मात्रै होइन, संविधानविद्हरुले पनि सदनमा बराबरी मत भए मात्रै सभामुखले निर्णायक मत दिन पाउने भनिरहेका छन् । संविधानले पनि सोही कुरा भनेका कारण राप्रपा फ्याक्टर प्रदेशमा निर्णायक सावित हुने भएको छ।

थापा नेतृत्वको सरकारको दिर्घायुका लागि राप्रपाले उनलाई विश्वासको मत दिनैपर्ने हुन्छ। यद्यपि यो शर्त सजिलै पूरा हुने सम्भावना भने ज्यादै कमजोर देखिन्छ । यसका पछाडि कृष्णप्रसाद सिटौला वरिपरि रहेको झापाको काँग्रेस राजनीति र पछिल्लो समय राप्रपा नेतृत्वमा पुगेका झापाकै राजेन्द्र लिङ्देनबीचको सदाबहार राजनीतिक टकराव मुख्य कारण बनेको छ ।

केन्दीय राजनीतिमा सधैंका प्रतिष्पर्धी रहेका सिटौला र लिङ्देनको टकराव एकातिर हुँदा दोस्रो तहका नेताहरुबीचको सम्बन्ध पनि हार्दिक छैन। उद्धव थापा र भक्तिप्रसाद सिटौला कुनैबेला काँग्रेसको एउटै समितिमा काम गरेका समकालीन र एकै जिल्लाबासी पनि हुन्।

थापा र सिटौलाबीचको तिक्ततापूर्ण विगतले पनि राप्रपाले उनलाई सहजै समर्थन गर्ने सम्भावना कम छ। कुनैबेला का्रँग्रेसकै नेता रहेका भक्तिप्रसाद सिटौला अहिले राप्रपा कोशी संसदीय दलका नेता छन्। भक्ति सिटौला तिनै नेता हुन्, जसलाई १० वर्ष अघि काँग्रेस नेता कृष्णप्रसाद सिटौला समूहले काँग्रेसबाट किनारामा पारेको थियो।

उनलाई काँग्रेसबाट लखेट्न भूमिका केन्द्रमा कृष्णप्रसाद सिटौलाले गर्दा त्यसलाई जिल्लामा कार्यान्वयन गराउने समूहमा मुख्यमन्त्री थापा पनि मुख्य पात्र रहेको काँग्रेस नेताहरु नै बताउँछन्। त्यही विगत र अहिले पनि हार्दिक नरहेको सम्बन्धकै कारण गठबन्धनका प्रदेश नेताहरुले थापाको विकल्प खोज्नुपर्ने बताएका थिए।

यद्यपि काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले यसपटक आफ्ना विश्वासपात्र थापालाई कोशी प्रदेशको कार्यकारी प्रमुख बनाउने अवसर गुमाउन चाहेनन्। काँग्रेस नेताहरुका अनुसार सिटौलाको जोडबलमा सभापति शेरबहादुर देउवाले समर्थन जनाउँदा थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका हु्न्।

यसले राप्रपाको सहयोग पाउने सम्भावना क्षीण भएको नेताहरु बताउँछन्। ‘थापाबाहेकका अरुलाई गठबन्धनले मुख्यमन्त्रीमा अघि सारेको भए हामीले सोच्ने ठाउँ हुन्थ्या भनेर राप्रपा नेताहरुले भन्दै आएका थिए’, गठबन्धनका एक नेताले भने ‘तर सिटौलाजीको जोडबलका अघि कसैको केही लागेन। राप्रपाले सहष्योग गर्दिन भनेकै व्यक्तिलाई अघि सारियो, ३० दिनपछि जे पनि हुने खतरा बढ्यो।’

सत्ता गठबन्धनले मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय गरेपछि काँग्रेसले राप्रपासमेतको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दाबी गर्न जाने पहल गरेको थियो। तर, राप्रपाले नमानेपछि चार दल मात्रै प्रदेश प्रमुखकोमा पुगेका हुन्।

‘विभिन्न घटनाक्रमहरुका कारण हामी सरकारमा सहभागी नहुने अवस्था बन्यो’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ‘हामीले अर्को पार्टीबाट कसलाई अघि बढाउने भन्ने कुरा आउँदैन। व्यक्तिगत कुरा पनि केही साथीहरुको छ। तर, त्यो पार्टीको आधिकारिक कुरा होइन।’

यही अवस्थाका बीच पनि मुख्यमन्त्री थापा र उनको दल काँग्रेसले विश्वासको मत लिने बेलासम्ममा राप्रपाले पनि सघाउनेमा विश्वस्त देखिन्छन्। अबको ३० दिनभित्र राप्रपाको समर्थन लिन मुख्यमन्त्री थापाले विगतको चुनावी असफलता बिर्साउने गरी प्रयत्न गर्नुपर्नेछ।

राजधानीको शंकरदेव क्याम्पसमा कुनैबेला स्ववियु सभापति लडेका तर अखिलसँगको लफडाले चुनावै बिथोलिएपछि सभापति बन्न नपाएका उनी लामो समय पार्टीभित्रको विभिन्न जिम्मेवारीमा रहे।

क्षेत्रीय सभापति, जिल्ला सचिव, उपसभापति हुँदै दुई कार्यकाल झापाको सभापति बने। ‘पार्टी र संगठनप्रति प्रतिबद्ध नेता हो उद्धवजी’, थापासँग लामो सहकार्य गरेका झापाका काँग्रेस नेता सुधीरकुमार शिवाकोटीले भने ‘म सभापति हुँदा उहाँ सचिव र यपसभापति हुनुभयो। कुनै दिन बेमेल भएन। पार्टी भनेपछि मरिमेट्ने स्वभाव उहाँको छ। मुख्यमन्त्रीमा पनि त्यही समर्पणभाव सहित काम गर्नुहुनेमा विश्वस्त छु।’

त्यसो त पार्टी जिम्मेवारी र राजकीय जिम्मेवारी फरक विषय हुन्। पार्टीमा लामो अनुभव संगालेका थापा जनप्रतिनिधि बनेको यसैपालि हो। पहिलोपटकमै प्रदेशको मुख्यमन्त्री बन्ने सफलता उनले आत्मसात गर्न पाएका छन् । पहिलोपटक जनप्रतिनिधि बनेका उनी पार्टी राजनीतिमा भने अनुभवले खारिएका नेता हुन्। काँग्रेसको १२ औं महाधिवेशनका बेला उनी पहिलोपटक जिल्ला सभापति निर्वाचित भएका थिए ।

त्यसबेला उनको प्रतिष्पर्धा युवा नेता विश्वप्रकाश शर्मासँग भएको थियो। काँग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलादेखि केशवकुमार बुढाथोकीसम्मले सहयोग गरेपछि थापाले शर्मालाई पराजित गरे। १३ औं महाधिवेशनमा भने उनी उनै शर्माको प्रस्तावमा दोस्रो कार्यकालका लागि सर्वसम्मत जिल्ला सभापति छानिए।

पार्टीको आन्तरिक मोर्चामा सधैं सफलता मात्रै हात पारेका उनले दुई वटै संसदीय चुनावको ‘एटेम्प्ड’मा भने पराजय व्यहोरे। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा एमालेका प्रेम गिरीसँग पराजित उनी २०७४ मा झापा २ मा एमालेकै पवित्रा निरौला खरेलसँग पराजित बनेका थिए ।

दोस्रोपटक संसदीय निर्वाचन हारे पनि उनका लागि पार्टीमा फड्को मार्न भने त्यो असफलताले छेकेन। यसका पछाडि नेता कृष्णप्रसाद सिटौलाको चतुर्याइँपूर्ण कदमको मुख्य हात छ। सिटौलाले सभापति शेरबहादुर देउवाको टिममा आफूलाई उभ्याए।

जसै सिटौला देउवा टिममा पुगे, झापामा लामो समय कोइराला समूहका नेता भनेर चिनिएका थापासहितको टिम पनि देउवा समूहमै पुग्यो। १४ औं महाधिवेशनमा देउवा–सिटौला समूहले उनलाई प्रदेश सभापतिको उम्मेद्वार बनायो।उनको प्रतिष्पर्धा कोइराला समूहका नेता गुरुराज घिमिरेसँग भयो। उक्त निर्वाचनमा थापाले दुई मतको झिनो अन्तरले घिमिरेलाई पराजित गरे। त्यसो त त्यसबेला शेखर कोइराला, सुजाता कोइराला लगायतका नेताहरुले मतदान नगरेकै कारण घिमिरे पराजित भएका थिए। आफैले अघि सारेका उम्मेद्वारलाई मतदान नगर्ने नेताहरुको कमजोरीको फाइदा भने थापालाई भयो। पहिलोपटक प्रदेशको नेतृत्व छानिँदा तत्कालीन प्रदेश १ को पहिलो सभापति बन्न थापा सफल भए।

सिटौला समूह संस्थापन पक्षमा समाहित भएकै कारण थापाले प्रदेश संसदीय दलको चुनाव पनि सजिलै जितेका थिए। त्यसो त समानुपातिक प्रणालीबाट आएका व्यक्तिले दलको नेता हुन नपाउने तर्क त्यसबेला काँग्रेसभित्र नउठेको होइन । तर, देउवा–सिटौला समूहले उनै थापालाई आफ्नो पक्षबाट उम्मेद्वार बनायो।

लामो समयदेखि देउवाका सहयोगी रहेका अमृत अर्याल र कोइराला समूहका केदार कार्की थापाका प्रतिष्पर्धी बने। देउवा सिटौला समूहका थापाले २९ सदस्यीय संसदीय दलमा १८ मत पाउँदा कार्कीले ९ र अर्यालले २ मत मात्रै पाएका थिए। यसरी विश्वप्रकाश शर्मादेखि गुरुराज घिमिरे, अमृत अर्याल, केदार कार्कीसम्मलाई आन्तरिक प्रतिष्पर्धामा पराजित गरेका थापालाई २०७९ को चुनावको मुखैमा सेतोपाटीले सोधेको थियो ‘तपाइँ प्रतिनिधिसभाको उम्मेद्वार बन्ने कि प्रदेशको ?’

‘यसपटक म कहिँ पनि नउठ्ने’, थापाले भनेका थिए ‘यसपटक पार्टीका साथीहरु जिताउन खटिने।’ उनले चुनाव लड्न नचाहेको मुख्य कारण समानुपातिकको आशा रहेछ। संस्थापन पक्षमै पुगेका उनलाई सभापति देउवाले प्रदेशको खस आर्य समूहको पहिलो नम्बरमा राखिदिए। उनी सजिलै प्रदेशमा चुनिए। र, अहिले मुख्यमन्त्री बन्न सफल भए।

फुटबलको उर्वरभूमि मानिने झापाको शनिश्चरेमा २० को दशकको मध्यदेखि ५० को दशकसम्म एउटा चर्चित फु्टबल क्लब थियो डाइनामाइट क्लब। तीसको दशकमा त्यो क्लबको एक मुख्य खेलाडी थिए मुख्यमन्त्री थापा। कुनैबेलाका कुशल फुटबलर थापालाई अब प्रदेशको राजकीय जिम्मेवारीको अवसर मिलेको छ। ‘सबै दलहरुलाई मिलाएर अघि बढ्ने र प्रदेशको समृद्धिमा सबैलाई एकाकार तुल्याउने’ प्रारम्भिक प्रतिक्रिया दिएका थापालाई पहिलो चुनौती नै सत्ताको दिर्घायुको हुनेछ।

आफू नेतृत्वको सरकारको यात्रा कति लामो हुन्छ रु मुख्यमन्त्री बन्दै गर्दा थापालाई सबैभन्दा धेरै पिरोल्ने प्रश्न यही भइरहेको छ। लामो समय फुटबलको मैदानमा सिकेको सीपले पार्टीभित्र डटिरहने प्रेरणा पाएको बताउने उनले यसपटक भने सत्ताको खेललाई पनि जितमा परिणत गर्नुपर्नेछ। जहाँ उनले विगतमा आफैले किनारामा पारेका भक्ति सिटौला नेतृत्वमा रहेको राप्रपा संसदीय दलको विश्वास जित्नुपर्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending