Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

प्रेमबहादुरको संघर्ष : ‘छ दशकदेखि घुम्ती गोठमा गाई भैँसी पालन’

खबरडबली संवाददाता

बेनी । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे । उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुर्ख्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन् ।

छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन् । हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पुर्याउने गर्छन् । घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब छ दशक समय विताइसकेका छन् ।

उनीहरूको गोठमा अहिले ३२ भैँसी र २२ वटा गाई छन् । गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र सातवटा गाई दुहुना छन् । गाईभैँसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैँसी नै बिक्री भने न्यून हुने गरेको प्रेमबहादुर बताउछन् । गाईभैँसीको घिउ प्रतिमाना रु एक हजार २०० मा बिक्री हुने गरेको छ ।

“भूगोल टाढा छ, अनकन्टार जङ्गल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौँ, यहाँ गाईभैँसी नै किन्न आउनेको सङ्ख्या कम छ, थोरै मात्रामा राँगा र खेतबारी जोत्ने उद्देश्यले बहर गोरु बिक्री हुन्छन्, दुःखअनुसारको प्रतिफल नभए पनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौँ”, उनले भने ।

घर्तीमगरको पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दैै आएका थिए । बुवा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैँसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउछन् । प्रेमप्रसादका छ भाइ दाजुभाइमध्ये चार परिवारले गाईभैँसी र भेडापालन गरेका थिए । अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्दै आएका छन् ।

हिउँदयाममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उनकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आएका छन्। यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुङ्गालगायतका ठाउँमा पु¥याउने गरिन्छ । भिर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली–ओराली, अनकन्टार जङ्गलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने सङ्घर्षका पाटाहरू हुन् ।

छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उहाँहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन । “हामीले गोठमै जीवन फाल्यौँ, छोराछोरी हुर्कायौँ, पढायौँ, कोही विदेशसम्म पुगेका छन्, बाबुबाजेले पनि गोठ राखेर जीवन बिताए, हामीले पनि च्याट्ट छोड्न सकेका छैनौँ”, प्रेमबहादुरकी पत्नी इनदेवी घर्तीमगरले भनिन् ।

‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुख्र्यौलीरूपमा गाईभैँसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबालीसमेत गर्ने गर्थे । आफूहरू सानो छँदा बुवाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गछृन् । अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौँ, गहुँलगायत खेतीलाई उनको परिवारले निरन्तरता दिएका छन् ।

अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन् । ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक छन् । जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुवाआमाकै गोठाला पेसामा आफूलाई समाहित गरेका छन् । बुवाआमाले गोठ नछाडेका कारण आफूहरू पनि यसमै लागेको साइली छोरी छानदेवी बताउछिन् ।

‘‘घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौँ, पछि प्रौढ शिक्षामार्फत सामान्य लेखपढमात्रैमा सीमित भयौँ, अहिले बुवाआमासँगै गोठमै गाईभैँसीको स्याहारसुसार र रेखदेख गर्छौ”, उनले भनिन् । गाईभैँसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँदयामका लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाइ छ । 

तेह्र वर्षको उमेरदेखि नै गोठ बस्न थालेका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित छन् । उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उनले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा छन् । 

“पहिले यहाँका हरेक घरबाट गोठमा गाईभैँसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ, अहिले हामी केही हातमा गन्न मिल्नेमात्रै गोठाला छौँ, कसैले गोठ राखेर गाईभैँसीपालन गर्न चाहेमा मैले बिक्री गर्ने योजना बनाएको छु”, घर्तीमगरले भने ।

एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्तीरूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ । घरबाट गोठसम्म खाद्यान्नलगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उनको अनुभव छ । पुर्ख्यौली  पशुपालनलाई व्यावसायीकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेश पठाइदिन्छु भन्दै ८० लाख ठगेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्व...

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री, आजैदेखि चालु अधिवेशन अन्त्य

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्।  ...

बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय ज...

चिनियाँ टोलीको अध्ययनपछि दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि, कति निकाल्न सकिन्छ ?

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिक...

प्रतिमतदाता १,०११ रुपैयाँ खर्च

काठमाडौं । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै सरकारका लागि प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन गराउनु...

बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटका लागि भएको प्रतिस्पर्धामध्ये हालसम्म घोषणा भए...

जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुर...

आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार,...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । ज...

शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE