लहान । कोरोना सङ्क्रमण र लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६/०७७ मा सप्तरी र सिरहाका २६ किलोमिटर सडक कालोपत्रे भएको छ ।
लकडाउनकै बीच आर्थिक वर्ष २०७६/०७७ मा सिरहाको १२ र सप्तरीका १४ किमी सडक कालोपत्रे भएको सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ । सिरहाको लहान–भगवानपुर ठाडी सडकमा साढे पाँच किमी, बन्दीपुर–उत्तराइनी सडकमा एक हजार ६०० मिटर, कर्जन्हा–बस्तीपुर सडकमा एक हजार २०० मिटर, हुलाकी सडकअन्तर्गत गणेशपुर चौकदेखि गोलबजारसम्मको ९५० मिटर, कसहा–औरही सडकमा ९०० मिटर र कसहा–मुक्सार सडकमा ५०० मिटर कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रविन्द्रलाल दासले जानकारी दिए ।
यस्तै सप्तरीको शम्भुनाथ ट्राफिक चौक–बनैनियाँ सडकमा आठ किमी, रुपनी–कटैया सडकमा तीन किमी, रुपनगर चौकदेखि कञ्चनपुर सडकमा एक हजार ३०० मिटर र बरमझिया पूर्व सडकमा ८०० मिटर सडक कालोपत्रे गरिएको प्रमुख दासले बताए । सिरहा, सप्तरी र उदयपुरमा करिब ३५ किमी सडक स्तरोन्नति तथा निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा सिरहा र सप्तरीमा दुई वटा पुल निर्माण भएको छ । सिरहाको मुतनी खोलामा र सप्तरीको जुरी नदीमा पुल निर्माण भएको छ । ती दुवै जिल्लामा हाल २० वटा पुल निर्माणाधीन अवस्थामा छ । सिरहामा नौ र सप्तरीमा ११ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र अधिकांश पुलको कार्य तीव्ररुपमा भइरहेको प्रमुख दासको भनाइ छ ।
यसैबीच सम्झौतानुसार समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनिमाथि सडक डिभिजन कार्यालय लहान सिरहाले कारवाही अघि बढाएको छ । सिरहा र सप्तरीमा विभिन्न १२ योजनाको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनिमाथि कारवाही अघि बढाइएको छ ।
बजगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँ, बजगुरु विकास जेभी लहान, स्काइ लाइन कन्स्ट्रक्सन जनकपुर, निलगिरी निर्माण सेवा काठमाडौँ, याकधुम्ह्याङ्गर बीपी कन्स्ट्रक्सन जेभी लहान, प्रकाशरआश्रय जेभी काठमाडौँ, रोशन कन्स्ट्रक्सन प्रा।लि। जनकपुर र जोशी कन्स्ट्रसन गाठाघर काठमाडौँमाथि कारवाही अघि बढाएको प्रमुख दासले जानकारी दिए । पहिलो चरणमा ती कम्पनीलाई स्पष्टीकरण सोधिएको र सन्तोषजनक जवाफ नआए कानुनी रुपमा कार्वाही अघि बढाइने प्रमुख दासले बताए ।
प्रतिकृया लेख्नुहोस्: