काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन्। आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए।
मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उनको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।
नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उनले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले अहिलेको बन्दाबन्दीलाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताए । मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ ।
उनले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गरे । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाए ।
निरोगी नेपाल अभियान अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरी विभिन्न स्वास्थ्य कार्यक्रम, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमोपेथिक तथा योग लगायतका वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिइएको मन्त्री ढकालले बताए। भौगोलिक र जनसङ्ख्याका आधारमा स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने उनले बताए ।
स्वास्थ्य संस्थाका अहिलेको दरवन्दीमा पुर्नसंंरचना गरी आवश्यकता अनुसार तत्काल अस्थायी दरवन्दी स्वीकृत गरिने उनको भनाइ थियो । चिकित्सकलाई उच्च मनोवलका साथ काम लगाइने भन्दै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख विमा गरिएको उहाँले जानकारी दिए। प्रत्येक स्थानीय तहमा एक चिकित्सक र एक चिकित्सक एक संस्थाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम गरिने उनले बताए । गरिब, विपन्न, असाहय र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री ढकालले बताए।
खोप, पोषण, क्षयरोग, एचआईभी एड्स र अन्य महामारी रोगका लागि बजेट विनियोजन गरिएको छ । यो वर्षको कार्यक्रम अन्तर्गत ३०० बेडको सङ्घ र प्रत्येक प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाइने बजेटमा उल्लेख छ । उनले पुराना अञ्चल अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्ने र सङ्घमा रहेका पाँच वटा अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरी ५०० बेडको बनाउने बताए ।
कोभिड १९ को रोकथाम, नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको भन्दै उहाँले कोभिड १९ को महामारी अरु देशको भन्दा हाम्रो देशमा सङ्क्रमण फरक रहेको बताए। उनका अनुसार नेपालमा २१ देखि ३१ वर्ष उमेर समुहलाई बढी सङ्क्रमण देखिएको छ । महामारी नियन्त्रणमाा १० अर्ब खर्च भएको सन्र्दभमा सोधिएको प्रश्नमा उनले सङ्घले ६ अर्ब ३ करोड, प्रदेशले एक अर्ब ८ करोड र ६४१ स्थानीय तहमा २ अर्ब ७६ करोड खर्च भएको जानकारी दिए । यस्तै दुई अर्ब ९२ करोड ५५ लाख ८९ हजार स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सामाग्री खरिदमा खर्च भएको उहाँले उल्लेख गर्नुभयो ।
दक्षिण एशियामा राम्रो
दक्षिण एशियामा हामीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा राम्रो भूमिका खेलेको मन्त्री ढकालले उल्लेख गरे । प्रति १० हजारमा तीन हजार ३३७ जनामा परीक्षण गरिएको छ ।
सङ्गठनले प्रतिवन्ध लगाएको छैन
उनले विश्व स्वास्थ्य सङ्गठनले आरडिटी प्रतिवन्ध नलगाएको स्पष्ट पार्दै भने, “अध्ययन, अनुसन्धानका लागि आरडिटी परीक्षणमा प्रतिवन्ध लगाएको छैन । आरडीटी परीक्षण गर्दा पोजेटिभ देखियो भने पोजेटिभको आधारमा सङ्क्रमित भनेका छैनौ । सङ्क्रमण पुष्टि गर्नका लागि पीसीआर परीक्षण गरेका छौँ । आरडीटी स्क्रीनिङ्गका लागि मात्र परीक्षण गरिएको हो ।
प्रतिकृया लेख्नुहोस्: