Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रदेश ५ मा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, व्यवस्थापनमा समस्या

रुपन्देही । रोजगारीका क्रममा भारत गएका नेपालीहरु ठूलो सङ्ख्यामा घर फर्किन थालेपछि प्रदेश नं ५ मा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । बन्दाबन्दीका कारण अलपत्र पर्ने अवस्था आएपछि भारतबाट दिनदिनै ठूलो सङ्ख्यामा नेपाली स्वेदश फर्किन थालेका छन् । उनीहरुलाई क्वारेन्टिन व्यवस्था गरेर राख्ने, कोरोना भाइरसको परीक्षण गर्ने र सङ्क्रमित भए उपचार गर्ने काममा प्रदेश र स्थानीय सरकार सक्रियतापूर्वक लागिपरेका छन् । तर एकैपटक ठूलो सङ्ख्यामा नागरिक स्वदेश फर्किएपछि भने व्यवस्थापनमा समस्या आएको छ । यसका कारण यहाँका क्वारेन्टिन पनि भद्रगोल देखिएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशङ्करप्रसाद चौधरीले सोमबार साँझसम्ममा यस प्रदेशका सङ्क्रमितको सङख्या ६४२ पुगेको जानकारी दिए । अहिलेसम्म बाँके, गुल्मी र अर्घाखाँचीमा एक/एक गरी तीनजनाको मृत्यु भएको छ । प्रमुख चौधरीका अनुसार प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । प्यूठान र रोल्पामा अहिलेसम्म कोरोना सङ्क्रमण भेटिएको छैन । सबैभन्दा बढी कपिलवस्तुमा ३१७ जनामा कोरोना देखिएको छ । त्यसपछि बाँकेमा सङ्क्रमण बढी छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा १९६ जनामा सङ्क्रमण देखिएको छ । गत वैशाख १९ गते पहिलोपटक नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणको क्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा हुँदै वैजनाथ गाउँपालिकासम्म फैलिएको छ । नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको अहिलेसम्मको प्रमुख केन्द्र नै बन्न पुगेको छ । सङ्क्रमणका कारण नरैनापुरमा एकजनाको ज्यान नै गएको छ ।

स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मनबहादुर वलीका अनुसार रुपन्देहीमा अहिलेसम्म ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै दाङमा ४५, बर्दियामा १०, नवलपरासीमा ६, गुल्मीमा पाँच, अर्घाखाँचीमा तीन, पाल्पामा पाँच र रुकुम पूर्वमा तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको वलीले बताए ।

निको भएर घर फर्किने ७५ जना

प्रदेशमा कोरोना सङ्क्रमण बढेको मात्र नभई निको हुुनेको सङ्ख्या पनि बढ्दो छ । अहिलेसम्म प्रदेशका विभिन्न अस्पतालबाट ७५ जना निको भई घर फर्किएका छन् । सोमबारमात्रै रुपन्देहीको भीम अस्पतालबाट २५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए ।

गैँडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिकाका पाँच, सिद्धार्थनगर नगरपालिकाका एक, कपिलवस्तुका पाँच, नवलपरासीका तीन र भारतका एकजना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिए ।

सोमबार नै आइसोेलेशनमा रहेका गुल्मी मदानेका बैंकमा कार्यरत कर्मचारी निको भई आज घर फर्किए । पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय युवक कोरानो मुक्त भई घर फर्किएको गुल्मी अस्पतालका चिकित्सक उत्तम पाच्यले जानकारी दिए । यस्तै दाङको बेलझुण्डी आइसोलेशन सेन्टरबाट आठ र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन् । यसअघि बुटवल अस्पतालबाट १५ जना कोरोना जितेर फर्किएका थिए ।

चार सय ९५ जना उपचाररत

प्रदेशका विभिन्न अस्पतालमा हाल ४९५ जना सङ्क्रमित उपचाररत छन् । जसमध्ये बुटवलको कोरोना विशेष अस्पतालमा ३१ जना र एन्फा एकेडेमीमा २० जनाको उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख चौधरीले बताए। उनका अनुसार दाङको बेलझुण्डी आइसोलेशन सेन्टरमा ५१ जना उपचाररत छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भएका ४४ जनामध्ये १८ जना उपचाररत छन् । बाँकेका लायन्स डेन्टल अस्पतालमा २३, पिपरी आइसोलेशन केन्द्रमा ४१, कृषि तालिम केन्द्रको आइसोलेशन सेन्टरमा ३९, नेपाल राष्ट्रिय मावि राप्ति सोनारीमा ११, सतगुर्वा आइसोलेशन केन्द्रमा १८ र वैजनाथ आइसोलेशन सेन्टरमा सातजनाको उपचार भइरहेको छ ।

यस्तै कपिलवस्तुका गणेशपुर आयुर्वेद औषधालय विजयनगरमा १७, बनकटहवा आइसोलेशन सेन्टरमा एक, मायादेवी आइसोलेशनमा ११, जानकी मावि महाराजगञ्जमा ४७, आइसा गल्र्स कलेज कृष्णनगरमा २७, अनिरुद्ध कलेज यशोधरामा ८८, सुपा देउराली रिसोर्ट चन्द्रौटामा चारजना र कृष्णनगरको एक होटलमा पाँचजना नेपाल प्रहरीका जवानको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कपिलवस्तु अस्पतालमा उपचारत एकजना भने डिस्चार्ज भएका छन् ।

यसैगरी महिला विकास भवन तम्घासमा एकजना, युवावर्ष जनता रवि चित्र मावि अर्घाखाँचीमा दुईजना, शिक्षण अस्पताल काठमाडौँमा एकजना, टेकु सरुवा रोग अस्पतालमा दुईजना, धुलिखेल अस्पतालमा एकजना र गुल्मी धुर्कोटमा रहेको आइसोलेशन सेन्टरमा दुईजनाको उपचार भइरहेको छ । प्रदेशका विभिन्न क्वारेन्टिनमा अझै पनि ९६ जना सङ्क्रमित रहेका छन् । सोमबारमात्रै ६९ जनामा सङ्क्रमण देखिएको हो ।

क्वारेन्टिन व्यवस्थापनमा समस्या

कोरोना सङ्क्रमण उच्च रहेको यस प्रदेशका क्वारेन्टिन पनि भरिन थालेका छन् । भारतमा रोजगारी गर्न गएका व्यक्ति फर्कने क्रम बढेपछि प्रदेशका क्वारेन्टिन भरिन थालेका हुन् । क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्दै गएपछि यहाँका स्थानीय तहलाई व्यवस्थापनमा समस्या भएको छ ।

प्रदेशका १२ जिल्लामा एक हजार ४८७ क्वारेन्टिन छन् । जसमा ४५ हजार ७४९ श्यया रहेका छन् । सोमबार साँझसम्म क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३९ हजार २६८ छ । जिल्लागतरुपमा बाँकेमा तीन हजार ८९४, बर्दियामा ४६०, अर्घाखाँचीमा तीन हजार ९५०, कपिलवस्तुमा चार हजार ५३०, गुल्मीमा दुई हजार ९२४, रुपन्देही तीन हजार ३३४, पाल्पामा एक हजार २८८, नवलपरासी एक हजार ३७६, दाङमा चार हजार ८६८, रोल्पामा एक हजार ९९८, रुकुम पूर्वमा २८७ जना र सबैभन्दा बढी प्यूठानमा छ हजार ३५९ जना क्वारेन्टिनमा बसेका छन् ।

प्रदेशमा धेरैजसो क्वारेन्टिन विद्यालयमा बनाइएको छ । पहाडको तुलनामा तराईका सीमावर्ती क्षेत्रका क्वारेन्टिनको व्यवस्थापन कमजोर छ । अत्यधिक गर्मीका कारण क्वारेन्टिनमा बस्नेलाई समस्या भएको छ । समयमा कोरोना परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टिनमा बस्ने नागरिक रुष्ट बनेका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई र सम्मरीमाई पालिका तथा कपिलवस्तुका र बाँकेका विभिन्न पालिकामा रहेका केही क्वारेन्टिनको व्यवस्थापन फितलो भन्दै बस्नेले विरोधसमेत गरेका छन् । क्वारेन्टिन व्यवस्थापन गर्न नसक्दा लुम्बिनी सांस्कृतिक नगरपालिकामा रुखमुनि नै रात काट्न बाध्य भए । पछि जताततैबाट विरोध भएपछि उनीहरुलाई गत अमारी प्राविमा सारिएको थियो । क्वारेन्टिन व्यवस्थित नहुँदा सबैभन्दा बढी महिला र बालबालिकालाई समस्या भएको छ ।

रुपन्देहीका अन्य नगरपालिकाले भने क्वारेन्टिन मापदण्डअनुसार नै निर्माण गरेको दाबी गरेका छन् । “सैनामैनाका क्वारेन्टिन व्यवस्थापनमा कुनै समस्या छैन, १४ दिन नपुग्दै आरडिटी गर्न मिल्दैन तर परीक्षण छिटो गरिदिनुप¥यो भनेर केही गुनासा आएका हुन सक्छन्, अन्य समस्या छैन”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने । उनले मापदण्डअनुसार नै नगरमा पाँचवटा क्वारेन्टिनमा खाना, आवास शौचालय र इन्टेरनेटको समेत व्यवस्था गरिएको बताए । क्वारेन्टिनमा कुनै समस्या भए सिसीटिभीसमेत जडान भएकाले हेर्न सकिने उनको भनाइ थियो ।

यसैक्रममा कपिलवस्तु नगरपालिका–४ स्थित सुन्दर प्राविको क्वारेन्टिनबाट गत सोमबार साँझ ४३ जना भागेका थिए । दुई हप्ताअघि यशोधरा गाउँपालिका–८ खोरियाबाट २५ जना र वडा नं ६ रगपुरस्थित क्वारेन्टिनबाट ११ जना भागेका थिए । पछि प्रहरीले उनीहरुलाई खोजेर ल्याएको थियो । भारतका विभिन्न शहरबाट लकडाउनका बेला घर फर्किनेक्रममा क्वारेन्टिनमा रहेका ४३ जना सोमबार साँझ फरार भएका थिए । क्वारेन्टिनमा बसेको १४ दिन भइसक्दा पनि परीक्षण नगरिएपछि आक्रोशित बनेर घर गएका उनीहरुलाई दुई दिनपछि पुनः क्वारेन्टिनमा ल्याएर राखिएको थियो ।

क्वारेन्टिनमा बस्नेले सामाजिक दूरी कायम नगर्दा सङ्क्रमणको जोखिम बढेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख चौधरीले बताए । उनले भने, “कोरोना सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्न जरुरी हुन्छ तर क्वारेन्टिनमै रहँदा पनि हेलचेक्र्याइँ गरिएको छ जसले सङ्क्रमणको जोखिम बढेको छ ।”

परीक्षणको दायरा बढाउन जरुरी

प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले परीक्षणको दायरा बढाउन आवश्यक देखिएको छ । वैदेशिक रोजगारीमा जानेहरु धमाधम फर्किरहेका कारण क्वारेन्टिन भरिभराउ हुँदासमेत परीक्षणलाई गति दिन नसक्दा सङ्क्रमण जोखिम अझै बढेको सरोकारवाला बताउँछन् ।

क्वारेन्टिनमा रहेका १५ हजार ५९१ जनाको मात्रै पिसिआर परीक्षण गरिएको छ । जसमध्ये ५६९ जनाको कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ भने चार हजार ३९८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमित क्षेत्रबाट आएकाको परीक्षण कार्यलाई निरन्तरता दिइएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरीले बताए ।

प्रदेश नं ५ मा २३ हजार ९६३ जनाको आरडिटी परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये २२ हजार ५०१ वटा नेगेटिभ र एक हजार ४६२ पोजेटिभ रहेका छन् । ती पोजेटिभमध्ये बाँकेमा ११५, बर्दिया दुई, अर्घाखाँचीमा चार, कपिलवस्तुमा ९८१, गुल्मीमा चार, रुपन्देहीमा २९२, पाल्पा १४, नवलपरासी १७, दाङमा तीन, रोल्पामा एक, प्यूठानमा २९ जनाको आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रदेशमा तीनवटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ गरी चारवटा प्रयोगशालाबाट कोभिड–१९ सङक्रमित भए÷नभएको निक्र्योल गर्ने गरिएको छ । प्रदेश नं ५ मा अहिलेसम्म १५ हजार ५९१ स्वाब सङ्कलन गरिएकामा १० हजार ६२४ जनामा नेगेटिभ देखिएको छ भने चार हजार ३९८ जनाको नतिजा आउने प्रक्रियामा रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending