झापा । झापाको मेचीनगर–७ पुरानो भन्सारमा रहेको जागृति बाल उद्धार केन्द्रमा अत्यावश्यक खाद्यान्नको अभाव भएको छ । बाल गृहमा १४ जना बालवालिकाले आश्रय लिएका छन् । लकडाउनका कारण दाल, चामल लगायत अत्यावश्यक खाद्यान्न सकिएको सञ्चालक समितिका अध्यक्ष अर्जुन देबकोटाले बताए ।
चामलको ‘स्टक’ रित्तिएर आजै बेलुका आश्रित बालवालिकालाई पकाएर खुवाउने अन्न नभएको जनाउँदै उनले दाताहरुबाट तत्काल सहयोगको याचना गरिएको बताए । सात वर्षदेखि सञ्चालित सो बालगृहमा रहेका ६ वर्षदेखि १८ वर्षसम्मका असहाय बालवालिकाले बालगृहमा बसेर स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।
बुद्धशान्ति र विर्तामोडमा राहत कोष
झापाको बुद्धशान्ति गाउँपालिकाले कोराना भाइरसविरुद्ध उच्च सतर्कताका लागि रु ३७ लाख ५० हजार र विपन्नलाई राहतका लागि रु १० लाखको बजेट छुट्याएको छ । विगत १५ दिनमा विदेशबाट आएका ९१ जनालाई होम क्वारेन्टाइनमा छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखेर पिपिईसहित स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गरिरहेको पालिकाका अध्यक्ष रमेश भूजेलले बताए ।
विर्तामोड नगरपालिकाले रु ५० लाखको आकस्मिक राहत कोष स्थापना गरेको छ । सो कोषमा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलगायतले एक महिनाको तलब जम्मा गर्ने भएका छन् । कोषबाट क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न र नगरभित्रका विपन्न समुदायलाई राहतका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।
प्रतिकृया लेख्नुहोस्: