बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माण गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । महिलाले बाटो खन्न रोक्न खोज्दा महिलालाईनै डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। बोहरामाथि अनुसन्धान भइरहेको पाण्डेयले बताए।
आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् ।
सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए । सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उनले बताए ।
सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिए । उनले भने, “आफूहरुको जमीनमा जबर्जस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको हो ।” तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढुङ्गामुढा गरेपछि झडपको स्थिति आएको बताएको छ । आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो ।
पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको ढुङ्गामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइरहेको सडकका विषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
डोजर चालकसहित चार पक्राउ
सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन ।
प्रतिकृया लेख्नुहोस्: