काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि अल्झिए पनि स्थानीय तहमा भने धमाधम एकीकरण भइरहेको छ ।
आजको नयाँ पत्रकिा दैनिकमा खबर छ– गण्डकीबाहेक सबै ६ वटा प्रदेश संगठन कमिटीले स्थानीय तहमा एकीकरण गराउँदै छन् । प्रदेश ३ ले तीन र ५ ले पाँच जिल्लाका वडा तहसम्म नै एकीकरण टुंग्याएको छ । सुदूरपश्चिममा सात जिल्लाको वडासम्मकै एकीकरण प्रस्ताव तयार भएको छ ।
प्रदेश कमिटीलाई निर्वाचन क्षेत्र र स्थानीय तहको जिम्मेवारी
स्थानीय तहको नेतृत्व टुंगो लगाउन बनेका जिल्लास्तरीय कार्यदलको सिफारिसमा स्थानीय तहको एकीकरणले तीव्रता पाएको हो । कतिपय प्रदेशले स्थानीय तहको नेतृत्वको नामावली प्रदेश कमिटीबाट अनुमोदन गराएर शपथसमेत लिइसकेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्ला नेतृत्व टुंगो लाग्न बाँकी भए पनि स्थानीय तहमा उत्साहजनक रूपमा एकीकरणको काम भइरहेको बताए । ‘देशभर सबै प्रदेशमा स्थानीय तहको नेतृत्व टुंगिरहेका छन्,’ नेम्वाङले भने, ‘अब जिल्ला नेतृत्व मात्र टुंगो लाग्न बाँकी हो, सचिवालयबाट निर्णय भएर अघि बढ्नासाथ पार्टी एकताले छिटोभन्दा छिटो पूर्णता पाउँछ ।’ उनले बाहिर आएजस्तो एकता प्रक्रिया नअल्झिएको दाबी गरे । नेकपाले प्रदेशपछि जिल्लाको नेतृत्व केन्द्रीय सचिवालयबाटै टुंगो लगाउने तयारी गरे पनि निर्वाचन क्षेत्र र स्थानीय तहको एकीकरणको जिम्मेवारी प्रदेश संगठन कमिटीलाई तोकेको छ ।
तीनवटा प्रदेशमा वडा तहसम्मै एकीकरण
नेकपाका तीनवटा प्रदेश कमिटीले १५ जिल्लाका वडा तहसम्म एकीकरण सकेका छन् । प्रदेश ३ कमिटीले दोलखा, सिन्धुली र रसुवामा निर्वाचन क्षेत्रीय कमिटी, गाउँपालिका, नगरपालिकासहित वडा तहसम्म एकीकरण सकेको हो । अध्यक्ष नारायण दाहालले ती जिल्लामा स्थानीय नेतृत्वको शपथग्रहणसमेत सकिएको बताए । त्यस्तै, प्रदेश ५ कमिटीले पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देहीका निर्वाचन क्षेत्र, उपमहानगर, नगर र गाउँपालिकासहित मातहतका वडा कमिटीको एकीकरण टुंगो लगाएको छ । केही प्राविधिक पक्षबाहेक ती जिल्लाका वडा तहसम्म एकीकरणको काम टुंगिएको प्रदेश सचिव जगप्रसाद शर्माले बताए ।
सुदूरपश्चिम प्रदेश कमिटीले पनि कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा वडा तहसम्मको एकीकरण टुंग्याउने अन्तिम तयारी गरेको छ । ‘सात जिल्लामा वडा तहसम्मको एकीकरण प्रस्ताव तयार भइसक्यो, अब प्रदेश बैठकबाट टुंगो लगाउन मात्र बाँकी छ,’ सहइन्चार्ज लक्ष्मीदत्त जोशीले भने ।
प्रतिकृया लेख्नुहोस्: