काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् ।
मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा अधिकारीलाई नेताले सादा जीवनका पक्षपोषक, चिन्तनशील, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भनेर निरन्तर लाग्ने राजकीय रुपमा पनि सम्मानलायक नेता भएको उल्लेख गरेका छन् ।
शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारीलाई श्रद्धाञ्जलि दिन नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा उपस्थित नेताले पुरानो र नयाँ पुस्तालाई जोड्ने सादा जीवन उच्च विचारका कम्युनिष्ट अगुवाका रुपमा स्मरण गरेका छन् ।
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको कोणबाट हेर्दा सबै मूल्य र मान्यताका आधारमा अघि बढ्ने सादा जीवनको पक्षपोषक अधिकारी जनतालाई विकासको प्रक्रियामा सहभागी गराउन जीवनभर चिन्तनशील भएको व्यक्तिको रुपमा सम्झे ।
“उनकै देन हो ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने अभियान, बजेट व्यवस्थापनदेखि वृद्धभत्ता दिने मात्रै होइन पछि मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्ष भएर उहाँले वृद्धलाई देशदर्शन अभियानमा सरिक गराएर वृद्धको सम्मान गर्ने एक किसिमको संस्कार हुर्काउने काम गरे” नेता नेपालले भने,
विसं २०४४ पछि उनीसँगै कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक आन्दोलनमा संलग्न गराउने सन्दर्भमा नेपाल अधिराज्यको संविधान निर्माण गर्ने सन्दर्भमा र दुईवटै पार्टीलाई एकताबद्ध बनाउने कुरामा अधिकारीको अतुलनीय योगदान रहेको भन्दै नेता नेपालले उनी पुरानो र नयाँ पुस्ता जोड्ने, विचारको मामलामा प्रष्ट, जनताको बहुदलीय जनवादका मूल्य मान्यतालाई गहिरो रुपमा आत्मसात गर्ने, प्रजातान्त्रिक उदार विचारका पक्षपोषक तथा राजकीय जिम्मेवारीलाई योग्यता र कुशलताका साथ सम्हालेका नेता भएको उल्लेख गरे ।
श्रद्धाञ्जलिपछि संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख कृष्णबहादुर महराले पछिल्लोचोटी २०६८ सालमा सँगै उपप्रधानमन्त्री बनेको स्मरण गर्दै परिपक्क विचारवान नेता भएकाले उनको निधनले सच्च नेताको अभाव खड्किएको महसुस भएको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता अधिकारीलाई नेपाल कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्दै आएका नेताको रुपमा स्मरण गर्दै २००७ सालको परिवर्तनपछि राजनीतिक पार्टी निर्माणको प्रक्रियामा शुरुदेखि नै कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका पुरानो पुस्ताको एउटा अथक योद्धा हुनुहुन्थ्यो भने ।
उनका अनुसार कम्युनिष्टको दोस्रो महाधिवेशनमा नेता अधिकारी प्रतिनिधि थिए । तृतीय महाधिवेशन हुँदा विसं २०१९ मा उनी केन्द्रीय कमिटीमा हुँदा कम्युनिष्ट विभाजन भयो । दाजु मनमोहनको पक्षमा रहेका उहाँ शक्तिशाली नेता हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एउटा सपना बोक्नु भएका उहाँ निरङ्कुशता विरुद्धको आन्दोलनमा लगातार लागेका थिए ।
पञ्चायतविरुद्धको आन्दोलनमा उनका कार्यक्रममा आफू पनि सहभागी हुने गरेको स्मरण गर्दै मन्त्री पोखरेलले उनकै अग्रसरतामा मदन भण्डारीसँग पनि भेटघाटको अवसर जुरेको स्मरण गरे । संयुक्त मोर्चाका पक्षधर, निरङ्कुशता विरोधी आन्दोलन २०४६ वरिपरिको वाममोर्चामा सहभागी नेता अधिकारी विसं २०४७ को संविधान निर्माण गर्न गठित आयोगको सदस्य रहेर महत्वपूर्ण भूमिका खेलेका मन्त्री पोखरेलले बताए ।
नेपालको राजकीय पक्ष, सरकार र संसद्सँग सम्बन्धित कामको कोणबाट हेर्दा उनले चालेको कदम ‘आफ्नो गाउँ आफैं बनाऔं,’ र वृद्धभत्ताको कार्यक्रम अहिले पनि सम्झनलायक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले राजनीतिकसँगै आर्थिक र सामाजिक पक्षमा पनि उनको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
“पछिल्लो समयमा आफू शिक्षा मन्त्रीभएपछि विराटनगरमा पोलिटेक्निकल स्कुल चलाउने सन्दर्भमा उनको विशेष योगदान रह्यो, अविचलित ढङ्गले कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्ने धरोहर थिए, जसको योगदान नयाँ पुस्ताले सिक्न लायक छन् ।” मन्त्री पोखरेलले स्मरण गरे ।
प्रतिकुलतामा विचलित हुने अहिलेको अवस्थामा उनीबाट नयाँपुस्ताले सिक्नुपर्ने बताउँदै मन्त्री पोखरेलले अहिलेको वृहत कम्युनिष्ट आन्दोलन निर्माण हुनुमा उहाँजस्ता अग्रजले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु विद्यार्थी हुँदा नै कम्युनिष्ट पार्टीको नेतृत्वमा पुगिसकेका इमानदार नेताको रुपमा चिनेको र उनको अवसानले राष्ट्रले असल राजनीतिज्ञ गुमाएको महसुस भएको बताए ।
नेता अधिकारीले नेपालको राजनीतिक परिवर्तन, उतारचढाव र आन्दोलनमा राष्ट्रका लागि नेतृत्वदायी भूमिका खेलेकाले कम्युनिष्टका लागि मात्रै होइन, संसदीय प्रजातन्त्रका लागि सधैँ समर्पित भएर योगदान पु¥याउनुभएको भन्दै गच्छदारले जननिर्वाचित भएर आउँदा अर्थमन्त्रीको रुपमा रहेर जनप्रिय काम गरेर इतिहास कायम गरेको स्मरण गरे।
उनले देशको आर्थिक उन्नयनका लागि लोकप्रिय उदार अर्थनीति ल्याएकाले अधिकारीलाई असल अर्थविद्को रुपमा समेत परिभाषित गरे । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले उहाँको कार्यकालमा धेरै लोकप्रिय कार्यक्रम भएको उल्लेख गर्दै निष्ठावान, आदर्श व्यक्ति, सफल अर्थमन्त्री र सफल नेताको रुपमा आफूले चिनेको उल्लेख गरे ।
विसं २०५१ मा नेकपा ९एमाले०का तत्कालीन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटबाट सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, ‘नौ स’ अभियानजस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी भएको थियो ।
दिवङ्गत नेता अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ८ बजेदेखि १२ बजेसम्म नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको थियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले अधिकारीप्रति पुष्पहार चढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
उनको पार्थिव शरीरमा काङ्ग्रेसका नेता नरहरि आचार्य, सुजाता कोइराला, विभिन्न सुरक्षा अङ्गका प्रमुख, विभिन्न दलका नेता, उहाँका शुभेच्छुक तथा नेकपाका कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: