Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

यस्ता थिए प्रचण्डका छाेरा प्रकाश दाहालः कसको नजरमा कस्ता थिए ?

\"\"नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालका छोरा प्रकाशको निधन भएको आज पाँच दिन भयो । गत आइतबार हृदयाघातका कारण निधन भएका प्रकाशको १३औँ दिनको कर्म दाहाल परिवारले आजै श्रद्धाञ्जली सभा गरेर टुंग्याउँदै छ । प्रकाशको जीवनलाई फर्किएर हेर्दा धेरै पाटा भेटिन्छन् । उनको खास पाटो राजनीति नै हो । १९ वर्षको उमेरदेखि बाबु र परिवारसँगै युद्धमा होमिएका उनले सधैँ प्रचण्डको सचिवालयमै रहेर काम गरे । युद्धमा उनी जनमुक्ति सेना नै थिए । अाजको नयाँ पत्रिकामा खबर छ- ०५७ मा पार्टीको पूर्णकालीन सदस्य बनेका थिए । १७ असार ०३८ मा चितवनमा जन्मिएका प्रकाशले १२ कक्षा सम्मको पढाइ भारतको पन्जाबबाट पूरा गरे । पढ्दै गर्दा माओवादी युद्ध उत्कर्षमा पुगेपछि उनी पढाइ बिट मारेर बन्दुक समाउन हिँडेका थिए । बाबु प्रचण्डको सचिवालयमा खटिनुअघि जनमुक्ति सेनाको तालिम लिए, हतियार चलाउन सिके । उनको तत्कालीन भूमिकाको माओवादी वृत्तमा अहिले पनि चर्चा हुन्छ । पार्टी शान्ति प्रक्रियामा आएपछि पनि अध्यक्ष प्रचण्डको स्वकीय सचिवको भूमिकामा रहे । प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवको भूमिका सफलतापूर्वक निभाए । पछिल्लो समय सचिवालयलाई चुस्त बनाएको जस प्रकाशलाई मिलेको थियो । भेटघाटलगायत सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित बनाउन अहोरात्र खटिएका थिए । सचिवालयमा भए पनि उनले नेताको छोरो भएको घमण्ड नदेखाएको नजिक रहेर काम गर्नेहरू बताउँछन् । पछिल्लो समय सरल, मिजासिला र जिम्मेवारी बोध गर्ने परिपक्व नेताजस्तो बनेको चर्चा धेरैले गरेका छन् । चार सन्तानमा कान्छा प्रकाशका तीन दिदीमध्ये जेठी ज्ञानुको पनि चार वर्षअघि क्यान्सरका कारण निधन भएको थियो । अध्यक्षको सचिवालय र दाहाल परिवारमा प्रकाशको भूमिका
\"\"
नारायण दाहाल माओवादी नेता तथा प्रकाशका काका
प्रकाश, प्रचण्डको छोराको रूपमा मात्र थिएन । प्रचण्डको राजनीतिक हाइट, उहाँको कामअनुसार स्वकीय सचिवले गर्नुपर्ने भूमिका कुशल र व्यवस्थित तरिकाले निर्वाह गरिरहेको थियो । यति मात्र होइन, स्वकीय सचिव भए पनि उसले प्रचण्डको सुरक्षामासमेत उत्तिकै जिम्मेवारी निभाएको थियो । प्रचण्डको सुरक्षा संवेदनशीलतालाई राम्रोसँग बुझेको थियो । दोस्रो प्रधानमन्त्री कार्यकालमा स्वकीय सचिवका रूपमा रहेर उसले प्रचण्डको राजनीतिक र व्यक्तिगत जीवनलाई व्यवस्थित बनाएको थियो । प्रचण्डलाई सफल बनाउन उसको विशेष भूमिका थियो । पछिल्लो समय आफूलाई निकै परिपक्व नेताको रूपमा प्रस्तुत गरिरहेको थियो । मुख्य जिम्मेवारीमा कुनै ‘कमेन्ट’ गर्ने ठाउँ नै थिएन । अध्यक्षलाई पनि ऊमाथि ठूलो भरोसा थियो । प्रकाशको निधनले अध्यक्ष प्रचण्ड, हाम्रो परिवार र सिंगो पार्टीलाई ठूलो धक्का पुगेको छ । आफ्नै छोरा र स्वकीय सचिवसमेत भएकाले विशेषगरी प्रचण्डलाई नै गम्भीर धक्का लागेको छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा यो घटनाले माओवादी आन्दोलनको मुख्य नेतृत्वलाई गम्भीर असर पुगेको छ । प्रकाश युवामाझ लोकप्रिय हुँदै थियो । यो पुष्टि उसको अन्त्येष्टिको दिन उपस्थित युवा र सामाजिक सञ्जालमा व्यक्त विचारले देखाउँछ । सामाजिक सञ्जालमा उसका १२ लाख फलोअर्स थिए । यसैगरी, ऊभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका राजनीतिक व्यक्तिहरूसँग परिपक्व तरिकाले डिल गर्ने र अध्यक्षसँगको सम्न्ध कायम राख्न सक्ने क्षमता विकास भएको थियो । बाबुबाट राजनीतिक अनुभव सँगाल्दै थियो । यसरी हेर्दा ऊ अध्यक्षको असल कार्यकर्ता, असल छोरा र असल साथीको रूपमा थियो । पहिले कहिलेकाहीँ विवादमा परिरहन्थ्यो, तर करिब एक वर्षमा ऊभित्र निकै परिपक्वता आएको थियो । ठूली दिदीको निधनपछि परिवार र आफन्तका लागि परिपक्व सहयोगीको रूपमा आफूलाई उभ्याएको थियो । माओवादी भएरै मर्ने रहर
\"\"
दीपेश पुन उपाध्यक्ष, अखिल क्रान्तिकारी
म उहाँको कान्छो भाइ प्रकाश दाइसँग मेरो भेट ०६० तिर भएजस्तो लाग्छ । जनयुद्धको त्यो वेला ठ्याक्कै भेट भएको मितिचाहिँ सम्झना भएन । माओवादी हेडक्वार्टर रोल्पा रुकुमतिर सरेको वेला थियो, त्यो । उहाँसँग मेरै घरमा पहिलो भेट भयो । हामीबीच पारिवारिक सम्बन्ध नै रह्यो । उहाँका बाबु प्रचण्ड पार्टी अध्यक्ष र मेरा बाबु (नन्दबहादुर पुन) जनमुक्ति सेनाका कमान्डर रहेका वेला भेट भएको थियो । त्यसैले पनि होला, सम्बन्ध प्रगाढ भयो, त्यतिखेरै । उहाँले मलाई ‘मेरो कान्छो’ भन्नुहुन्थ्यो । मतलब, मेरो कान्छो भाइ होस् भन्नुहुन्थ्यो । मलाई पनि आफ्नै दाइजस्तै लाग्थ्यो । गएको दसैँमा मलाई टीका लगाइदिन दाइले उहाँको घरमै बोलाउनुभएको थियो । सँगै टीका पनि लगायौँ । पार्टीको तल्लो तहमा काम गर्न चाहनुहुन्थ्यो जनयुद्धको समयमा पनि हाम्रो राम्रो सम्बन्ध थियो । उहाँ जनमुक्ति सेनामा हुनुहुन्थ्यो । आफ्नै बाबुको सुरक्षामा खटिनुभएको थियो । उहाँ र मेरो स्वभाव धेरै नै मेल खान्थ्यो । पार्टीमा काम गर्दा ‘ग्राउन्ड’मा रहेर जनताको सेवा गर्ने मेरो स्वभाव उहाँको स्वभावसँग मिल्छ । जनताको आँगनमै गएर खटिने उहाँको चाहना म बुझ्थेँ । तर, उहाँले यो अवसर पाउनुभएन । अध्यक्षकै सचिवालयमा खटिनुप¥यो । तर, हेडक्वार्टरमा रहे पनि उहाँ ग्राउन्ड रिपोर्टिङ भने लिनुहुन्थ्यो । जनताको बुझाइ कस्तो छ भन्ने सवाल मलगायत साथीमार्फत लिनुहुन्थ्यो । पार्टीका माथिल्ला निकायमा भइरहेका निर्णय मलाई पनि उहाँले जानकारी गराउनुहुन्थ्यो । भनिने र देखिने फरक प्रकाश उहाँ खासमा सरल र मिलनसार हुनुहुन्थ्यो । माओवादी आन्दोलनप्रति निष्ठावान् हुनुहुन्थ्यो । बाहिर मिडियाले प्रचार गरेजस्तो ‘बेइमान’ हुनुहुन्नथ्यो । बाहिर भनिने र भित्र देखिने प्रकाश दाइ ठ्याक्कै उल्टो हुनुहुन्थ्यो । कतिपयले उहाँको व्यक्तित्व धुमिल्याउन कोसिस गरे । जनयुद्धका घाइते, अपांग, सहिद र वेपत्तापरिवारप्रति अत्यन्तै सहानुभूति राख्नुहुन्थ्यो । उनीहरूको चित्त बुझाउन पाए हुन्थ्यो, भन्नुहुन्थ्यो । उहाँहरूको पीडामा चिन्तित हुनुहुन्थ्यो । पछिल्लो समय बदलिएको व्यक्तित्व पहिलेको तुलनामा पछिल्लो समय उहाँमा धेरै परिवर्तन मैले महसुस गरेँ । अध्यक्षको सचिवालय व्यवस्थापन राम्रो बनाउनुभएको थियो । सचिवालय व्यवस्थापन मात्रै होइन, परिपक्व नेता भइसकेको महसुस हुन्थ्यो । अध्यक्षको सचिवालयलाई पारदर्शी बनाउन सूचना प्रविधिको राम्रो प्रयोग गर्नुभएको थियो । मिडियामा कस्ता विषय बाहिर ल्याउने, कस्ता विषय सार्वजनिक नगर्ने भन्ने परिपक्वता थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि व्यवस्थापनमा दक्ष हुन थाल्नुभएको हो । तर, उहाँ ‘मलाई सांसद, मन्त्री हुने कुनै लोभ छैन, अध्यक्षको सचिवालयलाई व्यवस्थित बनाएर उहाँको राजनीतिलाई सफल बनाउने नै मेरो सोच हो’ भन्नुहुन्थ्यो । पछिल्लो समय चिन्तित हुनुहुन्थ्यो उहाँ माओवादी भएरै मर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो । माओवादीप्रति एक किसिमको सद्भाव थियो । सानै उमेरदेखि माओवादीमा जोडिएकाले पनि यस्तो लाग्न सक्छ । ०५७ देखि लाग्नुभएको हो क्यारे । पार्टी एकताको चर्चा चल्दा सुरु–सुरुमा खुसी हुनुहुन्नथ्यो । पछिल्लो समय तनाव भएजस्तो कुरा पनि गर्नुहुन्थ्यो । निर्वाचनपछि पार्टीको अवस्था कस्तो हुने हो भन्ने कुरामा बढी चिन्तित हुनुभएको थियो । मसँग कुरा गर्दा पटक–पटक यस्तो चिन्ता दोहोर्‍याउनुभएको थियो । मलाई त माओवादी नै भएर मर्ने रहर हो पनि भन्नुभयो । तर, पछि एउटा कुराले ‘कन्भिन्स’ हुनुभएको थियो । समाजवादी क्रान्ति हुने हो भने, सम्पूर्ण मजदुर किसान सर्वहारा जनताको हित हुन्छ भने पार्टी एकता गर्दा हुन्छ भन्न थाल्नुभएको थियो । पहिलो भेटमै भन्नुभयो हामी साँच्चिकै दाहाल दाजुभाइ
\"\"
अनिश दाहाल एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव
त्यो ठट्टाले आज घोच्छ  पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि डेढ वर्षदेखि म उहाँको सचिवालयमा सक्रिय छु । उहाँको राजीनामालगत्तै आयोजित एउटा सार्वजनिक कार्यक्रममा प्रकाश दाहालसँग मेरो पहिलो भेट भएको थियो । त्यो भेटमा हामीबीच प्रकाश र अनिश दाहालका रूपमा सामान्य औपचारिक चिनजान भयो । पहिलो भेटमै दाहाल शब्दले हामी भावानात्मक रूपमा नजिकियौँ । उहाँले परिचयकै क्रममा ठट्टा गर्दै भन्नुभयो– दाहाल भएर तपाईं कहाँ त्यता (एमाले)मा बसिराख्नु भा’को, यता(माओवादी केन्द्र) आउनुपर्‍यो । उहाँको त्यो शब्दले आत्मीय रूपमै पारिवारिक सम्बन्ध स्थापित भएजस्तो अनुभूति गरायो, मलाई । त्यसो त मैले पनि उहाँको शब्द भुईंमा खस्न नपाउँदै जवाफ फर्काएँ– म त्यता आउने होइन, बरु हामी (एमाले–माओवादी केन्द्र) दुवै एक हुनुपर्छ, विचार र व्यवहार मिल्छ भने को आउने–जाने प्रश्नै हुन्न नि होइन र ? नभन्दै हामी (एमाले र माओवादी केन्द्र) साँच्चै डेढ महिनादेखि एक भइसकेका थियौँ । तर, दुर्भाग्य ! उहाँ अहिले हामीबीच हुनुहुन्न । मलाई त्यो पहिलो भेटको आत्मीय संवादयतिवेला कानमा गुन्जिराखेको छ । कताकता भित्र नमीठोसँग चिमोटेजस्तो अनुभूति हुन्छ । रवाफ र दम्भ कहिल्यै देखिनँ  त्यो कार्यक्रममै फोन नम्बर साटासाट गर्‍यौँ । त्यसपछि दुवै पार्टी अध्यक्षको भेटघाट र सार्वजनिक कार्यक्रमका विषयमा हामीबीच निरन्तर संवादहुन थाल्यो । प्रचण्ड प्रधानमन्त्री बनिसकेपछि बालुवाटारका औपचारिक र अनौपचारिक बैठकहरूमा हामीबीच बाक्लै भेटघाट हुँदै गयो । दुई नेताबीचको भेटघाटको समय व्यवस्थापन गर्नुपर्दा मैले उहाँबाट प्राप्त सहयोगले धेरै सहज महसुस गर्न थालेँ । जुनसुकै अवस्थामा पनि उहाँ फोन उठाउनुहुन्थ्यो । बैठकमा व्यस्त रहेको अवस्थामा पनि फोन उठाएर केही मिनेटमै ‘कल ब्याक’ गर्नुहुन्थ्यो । उच्चस्तरीय बैठकमा दुई नेताहरू बालुवाटारमा भित्र कोठामा छलफल गर्नुहुन्थ्यो, हामी भने अनौपचारिक रूपमा बाहिर गफिन्थ्यौँ । दोस्रो भेटमै मलाई उहाँले भित्रै बोलाएर सम्मानपूर्वक राख्नुभो । अनि प्रस्ताव गर्नुभो– हामी दुवै दाहाल के कमरेड भन्ने ? म अबदेखि तिमीलाई भाइ भन्छु । त्यही भेटदेखि हाम्रो सम्बन्ध दाजुभाइकै रूपमा अगाडि बढ्यो । दुई अध्यक्षबीच भेटघाट र कुराकानी नहुँदा पनि हामीबीच निरन्तर संवादहुन्थ्यो । प्रधानमन्त्री निवास बालुवाटार जाँदा पनि उहाँले ‘रिसिभ’ गरेरै भित्र लानुहुन्थ्यो । चिया खाजा खुवाउनुहुन्थ्यो । कतिपयवेला त खाना खुवाएर मात्रै पठाउने गर्नुहुन्थ्यो । यसरी छोटो समयमै मैले उहाँलाई घुलनशील, आत्मीय सम्बन्ध स्थापित गर्ने, ‘लो प्रोफाइल’मा बस्ने व्यक्तित्वका रूपमा चिन्ने मौका पाएँ । उहाँमा दम्भ देखाउने, शक्तिको अभ्यास गर्ने, रवाफ देखाउने केही पनि नकारात्मक प्रवृत्ति मैले कहिल्यै महसुस गरिनँ । \"\" हरेक विषयलाई सहज ठान्ने बानी कुनै पनि विषयलाई कहिल्यै ‘सिरियस्ली’ लिनुहुन्नथ्यो । कहिलेकाहीँ राजनीतिक प्रसंगमा यो कुराले दुवै अध्यक्षलाई समस्या पार्छ । अप्ठ्यारो स्थिति आउँछ, त्यसमा यस्तो गर्दा उपयुक्त हुन्छ भन्ने सुझाब राख्यो भने उहाँ जहिले पनि भन्ने गर्नुहुन्थ्यो– हैट ! के टेन्सन लिएको, त्यस्ता कुरा त मिलिहाल्छ नि ! हरेक कुरालाई सहज रूपमा लिने विशेषता थियो । मैले भेट्दा उहाँलाई गम्भीर मुद्रामा कहिल्यै देखिनँ । शीर्ष बैठकहरूमा भानु देउवाजी (प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव), प्रकाश दाइ, जोगबहादुर महरा सरलगायत एकै ठाउँमा जम्मा हुँदा यदाकदा राजनीतिक विषयका प्रसंगहरू आउँथे । त्यो वेला पनि उहाँ राजनीतिका कुराहरू के गर्ने भन्दै रमाइलोतिर प्रसंग बदल्नुहुन्थ्यो । कहिल्यै तनाव नलिने दाइको निधन ‘हृदयाघात’बाट भयो भन्दा आश्चर्यचकित छु । मान्छेको निधन लेखेकै पो हुन्छ कि जस्तो पनि अनुभूति भएको छ, मलाई । दाइसँग मेरो अन्तिम संवाद उहाँको निधन हुनुभन्दा ठीक तीन दिनअघि विहान ११ बजेतिर हाम्रो संवाद भएको थियो । त्यो नै अन्तिम संवाद भयो । मैले भनेको थिएँ– दाइ के छ हालखबर, तपाईं यता (झापा) तिरको कार्यक्रममा किन आउनुभएन, कता हनुुहुन्छ ? उहाँले जवाफ फर्काउनुभएको थियो, ‘भाइ अवस्था तिमीहरू (एमाले)को जस्तो सहज छैन । तिमीहरूको ढुक्क आनन्दको अवस्था छ, जसरी लाग्दा पनि हुन्छ । तर, हामी त धेरै खटिनुपर्ने स्थिति छ, यस्तो वेला म आफैँलाई अल्लि सञ्चो पनि छैन ।’ त्यसपछि सायद उहाँ चितवन पनि जानुभएन । उहाँ पार्टी अध्यक्ष (बुबा)लाई जिताउन धेरै गम्भीर भएर लाग्नुभएको अनुभूति मलाई भएको थियो । पार्टी मिलाउने हाम्रा कुरा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाइएपछि हाम्रो पार्टी अध्यक्ष बालुवाटार जानुभएको थियो । ३–४ घण्टाभन्दा बढी दुई अध्यक्षबीच वार्ता चल्यो । त्यो समयमा हामी दाजुभाइले पनि लामै संवाद गर्‍यौँ । त्यो वेला मैले भनेको थिएँ, ‘दाइ जहिल्यै के यता (बालुवाटार) भेटघाट, उता (बालकोट) भेटघाट । बुढाहरू (केपी र प्रचण्ड)लाई पनि जहिल्यै तनाव । विचार मिलिहाल्छ । केही–केही मिलाउनुपर्ने व्यावहारिक पाटोहरू होलान्, तर माओवादी र एमाले भनेर अब सधैँ किन रहिरहनुप¥यो र ? एक हुने विषयमा तपाईं अध्यक्ष (बुबा)सँग कुरा गर्नुहुन्न कि क्या हो ? अब त अघि बढ्न ढिलाइ भइसक्यो नि !’ उहाँले त्यतिवेला जवाफ दिनुभयो, ‘मैले भनिराखेकै छु, बुबाको एकीकरण गर्ने नै सोच छ । तर, हाम्रो पार्टीमा पनि भनेजस्तो परिस्थिति बनिसकेको छैन, त्यसैले उहाँले खोइ के सोचिराख्नुभएको छ ?’ यस्ता कुराले बढी चिन्तित प्रचण्ड कमरेड प्रधानमन्त्री भएकै वेला राष्ट्रपतिबाट उहाँलाई पदक वितरण गर्ने कुरामा मिडिया र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आए । उहाँ धेरै गम्भीर बन्नुभएको थियो । उहाँले मसँग धेरै दुःख बिसाउनुभयो । उहाँले भन्नुभएको थियो– बुबाले गर्नुभएको राजनीतिमा त मैले सहजीकरण मात्रै गरिरहेको छु । धेरै राजनीति गरेर मन्त्री हुन्छु भनेर मैले कहिल्यै सोचेको पनि छैन । तर भाइ, ममाथि किन यति धेरै आक्रमण ? के तिमीलाई पनि यस्तै आक्रमण हुन्छ ? पारिवारिक विषयमा भने हामीबीच धेरै छलफल हुन पाएन । समय छोटो भयो । यद्यपि, उहाँले एक दिन दुई परिवार घुम्न जाने प्रस्ताव राख्नुभएको थियो । दुवैको सल्लाहअनुसार कतै सपरिवार घुम्न जाने योजना पनि नबनेको होइन । तर, समयको चापले सम्भव भएन । जब सुनेँ  निधन भएको खबर गत शनिबार हामी दमकमा धेरै व्यस्त थियौँ । दिनभरको थकानपछि राति १ बजे म मोबाइलको स्विच अफ गरेर सुतेको थिएँ । आइतबार बिहान ६ः३० मा उठेपछि अन गरेँ । लगत्तै अध्यक्ष दमक निवासबाट निस्किन लाग्नुभएको खबर आयो । अनि, हतार–हतार निस्कएँ । अध्यक्ष निस्किसकेकाले म गाडी ‘फलो’गर्दै गएँ । १०–१५ मिनेटकै बीचमा मोबाइलमा निरन्तर सूचना केन्द्रहरूबाट फोन आयो । अध्यक्ष पूर्वनिर्धारित सेड्युलविपरीत हिँड्नुभएको र निरन्तर फोनमा घण्टी बजेका कारण वाम गठबन्धनमा कतै निकै ठूलो समस्या पो आयो कि भन्ने लागिरहेको थियो । सीधै अस्पतालमा पुगेपछि कोठामा प्रचण्ड कमरेड बीचको कुर्चीमा बसिरहनुभएको थियो, छेवैमा अध्यक्ष र दमकका केही साथीहरू वरिपरि हुनुहुन्थ्यो । एक्कासि प्रचण्ड कमरेडलाई निरास र आत्तिएको ‘मुड’मा देखेँ । उहाँले हतास मुद्रामा भन्नुभो– म त कसैगरी चित्त बुझाउँला, तर अब म्याडमको चित्त कसरी बुझाउने हो ? प्रकाश दाइ नरहेको खबर सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ । नेताका सहयोगीमध्ये प्रकाश पहिलो नम्बरमा
\"\"
गोविन्द परियार प्रधानमन्त्री शेरबहादुर देउवाका वरिष्ठ सञ्चारविज्ञ
प्रकाश दाहालसँग मेरो सम्बन्ध पत्रकारिता गर्दादेखिकै हो । त्यतिखेर म पत्रिकामा काम गर्थें । प्रकाशबाट धेरै सूचना लिएँ । पेसागतबाहेक व्यक्तिगत सम्बन्ध पनि राम्रो थियो । फेसबुक च्याटमा मेरो जिज्ञासाको जवाफ दिएकै हुन्थे । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उनी स्वकीय सचिव थिए । उनले सजिलै पहुँच दिन्थे । मेरो नजरमा पत्रकार र प्रविधिप्रेमी थिए, प्रकाश । जब, म प्रधानमन्त्री शेरबहादुर देउवाको वरिष्ठ प्रेसविज्ञ भएर प्रधानमन्त्री कार्यालयमा आएँ, त्यसपछि हामीबीच सूचना आदान–प्रदान बाक्लो रूपमा भयो । केही समयअघिसम्म कांग्रेस–माओवादीको ‘कोलिसन’ सरकार भएकाले पनि सत्तारुढ दलका शीर्ष नेताका सहयोगीका रूपमा सम्पर्क भइरहन्थ्यो । मैले चिनेको प्रकाश निकै साधारण थिए । लवाइ, खुवाइ र बोली व्यवहार सबै साधारण । उनीसँग निकट हुनुअघि र निकट भएपछि मैले सोच्ने प्रकाशमा धेरै भिन्नता पाएँ । साधारण व्यक्तित्व र ‘पब्लिक रिलेसन’ उनको सबैभन्दा राम्रो गुण थियो । सबैसँग सम्बन्ध बनाउन सक्ने खुबी थियो । शीर्ष नेताका सहयोगीहरूमध्ये यो मामलामा उनी पहिलो नम्बरमै थिए । नेताको सचिवालय सम्हाल्ने राम्रो व्यवस्थापक थिए, प्रकाश । बन्दुक चलाउन प्रकाशबाटै सिकेँ
\"\"
विश्वदीप पाण्डे डा. बाबुराम भट्टराईका स्वकीय सचिव
भुल्नै नसक्ने ती यादहरू प्रकाश दाहालसँग मेरो भेट ०६० मा दिल्लीमा भएको हो । उनी अध्यक्ष प्रचण्डको हेडक्वार्टरमा बस्थे भने म डा. बाबुराम भट्टराईसँग । साथीभाइ भेट्दा घुलमिल हुने र रमाइलो गर्ने प्रकाशको बानी थियो । निकै फरासिला मान्छे । भूमिगतकालमै भारतको नोयडामा बस्दा हाम्रो बसाइ पनि नजिक–नजिक थियो । त्यो वेला हामी दुईजना वेलावेला फिल्म हेर्न जान्थ्यौँ । कहिलेकाहीँ नेपालीको ठेलामा मःम खान पुग्थ्यौँ । असुरक्षाका कारण हामी लुकेर मःम खान्थ्यौँ । ती यादहरू अहिले पनि झल्झली आउँछ । त्यस्ता थिएनन् प्रकाश  सानैमा जनयुद्धमा हिँडेकाले प्रकाशले औपचारिक शिक्षा लिन पाएनन् । परिवार नै भूमिगत भएको थियो । बस्ने ठाउँ फेरिरहनुपर्ने भएकाले उनको पढाइमा ठेस लाग्यो । औपचारिक अध्ययनमा कमी भए पनि विचारमा उनी उच्च थिए । मैले जति संगत गरेँ, उनमा कुनै खराबी पाइनँ । शान्ति प्रक्रियामा आएपछि केही विवादमा मुछिए । तर, उनी खराब मान्छे होइनन् । बरु, सफा मन र सोझो व्यहोराका थिए । इमानदार प्रकाशको सोझोपनको फाइदा केहीले उठाएकाले बिगार्ने कोसिस भने गरेकै हुन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रकाशले निकै मिहिनेतका साथ काम गरे । उनकै मिहिनेतका कारण प्रचण्ड नेतृत्वको सरकार सफल पनि भयो । मेरा बुबा भक्तिप्रसाद पाण्डेको निधन हुनुअघि प्रकाशले निकै सहयोग गरे । त्यो गुन म जीवनभर कहिल्यै बिर्सिन सक्दिनँ । \"\" प्राविधिक पाटोमा अब्बल  सानैमा माओवादी जनयुद्धमा हिँडेकाले प्रकाशले औपचारिक रूपमा धेरै पढ्न पाएनन् । परिवारका सबै सदस्य भूमिगत भएपछि चितवनको घरमा बस्ने अवस्था सुरक्षाको दृष्टिकोणले निकै पेचिलो थियो । ठाउँहरू फरिरहनुपर्ने भएकाले उनको पढाइमा ठेस लाग्यो । तर, प्राविधिक विषय, जनसम्पर्क निर्माणलगायत पाटोमा उनी निकै अब्बल थिए । उनको निधनले माओवादी अध्यक्ष प्रचण्डलाई सबैभन्दा बढी क्षति पुग्नेछ । माओवादी पार्टीलाई पनि अपूरणीय क्षति पुर्‍याउनेछ । उनमा प्राविधिक विषयमा रुचि र दक्षता दुवै थियो । पछिल्लो समय प्रचण्डका विभिन्न कार्यक्रमको फेसबुक लाइभ गरेर होस् या सचिवालयमा रहेर गरेका काम प्रशंसनीय र अनुकरणीय छन् । प्रचण्ड–बाबुराम मिलाउने प्रयास पछिल्लो समय प्रचण्ड र बाबुरामबीच निकै अन्तरविरोध चुलियो । बाबुरामले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति गठन गरेपछि उहाँहरूबीचको दूरी निकै टाढा भयो । हामीबीच पनि सम्बन्धमा दरार पैदा होलाजस्तो भयो । प्रचण्ड र बाबुराम फरक–फरक रहेर हुँदैन भन्ने निष्कर्षमा पछिल्लो समय हामी दुवै पुगेका थियौँ । सामाजिक सञ्जालकै माध्यमबाट हामीले मिलाउने प्रयत्न गरिरहेका थियौँ । उहाँहरूलाई मिलाउने कामको पुल बनिरहेका थियौँ । अफसोच ! दुईजनाले गरिरहेको यो काम अधुरै रहन गयो । प्रकाशको असामयिक निधनले प्रचण्ड र बाबुराम मिलाउने काममा अपूरणीय क्षति पुगेको छ । हतियार चलाउन उत्तिकै निपुण  जनयुद्धको समयमा ठूला नेताको सुरक्षार्थ पनि हतियार चलाउनुपर्ने भयो । तर, सुरुमा मलाई हतियारसम्बन्धी ज्ञान नै थिएन । मलाई हतियार खेलाउन सिकाउने गुरु प्रकाश नै थिए । उनी सबै प्रकारका हतियार चलाउन जान्दथे । प्रकाश प्राविधिक विषयमा निकै जान्ने भएकाले पनि नयाँ–नयाँ प्रकारका हतियार पाउनेबित्तिकै मलाई पनि चलाउन सिकाउँथे । म पनि निकै चाख मानेर सिक्थेँ । युद्धकालीन समयमा माओवादीका नेताहरूले स्याटेलाइट फोन चलाउँथे । मलाई त्यो फोन चलाउन आउँदैन थियो । हामी निकै मिल्ने साथी थियौँ । त्यसैले पनि उनले मलाई स्याटेलाइट फोन चलाउन सिकाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE