Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

बयानका लागि राजालाई पत्र काट्दा...

आयोगमा बस्न मन थिएन ऐतिहासिक जनआन्दोलनपछि ११ वैशाख ०६३ मा प्रतिनिधिसभाको पुनस्र्थापना भयो । बैठक १५ गतेबाट सुरु भयो । १९ वैशाखमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भयो । १९ गते नै गिरिजा सरकारले जनआन्दोलनका क्रममा निरंकुश शासनका गतिविधि र ज्यादतीविरुद्ध जाँचबुझ समिति गठन गर्ने निर्देश दियो । त्यसको तीन दिनपछि समिति गठन भयो । त्यहीँ साँझ ६ बजे मेरा एक मित्रले फोन गरेर भने, ‘तपार्इं जाँँचबुझ समितिमा पर्नुभएछ, बधाई छ ।’ त्यसपछि साँढे ६ बजे एफएम सुनेँ । साथीले भनेको कुरो साँचो रहेछ । समितिमा त परियो । तर, त्यस विषयले मलाई खुसी तुल्याएन । म स्तब्ध भएँ । चिन्तित पनि भएँ । किनभने एक त त्यो मैले सोचेको विषय थिएन । अर्को, विभिन्न घटना भएपछि नेपालमा धेरै आयोग गठन भए तर सिफारिस भएको बुँदा कुनै पनि कार्यान्वयन हुँदैन । तत्कालको जनभावनालाई ख्याल गरेर त्यसलाई विषयान्तर गर्न प्रायः यस्ता आयोग गठन हुने गरेका उदाहरण धेरै छन् । ०४६ सालको जनआन्दोलनपछि आयोग गठन भयो । मल्लिक आयोगको रूपमा अझै पनि चर्चित छ । त्यो आयोगले पनि प्रतिवेदन बुझायो । तर, कार्यान्वयन भएन । तत्कालीन सरकारले उपेक्षा गर्‍यो । त्यही कारणले रायमाझी आयोगमा पनि म बस्न राजी थिइनँ । भोलिपल्ट बिहान म प्रधानमन्त्री निवास बालुवाटार गएँ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेँ । भने, ‘मलाई जाँचबुझ आयोगमा राख्नुभएको रहेछ । मलाई जानकारी पनि थिएन । म यो आयोगमा बस्न राजी छैन । तर, तपाईंलाई नभनी अस्वीकार गर्दा अप्ठ्यारो पर्ला । त्यसो हुँदा जानकारी दिन आएको ।’ तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला पनि सँगै थिए । उनले भने, ‘तपार्इंलाई जानकारी दिन मलाई भनिएको थियो । तपार्इंबाट यस्तै जवाफ आउला भन्ने लागेर मैले नभनेको । सरप्राइज पनि दिऊँ भनेर यस्तो गरिएको हो । यसमा अरूको पनि सहमति छ । त्यसो हुँदा अस्वीकार नगर्नुहोस् ।’ म स्तब्ध भएँ । मैले उनलाई भने, ‘यो नौटंकीमा परिणत हुन्छ । किनभने यो प्रतिवेदन कार्यान्वयन हुँदैन । म जोकरजस्तो बन्छु । मैले आन्दोलनका क्रममा प्रतिबद्धता पनि जाहेर गरेको छु । प्रतिवेदन कार्यान्वयन भएन भने कसलाई दोष दिने रु’ त्यसपछि गिरिजाबाबु बोले । उनले भने, ‘होइन, यो मल्लिक आयोग जस्तो होइन । यो प्रतिवेदन कडाइका साथ लागू हुन्छ । मल्लिक आयोगका प्रतिवेदन लागू नभएर गल्ती भयो । प्रतिवेदन लागू भएको भए यसरी प्रतिगामी शक्ति आउने नै थिएनन् । राजा ज्ञानेन्द्रले पनि यतिको दुस्साहस गर्ने नै थिएनन् । त्यसो हुँदा यो प्रतिवेदन लागू हुन्छ । ढुक्क भएर जाऊ ।’ गिरिजाबाबुले मलाई तिमी नै भन्थे । म उनलाई दाजु भन्थेँ । वेला–वेला उनी तपाईं पनि भन्थे । कहिलेकाहीँ पत्रकारजी पनि भन्थे । खासगरी मैले लेखेको समाचार अप्रिय लाग्यो भने उनी त्यसरी सम्बोधन गर्थे । म त्यसलाई व्यंग्यको रूपमा लिन्थेँ । उनले पुनः जोड दिएर प्रतिवेदन अक्षरस लागू हुने प्रतिबद्धता जाहेर गरे । त्यसको तीन दिनपछि २६ वैशाखमा मैले नियुक्ति पत्र बुझेँ । २७ वैशाखमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमक्ष हाम्रो शपथ भयो । कामलगत्तै सुरु भयो । ०६३ मंसिर २ गते प्रतिवेदन बुझाइयो । राजादेखि सिपाहीसम्मलाई कारबाहीको सिफारिस प्रतिवेदनमा सरकारको कार्यादेश थियो । जनआन्दोलनका सन्दर्भमा राज्यको तर्फबाट भएको ज्यादती, पद र सत्ताको दुरुपयोग, राष्ट्रिय ढुकुटीको दुरुपयोग, मानवअधिकारको हननसम्बन्धी जाँचबुझ गरेर प्रतिवेदन दिनू भन्ने आदेश थियो । मेरा लागि यो चुनौती र अवसर दुवै थियो । राजालाई समेत कारबाहीको दायरामा ल्याउनु सानो विषय थिएन । तर, परिस्थितिले जिम्मा दियो । त्यसो हुँदा म खुसी नै थिएँ । तर, प्रतिवेदन बुझाउँदा नबुझाउँदै मुलुकमा अर्कै वातावरण बन्यो । त्यो देख्दा मेरो उत्साह शिथिल भएको थियो । आखिर प्रतिवेदनको त्यही नै गति भयो, जुन मैले पहिल्यै नै कल्पना गरेको थिएँ । हामीले बडो उत्साहसाथ प्रतिवेदन तयार गर्‍यौँ । निष्पक्ष ढंगले जाँचबुझ गर्‍यौँ । जाँचबुझपछि दुई सयभन्दा धेरैलाई जनआन्दोलनका दोषी करार गरिएको थियो । पहिलो सूचीमा राजा ज्ञानेन्द्र थिए । दोस्रोमा तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष डा। तुलसी गिरी, कीर्तिनिधि विष्ट, तत्कालीन गृहमन्त्री, मुख्यसचिव लोकमानसिंह कार्कीदेखि तत्कालीन क्षेत्रीय प्रशासक, सिडिओसमेत थिए । त्यसक्रममा हामीले डा। तुलसी गिरीदेखि घटनामा संलग्न प्रहरीसम्मको बयान लियौँ। त्यसक्रममा हामीले राजा ज्ञानेन्द्रलाई पनि चिठी पठायौँ । त्यसवेलासम्ममा ०४७ को संविधान यथावत् नै थियो । संविधानले राजालाई माथि राखेको थियो । त्यसो हुँदा राजा अझै पनि राजाको हैसियतमै थिए । त्यसो हुँदा राजालाई सीधै आयोगमा बोलाउन सम्भव थिएन । मर्यादाका दृष्टिले पनि त्यो उचित देखिँदैनथ्यो । यद्यपि, हामीले राजालाई चिठी पठायौँ र आन्दोलनका विषयमा प्रश्न गर्‍यौँ । त्यसवेला हामीले छानबिनमा राजादेखि सिपाहीसम्मलाई समेट्यौँ। तर, प्रतिवेदन बुझाउँदाका बखतसम्ममा राजनीतिक दलको मानसिकता बदलिसकेको थियो । दलबीच कसलाई बचाउने भनेर प्रतिस्पर्धा नै चल्यो । कारबाही गर्दा पूर्वप्रशासक, पूर्वपञ्च टाढिने हुन् कि भन्ने राजनीतिक दलमा चिन्ता देखा पर्‍यो । त्यसो हुँदा सबै राजनीतिक दल उनीहरूलाई उन्मुक्ति दिने पक्षमा उभिन पुगे । सामान्य कर्मचारीलाई विभागीयसम्मको कारबाही भयो । तर, अरू कसैलाई केही भएन । खासगरी त्यसमा कांग्रेस, एमाले, माओवादी सम्मिलित सरकारको मानसिकता त्यस्तो देखियो । त्यसैवेला कारबाही गर्नेभन्दा पनि दोषीलाई कसरी जोगाउने भनेर होडबाजी चल्यो । राजाले जवाफ दिएनन् जनआन्दोलनको सन्दर्भमा राजा नै केन्द्रमा थिए । हामीले जो–जोसँग बयान लियौँ, ती सबैले राजालाई नै दोषी करार गरेका थिए । सबैले राजाको निर्देशनअनुसार हामीले काम गरेको भने । त्यसो हुँदा सबैले दोष राजालाई नै दिएका थिए । तर, खासमा बिषय के थियो भन्ने बुझ्न आवश्यक थियो । किनकि स्पष्ट हुने अवसर त राजालाई पनि हुन्थ्यो । कसैलाई जवाफ दिने अवसर नै नदिई दोषी ठहर गर्नुपर्छ भन्ने चिन्तनबाट हामी मुक्त थियौँ । यो कानुन र न्यायको दृष्टिले पनि उचित हुँदैनथ्यो । त्यसो हुँदा राजा दोषी या निर्दोष के हुन् भनी सफाइ पाउन हामीले चिठी लेखेका थियौँ । तर, राजाले त्यसको जवाफ कहिल्यै पनि दिएनन् । हामीले जवाफ कुर्‍यौँ । तर, अन्तिमसम्म पनि जवाफ आएन । त्यसपछि त्यसवेलाको सबै शक्तिको स्रोत राजा नै भएको निष्कर्षमा हामी पुग्यौँ । राजाले मुलुकका सबै शक्ति गैरसंवैधानिक रूपले लिएको र त्यसको दुरुपयोग गरेको भन्ने पुष्टि भयो । राजा दोषी भएको देखियो । कारबाहीका लागि त्यसवेलाको कानुन र संविधान पर्याप्त थिएन । खासगरी मानवअधिकार हनन र राजनीतिक मुद्दाका सन्दर्भमा कानुन अपर्याप्त थिए । त्यसो हुँदा कारबाही गरिनका लागि नयाँ कानुन निर्माण हुनुपर्छ भन्ने प्रतिवेदन तयार भयो । सबैको मनोबल गिरेको थियो बयानका क्रममा हामीले सबैलाई औपचारिक रूपमा बोलायौँ । बयान लियौँ । जो, जसलाई दोषी ठहर गरिएको थियो, उनीहरू सबैको मनोबल गिरेको थियो । मल्लिक आयोगको इतिहास दोहोरिँदैन । हामीले त्यसरी छुट पाउँदैनौँ भन्ने नै उनीहरूमा थियो । किनभने मल्लिक आयोगले दोषी ठहर गरेका व्यक्ति पनि यसमा दोषी ठहर भएका थिए । पक्कै कारबाही हुन्छ भन्ने सोचले उनीहरू ग्रसित थिए । तर, राजनीतिक दलमा छोटो समयमा नै मनस्थिति बदलिन पुग्यो । त्यसपछि सुरु भएको अराजकता र भ्रष्टाचारको क्रम अद्यपि जारी छ । त्यसवेला शक्तिको दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न सकिएको भए त्यसपछि सत्तामा पुगेकाहरूले शक्ति दुरुपयोग गर्न धेरै सोच्नुपर्ने थियो । दोषीको नै पदोन्नति भयो रायमाझी आयोगले जसजसलाई दोषी ठहर गरी कारबाहीको सिफारिस गरेको थियो, उनीहरू नै शक्तिमा आउने क्रम चल्यो । त्यसवेला मन्त्री भएकाहरू पछि उपप्रधानमन्त्री बने । त्यसवेला मुख्यसचिव भएका लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बने । त्यसवेला सशस्त्र प्रहरीमा एसपी रहेकाहरू आइजिपी नै बन्न पुगे । डिआइजी रहेकाहरू पनि आइजिपी बने । आर्मीका तल्लो तहमा रहेकाहरू प्रधानसेनापति नै बने । लगभग हरेक क्षेत्रमा उनीहरूले प्रोत्साहन नै पाए । पदोन्नति नै पाए । तर, जनआन्दोलनको प्रतिफल जनताले अझै पाउन सकेका छैनन् । त्यो प्रतिवेदन लागू भएको भए अहिले देखिएका विसंगति र विकृति देखिने थिएनन् । मलाई त पहिले नै लागेको थियो कि यो प्रतिवदेन लागू हुँदैन भनेर । आखिरमा भयो त्यस्तै । गिरी भाग्यवादी, विष्ट निश्छल समिति गठन भयो । समितिले काम कहाँबाट सुरु गर्ने भन्ने प्रश्न उठ्यो । जो सबैभन्दा माथिल्लो ओहदामा छन्, उनीहरूबाटै बयान सुरु गर्ने भन्ने निर्णयमा हामी पछि पुग्यौँ । सबैभन्दा माथि राजा थिए । तर, राजालाई नै बयान लिँदा वातावरण बिथोलिने डर थियो । त्यसो हुँदा हामीले बयान दोस्रो व्यक्तिबाट सुरु गर्‍यौँ । उनी थिए, डा। तुलसी गिरी । उनी तत्कालीन सरकारका उपाध्यक्ष थिए । उनीसँग हामीले १३ असारमा बयान लियौँ । त्यसपछि कीर्तिनिधि विष्टसँग बयान लियौँ । गिरी र विष्टसँगको बयान सकियो । अनि अनौपचारिक कुरा भए । बयान लिइएका दुवै जनासँग मेरो पहिलेदेखिकै परिचय थियो । समाचार तथा अन्तर्वार्ताका क्रममा उनीहरूसँग मेरो पहिले नै भेट भएको थियो । मैले दुवैलाई सोधेँ, ‘तपार्इंहरू प्रधानमन्त्री भइसकेको मान्छे । धेरै अधिकार पनि प्रयोग गरिसकेको । अहिले यसरी विवादास्पद मन्त्रिपरिषद्को उपाध्यक्ष बन्दा आत्मग्लानि भएन रु’ डा। गिरीले आध्यात्मिक भएर जवाफ दिए । यस विषयमा अब धेरै कुरा नगरौँ भनेर उनी पन्छिन खोजे । खासगरी उनले त्यसवेला भाग्यसँग जोडेर कुरा गरेका थिए । सबैभन्दा इमानदार र निश्छल जवाफ विष्टले दिए । उनले भने, ‘बयानमा चाहिँ यो विषय नलेखिदिनुहोला । किनभने म तत्कालीन सरकारको उपाध्यक्ष बनिसकेँ । अब मलाई इच्छा थिएन भन्न पनि मिलेन । त्यसवेला राजाले हामीसँग केही सल्लाह गरेका थिए । राजनीतिक दलले मुलुक सुधार्न सकेनन् भनेर कन्भिन्स गराए । त्यसपछि राजाले सहयोग मागे । म सहयोग गर्न राजी भएँ । मेरा लागि पद भन्ने विषय ठूलो थिएन । म त प्रधानमन्त्री भइसकेको मान्छे । ज्ञानेन्द्रको सरकारमा उपाध्यक्ष बन्दा चित्त त बुझेको थिएन । राजाको सन्तोषका लागि म बसेँ । काम गर्दै जाने क्रममा राजा ज्ञानेन्द्रलाई चिनेँ । उनी अरू राजाजस्ता होइन रहेछन् । उनी कोहीसँग कुरा गर्दा रहेनछन् । मन्त्रिपरिषद्मा औपचारिक रूपमा कुरा गर्नेबाहेक उनी सधैँ चुपचाप रहने । उनीसँग बाँकी भेटघाट पनि भएन । म आफ्नो कुरा अरूमार्फत पुर्‍याउन नचाहने । तर राजा मसँग भेट्नै नचाहने । त्यसो हु“दा मैले उपाध्यक्ष भारी चाहेर पनि बिसाउन पाइनँ । त्यसो हुँदा उपाध्यक्षको हैसियतले मेरा भागमा परेका जति कारबाही म भोग्न तयार छु ।’ अाजको नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE