Khabar Dabali Logo
  February 18, Tue

यसरी हुन्छ पुँजीवादमा शोषण, के हो त अतिरिक्त मूल्यको सिद्धान्त ?

  • पुस १७ गते, २०७६ - ०९:१०

मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ ।

के यसको अर्थ यस्तो हुन्छ– कुनै व्यक्ति जति नै अल्छी र अकुशल हुन्छ, उसले बनाएको माल त्यति नै मूल्यवान् हुन्छ ? यो कुनै हालतमा होइन ।

कुनै मालको उत्पादनका निम्ति अलगअलग माल उत्पादकहरूलाई अलगअलग समयसम्म श्रमको आवश्यकता पर्दछ । यसका कारण स्पष्ट छन् । केही मानिस अरूभन्दा धेरै कुशल हुन्छन् र केही मानिसहरूले अरूभन्दा राम्रा औजार र उपकरणहरूको प्रयोग गर्दछन् । स्वाभाविक छ– धेरै कुशल र राम्रा औजारहरू प्रयोग गर्ने व्यक्तिहरूद्वारा लिइएको समय कम कुशल र भद्दा औजारहरूको प्रयोग गर्ने व्यक्तिहरूले लिएको समयभन्दा कम नै होला । त्यसो हो भने मालहरूको मूल्य निर्धारण गर्नका निम्ति कुन श्रमकालको उपयोग गर्नुपर्ला ?

विभिन्न माल उत्पादनहरूद्वारा माल उत्पादनमा खर्च गरिएको श्रमकाललाई व्यक्तिगत श्रमकाल भन्ने गरिन्छ । उदाहरणका निम्ति केही सिकर्मीले एउटा कुर्सी बनाउन तीस घन्टा लगाउँछन्, केहीले पच्चीस घन्टा र अन्यले बीस घन्टा । यी सबै व्यक्तिगत श्रमकाल हुन् । मालहरूको मूल्य व्यक्तिगत श्रमकालबाट होइन, बरु सामाजिक रूपबाट आवश्यक श्रमबाट तय हुने गर्दछ । ‘सामाजिक रूपबाट आवश्यक श्रम उत्पादनको विद्यमान सामान्य स्थितिहरूमा त्यस समयको औसत कुशलताद्वारा कुनै उपयोग मूल्यको उत्पादनमा लागेको श्रमकाल हुने गर्दछ ।’ २ उत्पादनका सामान्य स्थितिहरूमा तथा औसत कुशलता वा गहनतासँग एउटा कुर्सी बनाउन लागेको समय २५ घन्टा छ भने त कुर्सी बनाउनका निम्ति सामाजिक रूपबाट आवश्यक श्रम २५ घन्टा हुन्छ । यो २५ घन्टाको श्रम कुर्सीको मूल्य निर्धारण गर्ने सामाजिक रूपबाट आवश्यक श्रम हो ।

श्रमद्वारा मूल्य निर्धारणको चर्चा गर्दा केवल व्यक्तिगत श्रम र सामाजिक रूपबाट आवश्यक श्रमका बीचमा मात्र होइन, साधारण श्रम र जटिल श्रमका बीचमा पनि अन्तर गर्नुपर्दछ । साधारण श्रम त्यो श्रम हो जुन कुनै सामान्य स्वस्थ व्यक्तिद्वारा बिनाकुनै विशेष प्रशिक्षण गर्न सकिन्छ । जटिल श्रम विशेष प्रशिक्षण प्राप्त कुशल मजदुरद्वारा गरिएको श्रम हो । त्यसकारण एउटा निश्चित समयावधिमा सामान्य श्रमद्वारा निर्मित मूल्य जटिल श्रमद्वारा निर्मित मूल्यभन्दा थोरै होला, जटिल श्रम कैयौँ साधारण श्रमहरूको योग हुने गर्दछ । जटिल र साधारण श्रमका बीचमा आपसी परिवर्तन विनिमयको प्रक्रियामा स्वतः भइरहन्छ ।

निजी श्रम र सामाजिक श्रमको अन्तरविरोध माल उत्पादनको आधारभूत अन्तरविरोध हामीले मालहरूको दोहोरो प्रकृति, माल उत्पादनमा श्रमको दोहोरो प्रकृति र मालको मूल्यको विश्लेषणमा गरेका छौँ । यस आधारभूत बुझाइबाट हामीले माल उत्पादनका अन्तरविरोधहरूलाई अझ विश्लेषण गर्न सक्छौँ ।

मालहरूलाई श्रम उत्पादनहरूको विनिमयका निम्ति प्रयोग गर्ने गरिन्छ । माल उत्पादक आफ्ना आवश्यकताहरूका लागि माल उत्पादन गर्दैनन् । उदाहरणका निम्ति कामीले फौरा यसकारण बनाउँदैन किनकि उसलाई त्यसको आवश्यकता छ । उसको उद्देश्य फौराहरू बेचेर तिनको मूल्य गर्ने हुन्छ ताकि त्यसको बदलामा आफ्ना आवश्यकताका चामल र कपडा प्राप्त गर्न सकोस् । माल उत्पादकहरूका निम्ति यो एकदम महत्वपूूर्ण हुने गर्दछ– उसको माल बिक्छ कि बिक्दैन ।

मालले उपयोग मूल्य र मूल्यका विपरीत बिन्दुहरूलाई जोड्छ । ती मालमा त एकीकृत हुन्छन्, साथै एक अर्काका विपरीत पनि हुन्छन् । त्यो माल बिक्यो भने त तिनका आन्तरिक अन्तरविरोध हल हुन पुग्छन् । जब एउटा फौरा त्यस्तो किसानको हातमा पुग्छ जसलाई त्यसको आवश्यकता हुन्छ, त्यो मूर्त श्रम अमूर्त श्रममा बदलिन पुग्छ र कामीलाई उसको फौराको मूल्य प्राप्त हुन्छ । फौराको उपयोग मूल्य र मूल्य पनि एक हुन पुग्छ । त्यो माल बेच्न सकिएन भने त उपयोग मूल्य र मूल्य तथा मूर्त श्रम र अमूर्त श्रमका अन्तरविरोध तुरुन्तै सतहमा आउँछन् । यद्यपि फौरामा उपयोग मूल्य त रहेकै हुन्छ । त्यो बिकेन भने त त्यसको मूल्य प्राप्त हुँदैन र त्यो फौरा फोहोरको थुप्रोभन्दा अरू केही हुँदैन । यस्तो स्थितिमा कामीको मूर्त श्रम जसमा निश्चितै शारीरिक–मानसिक श्रम खर्च भएको छ, अमूर्त श्रममा परिवर्तन हुन सक्दैन । अर्को शब्दमा उसको श्रम समाजद्वारा स्वीकृत हुँदैन र बेकारमा खेर जान्छ । यस्तो हालतमा कामीसँग अरू उत्पादन गर्नका निम्ति काँचो फलाम तथा कोइला किन्नका लागि कुनै साधन रहँदैन । ऊसँग आफ्नो आजीविकाका लागि इन्धन, चामल, तेल र नुन किन्नका लागि कुनै साधन रहँदैन । उपयोग मूल्य र मूल्य तथा मूर्त र अमूर्त श्रमका बीचको अनतरविरोध माल उत्पादकको उत्पादन र आजीविकालाई सीधै प्रभावित गर्दछ ।

माल उत्पादनमा यी अन्तरविरोध कसरी पैदा हुने गर्दछन् ? त्यसका स्रोत के हुन् ? निजी स्वामित्वअन्तर्गत माल उत्पादनको एउटा आधारभूत अन्तरविरोध हो । यो हो निजी र सामाजिक श्रमका बीचको अन्तरविरोध । माल यद्यपि विनिमयका निम्ति प्रयोग हुने श्रम उत्पादन हुने गर्दछन् र उत्पादनद्वारा निर्मित उपयोग मूल्य उसको आवश्यकताका निम्ति होइन बरु सामाजिक आवश्यकताहरूको पूर्तिका निम्ति हुने गर्दछ । त्यसकारण माल उत्पादकको श्रमको प्रकृति सामाजिक हुन्छ । यो समग्र सामाजिक श्रमको एक भाग हुने गर्दछ । परन्तु निजी स्वामित्वका स्थितिहरूको मातहत, के र कति उत्पादन गर्ने हो तथा त्यसबाट आय कति हुने हो यो उत्पादकको निजी श्रमको प्रकृति पनि हुने गर्दछ । निजी र सामाजिक श्रमका बीचको यो अन्तरविरोध निजी स्वामित्वमातहत माल उत्पादनका सम्पूर्ण अन्तरविरोधहरूको मुख्य स्रोत हो । जब निजी उत्पादकले बनाएका माल बजारमा बिक्री हुन्छन् तब यसबाट यो जानकारी मिल्छ– यसको निजी श्रम समाजद्वारा स्वीकार गरियो र त्यो सामाजिक श्रमको एक भाग बन्न पुग्छ । माललाई बिक्री गर्न सकिएन भने त माल उत्पादकको निजी श्रम समाजद्वारा स्वीकार गरिँदैन र त्यसलाई सामाजिक श्रममा बदल्न सकिँदैन । माल उत्पादकको मूर्त श्रमलाई अमूर्त श्रममा बदल्न सकिँदैन । त्यसकारण मालको मूल्य प्राप्त गर्न सकिँदैन । माक्र्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो ।

श्रमको दोहोरो प्रकृतिको विश्लेषणको माध्यमबाट माक्र्सले श्रम सिद्धान्तको रचना गर्नुभयो । यो सिद्धान्तले वैज्ञानिक ढङ्गबाट देखाउँछ– मूर्त श्रमले मालहरूको उपयोग मूल्यको निर्माण गर्दछ जब कि अमूर्त श्रमले मालहरूको मूल्य निर्धारण गर्दछ । श्रम नै मूल्यको एक मात्र स्रोत हो । माक्र्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको एउटा महत्वपूर्ण सङ्घटक अङ्ग हो ।

माक्र्सवादी सिद्धान्तको मार्ग्निर्देशन पाउनुभन्दा पहिले सर्वहाराले आफ्ना दुःखहरूको स्रोत बुझ्न पाएको थिएन र आफ्ना सङ्घर्षका लक्ष्यहरूको पहिचान थिएन । केहीलाई यस्तो गलत बुझाइ थियो– उनीहरूका दुःखहरूको कारण मेसिन हुन् । एकपल्ट मेसिनहरूलाई नष्ट गर्ने सङ्घर्षको एउटा तरिकाका रूपमा पनि अपनाउन पुगे । माक्र्सले सर्वहारा सङ्घर्षहरूको लामो अनुभवलाई संश्लेषण गर्नुभयो र पुँजीवादी शोषणको रहस्यलाई पर्दाफास गर्नका निम्ति अतिरिक्त मूल्यको सिद्धान्तको रचना गर्नुभयो । यसबाट सर्वहारा वर्गलाई आफ्नो ऐतिहासिक मिसनको र यस तथ्यको महसुस भयो– केवल हिंसात्मक क्रान्तिको माध्यमबाट र पुँजीवादको स्थानमा समाजवाद ल्याएर नै ऊ मुक्त हुन सक्छ । माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त मूल्यको श्रम सिद्धान्तमा आधारित छ । मूल्यको श्रम सिद्धान्तबिना अतिरिक्त मूल्यको सिद्धान्त स्थापित हुन सक्दैनथ्यो ।

यद्यपि माक्र्सको मूल्यको श्रम सिद्धान्तले सर्वहारा क्रान्तिकारी सङ्घर्षहरूलाई मार्गदर्शन दिन्थ्यो । त्यसकारण बुर्जुवा अर्थशास्त्रीहरूले मूल्य र श्रमको सम्बन्धविच्छेद गर्न, माक्र्सको मूल्यको श्रम सिद्धान्तको विरोध गर्न र पुँजीवादी शोषणमाथि पर्दा हाल्न असफल प्रयासमा हरेक तरहका अवैज्ञानिक मूल्यका सिद्धान्तहरूलाई स्थापित गर्न भरपूर कोसिसहरू गरे ।

भुँडे अर्थशास्त्रीहरूका बीचमा एक समय मूल्यको उत्पादन लागत सिद्धान्त प्रचलित थियो । यस सिद्धान्तले मन्दथ्यो– मालको मूल्य त्यसको उत्पादनमा लागेको लागत (उत्पादनका साधनहरूको मूल्य र ज्याला) बाट तय हुने गर्दछ । कुनै मालको मूल्य वास्तवमा उत्पादन लागतबाट हुँदो हो त माल बिक्री भएपछि पुँजीपतिको उत्पादनका क्रममा खर्च भएको लागत नै फिर्ता मिल्थ्यो । यसप्रकारले बिचरा ऊ कसरी अमीर बन्न सक्थ्यो ? मजदुरको शोषण कसरी हुन्छ ? यसप्रकार ती भुँडे अर्थशास्त्रीले भन्दथे– मूल्य उत्पादन लागतबाट तय हुने गर्दछ । वास्तवमा मुनाफाको व्याख्या उच्चतम् पारिश्रमिक संशयका निम्ति पुरस्कार र जोखिमको बदला पुरस्कारका रूपमा गर्दथे । यो बुर्जुवा वर्गका पक्षधरका रूपमा उनीहरूको फोहोरी भूमिकालाई स्पष्ट गर्दछ ।

बुर्जुवा भुँडे अर्थशास्त्रीहरूका बीचमा एउटा समयमा मूल्यको उपयोगिता सिद्धान्त पनि प्रचलित थियो । त्यस सिद्धान्तअनुसार कुनै मालको मूल्य त्यसमा निहित उपयोगिताको परिमाणबाट तय हुने गर्दछ । त्यसो भए उपयोगिता के हो ? वास्तवमा यो कुनै मालको उपयोग मूल्य हुने गर्छ ।

हामीले पहिले नै भनिसकेका छौँ– विभिन्न मालहरूको अलगअलग उपयोग मूल्य हुने गर्दछ जसलाई आपसमा तुलना गर्न सकिँदैन । यो एकदमै बिनातुकको कुरा हो– कुनै मालको मूल्य उसको उपयोग मूल्यबाट तय हुने गर्दछ । मूल्यको उपयोगिता सिद्धान्त प्रतिपादन गर्नेहरूले बुद्धिमत्तापूर्ण ढङ्गबाट यस कुराको व्याख्या गर्न सकेनन्– मानव जीवनका निम्ति आवश्यक हावा र घामजस्ता वस्तुहरूमा मूल्य किन हुँदैन र तिनलाई मालका रूपमा बेच्न किन सकिँदैन ।

बुर्जुवा भुँडे अर्थशास्त्रीका बीचमा एउटा लोकप्रिय सिद्धान्त मूल्यको भाग र आपूर्तिको सिद्धान्त थियो । यस सिद्धान्तले यस कुरालाई नकार्दथ्यो– कुनै मालको कुनै वस्तुगत अन्तरनिहित मूल्य हुने गर्दछ । त्यसका अनुसार मालहरूको मूल्य बजारमा आपूर्ति एवम् मागको स्थितिबाट निर्धारित हुने गर्दछ । जब कुनै मालको आपूर्ति उसको मागभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य कम हुने गर्दछ र त्यसको मूल्य पनि कम हुने गर्दछ । जब कुनै मालको माग उसको आपूर्तिभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य धेरै हुन्छ र त्यसको मूल्य पनि धेरै हुन्छ । यो सिद्धान्त स्पष्टतः भ्रान्तिपूर्ण थियो । मूल्यको माग र आपूर्तिको सिद्धान्तका प्रतिपादकले यो बताउन सकेनन्– आपूर्ति र माग बराबर भएमा मालको मूल्य कसरी तय हुन्छ र यो पनि सम्झाउन सकेनन्, विभिन्न मालहरूका निम्ति माग र आपूर्तिका बदलिइरहने सम्बन्धहरूका बीचमा कुनै माल सदैव अन्य मालभन्दा धेरै महँगा किन हुने गर्दछन् ।

यद्यपि बुर्जुवा अर्थशास्त्रीहरूले मालको श्रम सिद्धान्तलाई खारेज गर्न हरसम्भव प्रयत्न गरे तर सत्यलाई कहिल्यै खारेज गर्न सकिँदैन । बुर्जुवा वर्गका विभिन्न छद्म वैज्ञानिक सिद्धान्तहरूका विरुद्ध आफ्नो सङ्घर्षमा मूल्यको माक्र्सवादी श्रम सिद्धान्त एक मात्र सत्य सिद्धान्त सिद्ध हुन पुग्यो । मुद्रा माल विनिमयको विकासको एउटा स्वाभाविक उपज हो । मुद्रा सार्वभौमिक समतुल्यको कार्य गर्ने एक विशेष माल हो ।

मुद्राको सम्बन्ध मालहरूसँग हुन्छ किनभने दैनिक जीवनमा मालहरूको मूल्य मुद्राका रूपमा अभिव्यक्त हुने गर्दछ । मालहरूलाई मुद्राबाट खरिद गरिन्छ । यद्यपि सुरुदेखि नै यस्तो थिएन । मुद्रा उत्पादन र विनिमयको विकासको उपज हो । माल विनिमयको सुरुआत मालहरूको सीधै आपसमा अदलाबदलीबाट सुरु भयो । प्रारम्भमा पशुपालक कबिला र कृषक कबिलाहरूले आफ्नो अतिरिक्त उत्पादहरूलाई आपसमा विनिमय गर्दथे । उदाहरणका निम्ति भेडाहरूसँग चामलको विनिमय गरिन्थ्यो । त्यस समयमा मालहरूको विनिमय समयसमयमा हुने गर्दथ्यो र यो मुख्यतः गोत्र कम्युनहरूका भित्र नै चल्थ्यो । विनिमयप्रक्रियामा एउटा मालको मूल्य कुनै अर्को मालका रूपमा अभिव्यक्त हुने गर्दथ्यो । उदाहरणका निम्ति दुईवटा भेडा एक बोरा चामलको बराबर हुन्थ्यो । भेडाको मूल्य स्वार्थमा नाप्न सकिँदैनथ्यो । जव भेडाहरूको चामलसँग विनिमय हुन्थ्यो तव भेडाको मूल्य चामलका रूपमा अभिव्यक्त हुने गर्दथ्यो । उपरोक्त समीकरणमा चामलजस्ता मालहरूको एक ‘समतुल्य’ को भूमिका हुन पुग्दथ्यो ।

तिनीहरू एउटा ऐनाजस्तै समान हुन्थे जसमा अर्का मालहरूको मूल्य प्रतिबिम्बित हुने गर्दथ्यो । उत्पादक शक्तिहरू र श्रमको सामाजिक विभाजनको विकाससँगसँगै माल विनिमय दिनप्रतिदिन विकसित हुँदै गयो । विनिमय गरिने मालहरूको परिमाण र विविधता दुवै बढे । विनिमयको प्रक्रियामा एउटा मालको कैयौँ अन्य मालहरूसँग हुन सक्थ्यो । साथै माल विकाससँगै मालहरूको सीधै अदलाबदलीबाट हुन जाने नोक्सान पनि अधिकाधिक देखिन थाल्यो । सीधै अदलाबदली तब मात्र सम्भव हुन सक्थ्यो जब दुवै पक्षलाई त्यसै वस्तुको आवश्यकता हुन्थ्यो जुन दोस्रो पक्षले दिइरहेको हुन्थ्यो । उदाहरणका निम्ति मान्नुस् भेडाको मालिकले अनाजसँग विनिमय गर्न चाहन्छ तर अनाजको मालिकलाई भेडाको बदला फौराको आवश्यकता होस् र फौराको मालिकले भेडा वा अनाजको बदला कपडा लिन चाहेको होस् । कपडाको मालिकलाई भेडाको आवश्यकता भएमा भेडा बेच्नेले यसरी पाउन सक्थ्यो– उसले पहिले भेडाको बदला कपडा लिने, फेरि कपडासँग फौरा र अन्त्यमा फौराको बदला अनाज । विनिमयको वाञ्छित उद्देश्य धेरै कठिनाइबाट पूरा हुन सक्थ्यो । कपडावालालाई भेडाको आवश्यकता हुँदैनथ्यो भने उसले तमाम दुःख उठाएर पनि आफ्नो आवश्यकताको वस्तु पाउन सक्दैनथ्यो । यसप्रकार माल उत्पादनको उत्तरोत्तर विकसित हुँदै जाँदा प्रत्यक्ष वस्तु विनिमय एकदम मुस्किल हुँदै गयो । माल विनिमयका क्रममा सुस्तसुस्त मानिसहरूको बुझाइमा आयो– उनीहरूले पहिले मालको विनिमय कुनै यस्तो मालबाट गरौँ जुन आमरूपमा मानिसहरूको आवश्यकता होस् (जस्तै भेडा) र फेरि त्यसको उपयोग आफ्नो आवश्यकताको माल लिनका निम्ति गरौँ तब विनिमयको वाछित उद्देश्य मात्र दुई सौदामा पूरा हुन सक्थ्यो । यसप्रकार माल विनिमयको लामो विकासमान प्रक्रियामा भेडाजस्तै माल अन्य मालहरूबाट अलग भए र तिनीहरूको एउटा यस्तो भूमिका बन्यो जुन अन्य मालहरूका निम्ति सम्भव थिएन । त्यस्तो अवस्थामा सबै मालहरूको मूल्य भेडाहरूका रूपमा अभिव्यक्त हुन्थ्यो र भेडाहरूले माल विनिमयमा ‘सार्वभौमिक समतुल्य’ को भूमिका निर्वाह गरे ।

माल विनिमयको विकासको लामो प्रक्रियामा अलगअलग राष्ट्रहरूले विनिमयका फरकफरक माध्यमहरूको प्रयोग गरे जस्तै भेडा, कौडीहरू, कपडा वा धातुहरू । अन्ततः उनीहरूले सुन, चाँदीजस्ता बहुमूल्य धातुहरूलाई मुद्राका रूपमा प्रयोग गर्ने निर्णय गरे किनकि बहुमूल्य धातुहरू परिमाण थोरै तर मूल्यमा अत्यन्त धेरै हुने गर्छन्, तिनलाई ल्याउन, लैजान र कैयौँ भाग लगाउन सजिलो हुने गर्दछ । साथै तिनीहरू नाशवान् हुँदैनन् । त्यसकारण विनिमयको माध्यमका निम्ति ती उपयुक्त हुन् । त्यसकारण सुन र चाँदीलाई मुद्राका रूपमा आमरूपमा स्वीकार गर्ने गरिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने मुद्रा सुन र चाँदीको अन्तरनिहित गुण होइन । यो तिनीहरूलाई प्राप्त हुन्छ । सुन र चाँदी केही निश्चित ऐतिहासिक उत्पादन सम्बन्धहरूको अन्तर्गत मुद्रा बने । मुद्राको स्रोतबाट मुद्राको प्रकृति बुझ्न सकिन्छ । मुद्रा अन्य मालहरूबाट पृथक एउटा विशेष माल हो जसले विनिमयको माध्यमको कार्य गर्दछ ।

पुस १७ गते, २०७६ - ०९:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

दार्चुला ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर...   

एकताको काम सक्ने घोषणा गरेको १५ दिन भोली पुग्दै : के के गर्दैछ नेकपा ?

काठमाडौं । गत महिनाको १६–१९ सम्म बसेको सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले ‘एकताको...   
ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

काठमाडौं । गुटउपगुटको अन्त्य गर्ने घोषणा गरेको केन्द्रीय समितिको निर्णयलाई चुनौति दिँदै नेपाल कम्युनिष्ट...   

अमेरिकाले नेपाललाई क्रिकेट इतिहासमै दियो कमजोर लक्ष्य– अमेरिका २५ रनमा अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा...   

नेकपाले अभियानात्मक रुपमा भेला र बैठक गर्दै : कुन प्रदेशमा कहिले ?

काठमाडौं । केन्द्रीय कमिटीबाट पारित भएको विशेष अभियानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...   
आईजिपीमा ठाकुर ज्ञावलीको सम्भावना बढ्यो–गृहको प्रस्ताव मन्त्रिपरिषदबाट अनुमोदन होला ?

आईजिपीमा ठाकुर ज्ञावलीको सम्भावना बढ्यो–गृहको प्रस्ताव मन्त्रिपरिषदबाट अनुमोदन होला ?

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले आजै अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा नयाँ आइजिपीका लागी...   

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । प्रधानमन्त्री...   

नेकपाले जनयुद्ध दिवसलाई शहिद स्मृति दिवसका रुपमा मनाउने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनयुद्ध दिवसका अबसरमा पगुन १ गतेलाई शहिद स्मृति दिवसको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top