नयाँ युद्ध
.................
एउटा झिँजो लाग्दो
कल्याङमल्याङ्ले व्यूँझाएको छ आज,
चराको मीठो चिरविर हैन यो,
आमाको नित्य आराधनाको मधुर संगीत पनि हैन,
न कुनै कुस्तीबाजको पसिना छुटाउने गठिलो व्यायाम ।
छ त केवल कर्कश ध्वनिको जयगान,
रगत उमाल्ने शंखघोषको जादुयी उन्माद।
एकाबिहानैको शंखघोषले
जति ससङ्कित छ यो मन,
उति ढुकढुकिको रफ्तार चुलिएको छ
एकतमासले सगरमाथाझैँ ।
मैदानका शीतका थोपाजस्तै अनगिन्ती सैन्यदस्ता
परेडमै निमग्न उन्मादहरू
आँखैभरी।
हे प्रभु यो के हुनलाग्यो फेरि,
हे प्रभु यो के देख्नुपर्यो फेरि फेरि।
युद्ध कौशल ,युद्ध संहिता,युद्ध अभ्यास
सबै सबै उस्तै छ,उत्तिकै छ,उसैगरी छ
हे बुद्धदेव
तिमी कहाँ छौं?
तिम्रो शान्ति मन्त्र कहाँ छ??
कसरी शान्त गराऊँ यी सैन्य जत्थालाई ???
मेरो मानसपटल स्मृतिलोकमा भौतारिन्छ,
उही बुद्ध खोज्न।
एउटा अनकन्टार कन्दरा,
ठेगुवा खोलाको उत्ताने ढुङ्गो,
उही ढुङ्गोमा अढेसीएको एउटा भग्न झुप्रो,
बाँसघारीको ओसिलो आँगन,
अनि
अनि छट्पटाईरहेकी एक असहाय वृद्दा,
नजिकिन्छु,अझ नजिकिन्छु
मझेरीको तिरतिरे धारो झैँ बगिरहेका ति आँखा
वर्षौँदेखि नचलेर कुँजिएका हातपाउ,
अनि पक्षघातले मुख बुझो लाइदिएकी एक अशक्त।
हो मेरो नजर उनै फोहोरको थुप्रोझैँ थुप्रिरहेकी महिलामा एकोहोरियो।
म यो के देख्दैछु ?
मेरो माथिङ्गल के खोज्न भौतारिएको थियो??
कसरी म यो दृश्यमा अड्किए???
मतलब?
के उनै महिला हुन आजकी बुद्ध ??
पुनर्जन्मको फेहरीस्तमा
आजको दिनचर्या यहि हो उनको???
म मानव सृष्टिको बर्णमाला पल्टाउछु,
पुर्वजन्म र पुनर्जन्मका व्याकरण पहिल्याउछु,
अनि नियाल्छु मेरै सामुन्ने आजकी बुद्ध ।
समयले मानव सभ्यतालाई कसरी जकडेको छ,
सन्तान, सम्पत्ती, समाज, समय अनि स्वस्अहम्
सबै सबैमा जेलिएर कत्ती निरीह छ मान्छे।
स्वभाव, सदाचार र सालिनतको आभाष त अझै म गर्दैछु,
तर उनको जुन कर्तव्य छ यो ब्रम्हलीलामा किन चुके ?
हो निरीह छ मान्छे अजिव समयसँग ।
फेरि शँखघोष गुन्जियो युद्धनादको
अझ नजिक, अझ नजिक
घेर्यो उहि सेरोफेरो
यो युद्ध उनैसँगको हो,
विचार माथिको हो ।
म गम्छु कसरी लडिएला यो युद्ध ?
को दरिएला विजयश्री रुरु
विचार र अहँको द्वन्द्व ।
अहँले त हतियार उठाउँछ
विचार, दर्शन, शास्त्र कसरी लड्छ??
के आज मेरो बुद्धले हतियार उठाउँछ उसैगरी ???
मुठ्भेडको जम्काभेटमा मरेको सर्पले त फणा फैलाउछ,
आज मेरा बुद्धले कुन अस्त्र रच्छन !!!
बर्बराउँछु एकतमासले आफैंसित
हे बुद्धदेव!
तिम्रो वोधिसत्व कोरा कागज भैसक्यो
यहाँ आआफ्नै दर्शन छन व्यक्ति पिच्छेका
आफ्नै स्वच्छन्द दर्शन, अरुको किन सुन्ने?
यहाँ गाली पच्छ अरुको, अर्ति पच्दैन।
रामदेव जन्मिए, कामदेव जन्मिए, झ्वामदेव जन्मिए
जन्माइए आआफ्नै दर्शन ।
डुलेनन कोहि चार चौरास तिम्रा जसै गरि,
बरु झुम्मिए चार चौरास स्वयम् उनैका पाउमा
तर कसैले त्यो बन्दुकको नाल बन्द गर्ने सोच्दै सोचेनन,
कसैले बारुदका भट्टीमा पानी पोखेनन ।
हे बुद्धदेव!
उठ जाऊ
ती एक एक नालमा ठेडी कोचिदेऊ
ती बारुद र गोलामा दिव्यजल हुर्याइदेऊ
ती हरेक सैन्यका हातमा गुलाफ फुलाइदेऊ
हो तिम्रो शान्ती मन्त्र मात्र त कोरा भैसक्यो
अब फेर्नुपर्छ तिम्रा ज्ञान र सिपका भाषाहरु ।
-गोविन्दपुरे
प्रतिकृया लेख्नुहोस्: