Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चर्चित लेखकहरु : <br>आफूले आफैंलाई कस्तो देखिरहेछन् ?

भनिन्छ, लेखनकर्म त्यति सन्तुष्टि मिल्ने पेसा होइन । लेखेरै बाँच्न सक्ने अवस्था नेपालमा छैन । आजसम्मको इतिहासले यस्तै देखाएको छ । पर्याप्त अध्ययनविना कुनै पनि विषयमा लेख्नु असम्भव छ । लेखिएका लेखहरु पुस्तकाकार रुपमा प्रकाशित गर्नु वा अखबारमा छाप्नु पनि चुनौतीकै विषय हो । स्थिति यस्तो हुँदाहुँदै पनि हामीकहाँ धेरै त्यस्ता व्यक्तित्व छन्, जसले लेखेरै जीवनका महत्वपूर्ण समय गुजारेका छन् । उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका छन् । यसरी पाठकबीच लोकप्रिय बन्न सफल उनीहरु कसरी लेखक बन्न समर्थ भए ? अनि आफूले आफैंलाई कस्तो पाएका छन् ? यसै विषयमा हामीले केही लेखकहरुलाई प्रस्तुत गरिरहेका छौं । आगामी अंकमा क्रमशः अरु लेखकहरुबारे प्रस्तुत गर्दै जाने छौं । –सम्पादक । किशोर नेपाल
कसैको प्रेरणाबाट मैले लेख्न सुरु गरेको होइन, मेरो स्वतःस्फूर्त प्रेरणाबाटै अघि बढेको हुँ । लेख्न मन लागेर, आत्मसन्तोषका लागि नै मैले लेख्न थालेको हुँ ।
स्कुलमा पढ्दा ठूलठूला कविहरुका कविता पढ्ने गरिन्थ्यो । ती पढ्दापढ्दै अफूले पनि लेख्ने रहर जाग्यो अनि लेख्न सुरु गरियो । त्यहींबाट मेरो लेखनयात्राको सुरुआत भयो । कसैको प्रेरणाबाट मैले लेख्न सुरु गरेको होइन, मेरो स्वतःस्फूर्त प्रेरणाबाटै अघि बढेको हुँ । लेख्न मन लागेर, आत्मसन्तोषका लागि नै मैले लेख्न थालेको हुँ । \"kishowar_nepal_khabardabali\"१० वर्षको उमेरमा ‘बालक’ भन्ने बाल संगठनले प्रकाशित गरेको मासिक पत्रिकामा मेरो एउटा कविता प्रकाशित भएको थियो । त्यतिबेला म पशुपति विद्यालयमा पढ्ने गरेको थिएँ । त्यही प्रकाशित गरेबापत त्यतिबेला मैले १० रुपैयाँ पारिश्रमिक समेत पाएको थिएँ । मेरो पहिलो कथा ‘रुपरेखा’ प्रकाशित भयो । त्यस्तैगरी ब्रेमगनको अन्तिम आवाज भन्ने कथा प्रकाशित भयो, त्योभन्दा अघि पनि मेरा कथाहरु निस्किएका थिए– सालचाहिँ यकिन थाहा भएन । २०२४–२५ मा ‘लुम्बिनी सन्देश’ भन्ने पत्रिकाका सम्पादक मोदनाथ प्रश्रित हुनुहुन्थ्यो । मैले गौतम बुद्धको बारेमा एउटा कविता लेखेको थिएँ । त्यो कवितालाई प्रश्रितजीले लुम्बिनी सन्देशको पहिलो पृष्ठमै छापिदिनुभएको थियो । प्रतापकुमार भट्टले भैरहवाबाट दैनिक रेडियम भन्ने पत्रिका निकाल्ने गर्नुहुन्थ्यो । त्यसमा पनि मैले कविताहरु छपाउने गर्थें । यसरी मेरा कविताको विस्तार भएको हो । मेरो ‘चिन्ताका क्षणहरु’ निबन्धसंग्रह प्रकाशित भएको छ । यो नेपालीमा एमएदेखि सबै तहमा पढ्नुपर्छ । लेखन मेरो रुचि हो, यसलाई मैले सफलता र असफलतासँग जोडेर हेर्ने गरेको छैन । मैले जे लेखेको छु, राम्रो लेखेको छु । मेरा जति रचना प्रकाशित भएका छन्, जुन माया मैले पाठकहरुबाट पाएको छु– त्यसबाट म सन्तुष्ट छु । खगेन्द्र संग्रौला
मान्छे विभिन्न कुराबाट प्रेरित हुन्छ । मेरो आफ्नै कुरा गर्नुहुन्छ भने मेरा बा ज्योतिष हुनुहुन्थ्यो । मेरा बाले राम्रो भाका हालेर श्लोक भन्नुहुन्थ्यो । मेरा गुरु पनि छन्दमा श्लोकहरु लेख्ने गर्नुहुन्थ्यो ।
मैले मेरो गाउँकै सरस्वती विद्यालयमा छ–सात कक्षामा पढ्दाखेरी सरस्वती पूजामा ‘सरस्वती बन्दना’ लेखें । त्यही नै मेरो रचनारम्भ हो । विद्यालयका संस्कृत गुरु टेकनाथ पण्डितको नक्कल गर्दै सरस्वती बन्दना लेखेको थिएँ । \"khagendra_sangruola_khabardabali\"मान्छे विभिन्न कुराबाट प्रेरित हुन्छ । मेरो आफ्नै कुरा गर्नुहुन्छ भने मेरा बा ज्योतिष हुनुहुन्थ्यो । मेरा बाले राम्रो भाका हालेर श्लोक भन्नुहुन्थ्यो । मेरा गुरु पनि छन्दमा श्लोकहरु लेख्ने गर्नुहुन्थ्यो । त्यो भेग पनि दार्जलिङको नजिक पर्ने भएका कारण दार्जलिङका साहित्यिक गतिविधिको त्यहाँ प्रभाव पर्नेगरेको थियो । यी विभिन्न कुराहरुको प्रभावबाट म साहित्यतर्फ आकृष्ट  भएको हुँ । २०२२ सालतिर होला, म काठमाडौंमा बसेर आईए पढ्न आएको थिएँ । त्यतिबेला काठमाडौंबाट प्रकाशित हुने ‘बिहानी पाक्षिक’ पत्रिकामा ‘अधुरो प्रेम भिजेको रुमाल’ शीर्षकको कथा प्रकाशित भएको थियो । यो कथा मैले पठाएको करिव ६ महिनापछि छापिएको थियो  । त्यतिबेला ‘रुपरेखा’ मा विभिन्न लेखहरु, पाठकपत्रहरु पठाउने गर्थें । धेरै पटक पठाएपछि भूपिको कुनै एउटा कवितामाथिको टिप्पणी छापिएको थियो । तर, बिहानी पत्रिकामा नै त्यो ठूलो रचना छापिएको हो । हालसम्म मेरा चार वटा कथासंग्रह, पाँच वटा निबन्ध संग्रह र तीन वटा उपन्यास प्रकाशित भइसके । म धेरै प्रतिभाशाली मान्छे होईन । म धेरै अध्यनशील र मेहनती मान्छे पनि होइन । शाही पञ्चायतले अभिव्यक्ति स्वतन्त्रतामाथि कठोर दमन गरेको बेलामा मेरो पढ्ने–लेख्ने काम हुन्थ्यो । मेरो लेखन पनि कहिल्यै व्यवस्थित भएन । मेरो अध्यन–लेखन क्षमताले म ठीकैको लेखक हुँ जस्तो लाग्छ । आफू सन्तुष्ट हुनुभन्दा पनि प्रयत्न चाहिँ गरेको हुँ भन्ने लाग्छ । लेख्नु भनेको जीवनजगतसँग सम्पर्क र संवाद गर्ने कार्य हो । मेरो लेखन भनेको समाजका उत्पीडित वर्गहरुलाई आफ्नो अधिकार प्राप्तिका लागि जागृत गर्ने काम हो । सामाजिक परिवर्तन र सांस्कृतिक उन्नयनका लागि प्रयत्न गर्नु नै साहित्यको उद्देश्य हो भन्ने मलाई लाग्छ । जो लेखक बन्न चाहन्छ, उसले गुरु खोज्नु हुँदैन । तपाईंको हात समाइदिएर लेखनकर्ममा डोराइदिने कोही पनि हुँदैन । दोस्रो कुरा, नेपालको इतिहास र समाजको गम्भीर अध्यन गर्नुपर्छ । लेखक बन्न चाहनेले रातारात मान पाउने र दाम पाउने अपेक्षा गर्नु हुँदैन । लेखन भनेको जोखिमको काम हो, साधारण तरिकाले जोखिम मोलिँदैन । कृष्णज्वाला देवकोटा
म खासै लेखक नै त भएको छैन भन्ने लाग्छ । हामी अखबारको फ्रेममा मात्रै लेख्ने गर्छौं । लेखनका पनि धेरै विधाहरु छन् । मेरो विशेषता भनेको आफूले लेखेका वस्तुहरुलाई भिन्न बनाउन खोज्नु हो । हामीले लेखनमा धेरै सुधार गर्नुपर्ने छ ।
मेरो लेखनको सुरुआत नेपाल समाचारपत्रबाट भएको हो । २०५२ सालमा नेपाल समाचारपत्रमा एउटा लेख प्रकाशित गरेको थिएँ, त्यसै बेलादेखि अखबारी लेखनको सुरुआत भएको हो । नेपाल समाचारपत्रमा मैले लेख प्रकाशन गर्नका लागि त्यस्तो कुनै अप्ठ्यारो भोग्नु परेन । यस अर्थमा म आफैंलाई ‘लक्की’ ठान्नुपर्छ । मलाई लाग्छ, त्यति धेरै संघर्षविना नै मैले लेखेका एक–दुई वटा बाहेक सबै लेखहरु प्रकाशित भए । \"krishnajwala_devkota_khabardabali\"अखबारी लेखनको बढोत्तरीसँगै मेरो साहित्यिक लेखनको मात्रामा भने कमी आउँदै गयो । मैले ०५९ मा कान्तिपुरमा, त्यसपछि राजधानीमा र ०६० सालतिर फेरि कान्तिपुरमा काम गरें । मैले बुधबार साप्ताहिकमा नियमित रुपमा स्तम्भ लेख्थें । राजधानी दैनिकमा पनि लगभग २ वर्षजति नियमित स्तम्भ लेखें । कान्तिपुरमा पनि मेरो ‘फरक मत’ भन्ने स्तम्भ नै थियो । अहिलेसम्म मेरो कुनै कृति छैन, प्रकाशनका लागि त्यस्तो गतिलो सामग्री पनि छैन । पुस्तक निकालिहालौं भन्ने मलाई कहिल्यै लागेन । अखबारी लेखनहरुलाई संकलन गर्नुपर्छ भन्ने चाहिँ लागेको छ । म खासै लेखक नै त भएको छैन भन्ने लाग्छ । हामी अखबारको फ्रेममा मात्रै लेख्ने गर्छौं । लेखनका पनि धेरै विधाहरु छन् । मेरो विशेषता भनेको आफूले लेखेका वस्तुहरुलाई भिन्न बनाउन खोज्नु हो । हामीले लेखनमा धेरै सुधार गर्नुपर्ने छ । सोमत घिमिरे
कति अवस्थामा बोल्दाबोल्दै त्यसैलाई शब्दमा उतार्ने मनसायले लेखक भइयो । मेरा हजुरबुबाले पनि कलम चलाउने गर्नुहुन्थ्यो । उहाँको प्रेरणाले पनि लेखनकार्यमा मलाई केही ऊर्जा मिलेको हो ।
लेखक कसरी भइयो ? यसका धेरै पाटाहरु छन् । कति अवस्थामा बोल्दाबोल्दै त्यसैलाई शब्दमा उतार्ने मनसायले लेखक भइयो । मेरा हजुरबुबाले पनि कलम चलाउने गर्नुहुन्थ्यो । उहाँको प्रेरणाले पनि लेखनकार्यमा मलाई केही ऊर्जा मिलेको हो । चितवनबाट प्रकाशित हुने पारदर्शी साप्ताहिक पत्रिकाबाट मैले लेखनको सुरुआत गरेको हुँ । त्यतिखेर मैले नेपाली विकासको बाटो के हो भन्ने शीर्षकमा एउटा लेख प्रकाशित  गरेको थिएँ । त्यो प्रकाशनका लागि त्यति धेरै संघर्ष गर्नु परेन । यत्ति हो कि लेख अलि लामो भयो भनेर सम्पादक भन्ने गर्थे । \"shomat_ghimire_khabardabali\"हालसम्म मैले लेखेका र प्रकाशीत भएका लेख–रचनाहरु लगभग दुई सयको हाराहारीमा छन् । राष्ट्रिय दैनिकमा धेरै लेख–रचनाहरु प्रकाशित भएका छन् । पुस्तकाकार रुपमा मेरो ‘नेपालमा संघीयता र नागरिक सर्वोच्चता’ विषयक कृति प्रकाशित भैसकेको छ । आफूले आफैंलाई भन्नुपर्दा म त्यति धेरै ठूलो लेखक नै बनेको त होइन । तर, मैले जति गरेको छु, गर्न सकेको छु यसमा सन्तुष्ट नै छु । हामीले गर्नु धेरै छ । कतिपय सन्दर्भमा मैले गरेका विश्लेषणहरु मिलेका छन् । यसो हुँदा मलाई खुशी लागेको छ । लेखनलाई अझै विकसित र परिष्कृत गर्न लागीपर्ने छु । निनु चापागाईं
मैले साह्रै निर्गतिलो लेखेको छु भन्ने चाहिँ लागेको छैन
म लेखक बन्छु भनेर नै बनेको त होइन । अलिअलि साहित्यको विद्यार्थी थिएँ । म पुतलीसडकको संस्कृत महाविद्यालयमा पढ्थें । त्यतिबेला साहित्य पढ्ने बानी थियो । पढ्ने क्रममै पढेका कुरालाई लेख्ने क्रम बस्यो । त्यसै क्रममा लेख्ने कामको सुरुआत गरें । म सम्भवतः १२ वर्षको थिएँ । त्यतिबेला आनन्ददेव भट्ट म पढ्ने विद्यालयमा पुग्नुभएको थियो । सरस्वती पूजाको दिनमा उहाँले कविता गोष्ठी गर्ने बताउँदै गुरुहरुले सबै विद्यार्थीलाई कविता लेख्न भन्नुभयो । त्यही लहैलहैमा मैले १६ सालमा २ रुपैयाँ पुरस्कार जितेको थिएँ । \"ninu_chapagai_khabardabali\"मेरो लेखनको सुरुआत यहीँबाट भएको हो । पहिल्यैदेखि नै मेरो परिवार धेरै ठूलो त होइन, स–सानो साहित्यिक नै थियो । मेरा बूढो हजुरबुवा पं. यज्ञनिधि चापागाईं पूर्वाञ्चलकै पहिलो खण्डकाव्य लेख्ने व्यक्ति हुनुहुन्छ । बुबाले पनि कविताहरु लेख्ने गर्नुहुन्थ्यो । २०२४ सालमा मेरो पहिलो कथा अबोध राल्फाहरुले निकालेको पहिलो पत्रिकामा प्रकाशित भएको थियो । यो प्रकाशन गर्न कुनै गाह्रो थिएन किनभने हामीले मिलेर नै यो पत्रिका चलाएका थियौं । तत्कालीन अवस्थामा सम्पादक भन्ने पनि थिएन त्यो पत्रिकामा । अहिलेसम्म मेरा मौलिक कृतिहरु पाँच वटा छन् । ‘यथार्थवादी रचनादृष्टि र विवेचना’ पहिलो समालोचनासंग्रह हो । दोस्रो कृति ‘माक्र्सवादी चिन्तनमा सौन्दर्य’ हो । तेस्रो ‘सन्दर्भ, संस्कृति र सांस्कृतिक रुपान्तरण’ अनि चौथो ‘उत्तरआधुनिकतावाद ः भ्रम र वास्तविकता’ समालोचनासंग्रह हो । ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ गतेवर्ष साझाबाट छापिएको हो । हालसम्म मैले सम्पादन गरेका र रचना गरेका कृतिहरु २२ वटा पुगेका छन् । समग्रमा आफूले आफैंलाई आत्ममूल्याङ्कन गर्ने कुरा त हुँदैन तर पनि मैले जुन क्षेत्रमा गरेको छु, त्यो क्षेत्रमा अरुले धेरै नगरेको हुनाले मैले साहै्र निर्गतिलो लेखेको छु भन्ने चाहिँ लागेको छैन । राजेन्द्र महर्जन
मैले बाँचेको समयमाथि अग्रगमनका लागि मैले कति हदसम्म लेखकीय हस्तक्षेप गर्न सकें, यसको निर्णायक मण्डली त मेरा प्यारा पाठकै हुन्, म होइन ।
मैले बाँचेको समय र परिस्थिति अनि तिनले मेरो मनस्थितिमा पारेका असरको कूल जोड हो– मेरो लेखनजीवन । मैले बाँचेको समय र परिस्थितिसँग मेरो रुचिको अन्तक्र्रिया हुँदा अभिव्यक्तिको माध्यमका रुपमा कलम चल्न थालेको हो । २०३५–३६ सालको आन्दोलनको प्रभावस्वरुप स्कुले जीवनमै कलम चलाउन थालियो । तर, प्रकाशन र सार्वजनिक वाचन भने क्याम्पसको कालखण्डमा मात्रै भयो । सुरुमा नेपालभाषामा कविता र कथाको लेखन, प्रकाशन, वाचनसँगै ‘प्याकिं’ नामक सामयिक प्रकाशनको सम्पादनबाट लेखन क्षेत्रमा हाम्फालेको हुँ । \"rajendra_maharjan_khabardabali\"म स्कुल र क्याम्पसका औपचारिक अध्ययनभन्दा बेसी रुचि रुपान्तरणकारी राजनीति र जनमुखी साहित्यको तिर्सनाले लेखनतिर तानिएँ । अध्ययनको क्रममा माक्र्सवादले मेरो दृष्टिकोण बनायो भने वामपन्थी राजनीतिले मेरो आचरणलाई निर्देशित ग¥यो र जनमुखी साहित्यले मेरो लेखनलाई डोर्यायो । यसै क्रममा व्यक्तिविशेषभन्दा पनि रुपान्तरणकारी दर्शन, राजनीति र साहित्य नै मेरा प्रेरणा भए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्ने नेपालभाषाप्रेमी विद्यार्थीहरुले वार्षिकरुपमा निकाल्ने पत्रिका ‘जः’ (प्रकाश)मा नेपालभाषाका मेरा दुइटा मुक्तक प्रकाशित भएका थिए । त्यस्तै, नेपाली भाषामा प्रख्यात पत्रिका ‘वेदना’मा अभिमन्यु ज्यापुको नाममा ‘भोकको औषधी’ नामक लघुकथा छापिएको थियो । यी दुवै रचनाको प्रकाशनकाल २०४१/४२ हुनुपर्छ, समय ठ्याक्कै याद भएन । मलाई पत्रिकाका रचना प्रकाशनका लागि विशेष संघर्ष गर्नु परेन । राजनीतिक र भाषिक आन्दोलनमा लागेकाले ती आन्दोलनसँग नजिक रहेका पत्रिकामा आफ्ना रचना छपाउन कुनै गाह्रो भएन । ‘जः’ (प्रकाश)को टिममा मेरा मित्र शान्त महर्जन र प्रकाश तण्डुकार क्रियाशील थिए । ‘वेदना’मा त हुलाकबाटै रचना पठाएको थिएँ, पहिलो प्रयासमै छापिएको थियो । त्यसबीचमा कीर्तिपुर क्षेत्रमा मासिकरुपमा साहित्यिक गोष्ठी आयोजना गर्दै, ‘प्याकिं’ प्रकाशन र सम्पादनको पनि मुख्य जिम्मेवारी सम्हाल्न थालिएपछि रचना प्रकाशनको दुःख हुने कुरै भएन । सम्पादकको जिम्मेवारी लिएपछि साहित्यिक रचना लेखन कम हुन थाल्यो । मेरो कलमलाई साहित्यिक रचनाले भन्दा राजनीतिक लेखनले बेसी तान्न थाल्यो । यसबीचमा दुई दर्जनभन्दा बेसी किताबको लेखन र सम्पादन गरियो होला । तर, ती किताबमध्ये लेखनमा ‘विश्वक्रान्तिका नायक : चे ग्वेभारा’, ‘समाजवादको सपना’, ‘अमेरिकी साम्राज्य र सद्दाम’ उल्लेखनीय रहे । सम्पादित किताबमा ‘आमूल परिवर्तनको खाका’, ‘पुँजीवाद र नेपाल’, ‘बदलिँदो नेपाली समाज’, ‘नेपालमा वर्णव्यवस्था र वर्ग–सङ्घर्ष’ र ‘सत्ता–विमर्श र दलित : अम्बेडकरको दृष्टिकोण र विवेचना’जस्ता किताब रहेका छन् । लेखकका सफलता र असफलताको निर्णय लेखक स्वयम्ले गर्नु उचित होइन, वस्तुनिष्ठ पनि हुँदैन । हुन त कमै मात्रै लेखकले आफूलाई असफल ठान्छ, यस्तो आत्ममूल्यांकन आत्मगतै हुन्छ, वस्तुसम्मत हुँदैन । मैले बाँचेको समयमाथि अग्रगमनका लागि मैले कति हदसम्म लेखकीय हस्तक्षेप गर्न सकें, यसको निर्णायक मण्डली त मेरा प्यारा पाठकै हुन्, म होइन । एउटा कुराचाहिँ सत्य हो, आफूले बाँचेको समयमाथि हस्तक्षेप गर्न सकिएन भने लेखनसँगै लेखकको पनि मृत्यु हुन्छ । युग पाठक
लोकप्रियता कमाउने हिसाबमा या मान्छेले चिन्ने हिसाबले म अहिले सफल लेखक हुँ भन्ने नै ठान्छु । लेखनको गुणवत्ताको हिसाबले सफल हुनका लागि चाहिँ मैले अझै मेहनत गर्न बाँकी छ ।
लेखन भन्न्ने कुरा कस्तो हुँदोरहेछ भने जो कसैलाई पनि एउटा खास चिजले बिस्तारै बानी लाउँदै लैजान्छ । मैले के पनि भन्ने गरेको छु भने कसैलाई सिग्रेट खाने बानी लागेको जस्तो, कसैलाई कतै हिँडिरहन मन लागेको जस्तो वा कसै–कसैलाई धर्म–कर्ममा बानी लागेको जस्तो लेखनको पनि बानी हुँदो रहेछ । एउटा खास चिजमा बानी लाग्ने सम्भावना विभिन्न कारणले हुन्छ जस्तो मलाई लाग्छ । एउटा व्यक्तिको मानसिकताको कारणले गर्दा, मनोवैज्ञानिक कारणले गर्दा, समाजको कारणले गर्दा, परिवारको वातावरणको कारणले पनि हुन्छ– त्यस्तै एउटा कुनै कारणले म लेखनमा आएँ । \"yug_pathak_khabardabali\"जसरी बजारमा युग पाठकले पाठकपत्र लेखेर लेखन सुरु गरेको भन्ने प्रचार छ, यो हुनै सक्दैन । म पहिलेदेखि नै लेख्ने काममा लागिराखेकै थिएँ । यति मात्रै हो, मलाई मिडियाले चिनेको थिएन । मैले लेखेका कविताहरुको मकवानपुर–चितवनमा राम्रै चर्चा हुन्थ्यो । म कविता सुनाउनका लागि विभिन्न ठाउँमा गइरहन्थें । यही काठमाडौंमा पनि ५८–५९ सालतिरको साहित्यसन्ध्यातिर मेरा कविता चर्चित नै हुन्थे । त्यसपछिको लामो समय मैले हेटौंडामा त्यहींकै पत्रिकामा लेखें । उपन्यासमा पनि पटक–पटक कोशिस गर्दै थिएँ । पाठकपत्र लेखिरहँदा पनि म वास्तवमा उपन्यास लेख्ने क्रममा दामनको एउटा गेस्टहाउसमा बसेको थिएँ । र, त्यही उपन्यास लेख्ने क्रममै कुनै दिन पाठकपत्र लेख्न मन लागेको हो । वास्तवमा त्यो पाठकपत्रले मलाई धेरै मान्छेले चिन्ने बनाएको कुरा भने साँचो हो । लेखक बन्नका लागि लामो प्रक्रियाबाट गुज्रनुपर्छ । मेरो पहिलो प्रकाशित कविता ‘परिणाम’ हो, जुन हेटांैडाबाट प्रकाशित ‘प्रयास’ साप्ताहिकमा प्रकाशित भयो । पत्रिकाका तत्कालीन सम्पादक कौशल पाण्डेसँग राम्रै सम्बन्ध भएका कारण त्यति धेरै कठिन भएन । त्यसपछि विभिन्न पत्रिकामा कविताहरु प्रकाशित हुने क्रम बढेको हो । मेरो पहिलो लेख चाहिँ एमए पढ्न काठमाडौं बसेका बेला ‘काठमाडौं पोस्ट’ मा छापिएको थियो र सोही पत्रिकामा मेरा लेख पटक–पटक छापिए । लोकप्रियता कमाउने हिसाबमा या मान्छेले चिन्ने हिसाबले म अहिले सफल लेखक हुँ भन्ने नै ठान्छु । लेखनको गुणवत्ताको हिसाबले सफल हुनका लागि चाहिँ मैले अझै मेहनत गर्न बाँकी छ । नरेन्द्रजंग पिटर
अनेकौं अभावका बाबजुद जति सकियो त्यति पोख्दै जाने क्रममा कसरी लेखक भइयो
जब संवेदना हृदयमा उर्लिएर वर्गसंघर्षका चाप र विद्रोहका चापहरु देखियो, अन्याय र अत्याचारलाई सहन सकिएन, हृदय उर्लिएका मनका कुरालाई शब्दबाट व्यक्त गर्ने क्रममा अनेकौं अभावका बाबजुद जति सकियो त्यति पोख्दै जाने क्रममा कसरी लेखक भइयो, थाहै भएन । \"narendrajanga_petter_khabardabali\"मेरो वर्गका दुस्मनहरुले हाम्रो अस्मितामाथि आक्रमण गरे, हामीलाई उत्पीडनमा पारे । त्यसका विरुद्ध पैदा भएको आक्रोशको अभिव्यक्ति शब्दमा व्यक्त भयो । सबैलाई अक्षरमा सजाउन थालियो । त्यसै क्रममा थाहै नभई लेख हुन गयो । अहिलेसम्म मेरा संकलित रचनाहरु धेरै नै छन् । २०३६ मा हुनुपर्छ, म बिहार (रक्सौल, भारत) मा बस्दा मुकुन्द शर्माको सम्पादनमा संकल्प साप्ताहिक निस्कन्थ्यो । त्यो प्रवासी नेपालीहरुले निकालेको पञ्चायती शासनका विरुद्धको पत्रिका थियो । त्यसैबेला मेरो आक्रोश–अभिव्यक्ति शब्दका रुपमा देखियो । त्यतिबेला युवाहरुको सोचलाई सम्पादककहाँ लिएर जाने कुरा पत्याउने अवस्था थिएन । त्यतिबेला सम्पादक मुकुन्द शर्माले हामीलाई पत्याउन गाह्रै परेको थियो । उहाँ पनि राजनीतिक मान्छे भएकाले पनि सम्पादकले नै मलाई प्रेरणा दिने गर्थे । लेख छापिएर आउँदा मेरै लेख हो कि होइन, छुुट्याउन मलाई गाह्रै परेको थियो । साझा प्रकाशनले मेरो नियात्रा प्रकाशनमा ल्याउँदै छ । सांग्रिला प्रकाशनले ऐतिहासिक साहित्यिक लेखहरु छिट्टै बजारमा ल्याउँदै छ । हामी विश्वविद्यालयबाट आएका त होइनौ, वर्गसंघर्षको भट्टीबाट आएका हौं । त्यसकारण हामीसँग कलापक्ष कमजोर भए तापनि मानवीय संवेदना बढि नै छ । विश्वविद्यालयबाट आएकामा त्यो पाइँदैन । म आफैंले भन्नुपर्दा मैले जति लेखेको छु समकालीन अवस्थामा त्यसमा सन्तुष्ट छु, सफल नै छु । मैले आफूलाई धेरै विकास गर्नुपर्ने छ । मेहनतको खाँचो छ । देशभित्र–बाहिरका साहित्यकारहरुको बारेमा जान्नुपर्ने आवश्वयकता छ । जसले आफ्नो वर्गको पक्षमा लेखे, तिनका बारे अझै अध्ययन गर्नुपर्ने छ । हरि रोका
मैले लेखेका धेरै कुराहरु फ्याक्ट र फिगरहरुमा भएकाले  त्यसको विवेचना वा विश्लेषणमा कति कुराहरु पुगेको हुनाले म असन्तुष्ट हुनुपर्ने पनि ठान्दिनँ ।
विद्यार्थी जीवनदेखि नै अध्यन गर्न र लेख्न रुचाउँथें । विश्वविद्यालयमा अध्यन गर्दैगर्दादेखि नै मैले लेखनलाई निरन्तरता दिएको हुँ । \"hari_rokka_khabardabali\"२०४२ सालतिर होला, ‘नेपालको आर्थिक–सामाजिक विकासमा कठिनाइ’ भन्ने लेख तत्कालीन दृष्टि साप्ताहिकमा प्रकाशन भएको थियो । त्यतिबेला त्यो पत्रिकाका सम्पादक नारायण ढकाल थिए । यसरी नै मेरो लेखनको यात्रा सुरु भयो । हालसम्म मेरा हजारभन्दा बढि अखबारी लेखनहरु प्रकाशित भइसकेका छन् । अब दसैं या तिहारको बीचमा सांग्रिला प्रकाशनले राजनीतिक अर्थशास्त्रका निबन्धहरु ल्याउँदै छ । किताबहरुमा लामा लेखहरु प्रकाशनमा आएका छन् । नामै त थाहा भएन तर ५ देखि सात वटा किताबहरुमा मैले लेखेका निबन्धहरु संग्रहित छन् । आफूले आफैंलाई भन्नुपर्दा म त्यस्तो धुरन्धर लेखक होइन । मैले अर्थराजनीतिमा नै बढि कलम चलाएको छु । अर्थराजनीतिमा कलम चलाउने कुरा वास्तविकतामा आधारित भएर मात्रै सम्भव हुन्छ ।  ननफिक्सन भएपछि त्यस्तो ठूलो लेखक मानिने पनि होइन । त्यसकारणले म सामान्य लेखक हुँ । मेरो उमेरका मान्छेहरुले धेरै वटा किताबहरु लेखेका छन् । कतिले धेरै वटा एकेडेमिक कामहरु गरेका छन् । म त्यस्तो हुन सकेको छैन । त्यसकारण म सामान्य मात्रै हुँ । मैले अहिलेसम्म जति लेखें त्यसमा त्यति धेरै सन्तुष्टि त छैन तर असन्तुष्टि पनि छैन । मैले लेखेका धेरै कुराहरु फ्याक्ट र फिगरहरुमा भएकाले  त्यसको विवेचना वा विश्लेषणमा कति कुराहरु पुगेको हुनाले म असन्तुष्ट हुनुपर्ने पनि ठान्दिनँ । अमर न्यौपाने
रिक्सावालाले मलाई लेख्न सिकाए । ढुङ्गालाई आकार दिने पत्थरकट्टाहरुसँग मैले जीवन सिकें ।
मेरो लेखनको सुरुआत अक्षरबाट भएको होइन । मेरो सिर्जनकर्म अक्षरभन्दा पहिले चित्रबाट सुरु भएको हो । चितवनको रांगिला भन्ने ठाउँमा मेरो घर । घरअगाडि कुलो थियो । साँढे गोरुहरु हुन्थे । नजिकै बालुवा फिँजारिएको हुन्थ्यो । चोर औंलाले साँढेको चित्र बनाएको थिएँ । बा स्कुल पढाउने गर्नुहुन्थ्यो । मेरी दिदी स्कुल जान्थी । म सानो थिएँ । दिदीले लेखेको, पढेको हेर्थें । पछि स्कुल जान थालें । स्कुलमा कविता, बालकविता निकै मन पर्ने । ५ कक्षा पुग्दा मैले कविता लेखेर एउटा कापी नै भरेको थिएँ । मेरी आमाले माधव घिमिरेको श्लोक कन्ठस्थ सुनाउनुहुन्थ्यो । त्यतिबेला निकै रुन्थें । \"amar_neupane_khabardabali\"बालाई सबैले मास्टरसाप भन्थे । गाउँले सबैलाई बाले गुरुप्रसाद मैनालीको ‘नासो’ कथा पढेर सुनाउनुहुन्थ्यो । म पनि निमपत्ताको बुटोमा बसेर सुन्थें । लयमा सुनाउनुहुन्थ्यो ।  त्यसले मलाई ठूलो प्रभाव पार्यो । ९ कक्षामा पुगेपछि कथा लेख्न थालें । बा डायमण्ड समशेर राणाको ‘सेतो बाघ’ को फ्यान हुनुहुन्थ्यो । पढेर राख्नुभएको ठाउँमा यसो हेर्न गयो, बाले कराइहाल्ने । ‘तैंले पढ्ने बेला भएको छैन’ भन्नुहुन्थ्यो । मैले हेर्न थालेको थाहा पाएपछि बाले दराजमा चाबी लगाएर राख्न थाल्नुभयो । कहिलेकहीं, सिरानीमुनि राख्नुहुन्थ्यो । बा नभएको मौकामा सिरानीमुनिबाट झिक्दै पढ्दै गरें । त्यसो गर्दै मैले सेतो बाघ र वसन्ती पनि पढेर सकें । एसएलसी दिएपछि पास नहुँदै दुई वटा उपन्यास लेखेको थिएँ । ‘परदेशी जा’ लेखें मैले पढेको सेतो बाघ र वसन्तीमा आधारित भएर । अलि पछि विश्वेश्वरको फ्यान भएँ । उनकै शैली कपी गर्न थालें । गोविन्दबहादुर गोठालेहरुको शैली पनि कपी गर्न थालें । क्याम्पस पढ्न थालेपछि अंग्रेजी लेखक, एन्टन चेकभ, रविन्द्रनाथ टैगोरका लेखनशैली मन पराउन थालें । टैगोरको ‘काबुलीवाला’ निकै मन पर्यो । मैले त्यही शैली कपी गर्न थालें । मास्टर्स पढेपछि  ३ वर्ष केही लेखिनँ । लेखाइमा आफ्नोपन खोजी गर्ने प्रयासमा लागें । मेरो अनुहार र औंठाछाप पनि फरक हुनुपर्छ भने मैले मेरो लेखाइमा पनि मेरै अनुहार खोज्नुपर्छ भन्ने लाग्यो । प्रकृतिले मलाई फरक बनाएको छ भने मैले प्रकृतिलाई न्याय गर्नुपर्छ भन्ने सोच आयो । ‘जीटीजेड’ नामक संस्थाले ५ जना लेखक छान्यो । कृष्ण धरावासीलगायतलाई छानेको थियो । म पनि छानिएँ । नेपालगञ्जमा दुई महिना रिक्सावालसँगै बसें, उनीहरुकै कथा लेखें । मधेशी–जनजाती, हेपिएका मान्छेहरुसँगै बसें, उनीहरुकै कथा लेखें । तिनै कथाहरुको सँगालो हो– ‘पानीको घाम’, जुन ०६६ सालमा प्रकाशित भयो । ‘पानीको घाम’ मेरो परीक्षा थियो– मेरो अनुहार त्यहाँ देखिनुपथ्र्यो । त्यसपछि मलाई भेट्नेहरु र अगुवाहरुले नयाँ तरिका, भाषाशैली फरक भएको बताएपछि मलाई मेरो अनुहार बनेछ जस्तो लाग्यो । कतै मलाई फुर्क्याउनका लागि मात्रै पो त्यसो भनेका हुन् कि भनेर आत्ममूल्याङ्कन गरें । तर, मेरो आत्मविश्वास बढ्दै गयो । आफ्नै शैलीमा कथा लेख्न थालें । एक महिना देवघाट बसें । पहेंलो लुगा लगाएर आमाहरुसँग स्नान गर्न गएँ । एक हिसाबले भन्दा बालबिधवा नै भएँ । म त्यहीं हुँदा दुई जना साथीहरु भेट्न आए । मलाई देखेपछि उनीहरुले भनेका थिए– ‘तिमी त जोगी हुन्छौ कि क्या हो !’ तर, म एउटा बन्द विश्वविद्यालय होइन, खुला विश्वविद्यालयमा थिएँ । त्यसैले मैले ‘सेतो धरती’ लेखें । जसले अक्षर जान्दैनन्, उनैबाट जीवन सिकें । मेरा गुरुहरु बालविधवाहरु हुन् । रिक्सावालाले मलाई लेख्न सिकाए । ढुङ्गालाई आकार दिने पत्थरकट्टाहरुसँग मैले जीवन सिकें । प्रस्तुति:सुदीप विश्वकर्मा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies